SSI SSI
SSI SSI

राउटे समुदायका महामुखिया महिन बहादुर शाहीको  ६९ वर्षको उमेरमा  निधन

काठमाण्डौ ।  राउटे समुदायका महामुखिया महिन बहादुर शाहीको  ६९ वर्षको उमेरमा  निधन भएको छ । विगत केही समयदेखि दैलेखको भैरवी गाउँपालिका–३ रतुवा खोलामा बस्दै आएको राउटे समुदायमा उनको निधन भएको हो ।
 दैलेखको भैरवी गाउँपालिकाको कोइराला गाउँबाट रतुवा खोलामा बसाई सरेको पाँचौँ दिनमा हिजो आइतबार महामुखिया निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ  ठाउँको प्रवन्ध गरी राउटे समुदायका सबैजसो परिवार बस्ती सार्ने तयारीमा रहेका छन्  । राउटे समुदायमा कसैको मृत्यु भएमा उक्त ठाउँ अशुभ भएको मानि त्यहाँबाट तत्कालै बस्ती सार्ने गर्दछन । 
 स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ देखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ मा ऐनबहादुर शाही डुंगेश्वरमा भीरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारी लिइरहेका छन् ।
महामुखिया महिन बहादुर शाहीका कान्छो छोरा नारायण शाही अघिल्लो वर्ष सुतेको बेला ओछ्यानमा लागेको आगोले पोलिएर एक महिना लामो उपचार अवधिमा ज्यान गएको थियो । १८ जना सन्तान जन्मेका मध्ये सबैको मृत्यू भएको पीरले महामुखिया महिनबहादुर चिन्तित थिए । उनी  तीन महिनादेखि बिरामी परेका थिए ।
दैलेखको गुराँस गाउँपालिका ८ नं. वडाका बासिन्दाका रुपमा ५ वर्ष अघि सबै राउटे समुदायका मानिसहरूलाई परिचयपत्र बितरण गरिएपछि दैलेखको गुराँस गाउँपालिकाको स्थानीयवासीको रुपमा रहेको भए पनि २–३ महिनामा बसाई सर्ने राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यानसम्म २–३ घण्टाको पैदल दूरीमा बस्ती गर्ने गर्दछन् ।
बस्ती सार्ने, चाडपर्व मान्ने, सिकार गर्ने, बस्ती छोडेर कहिँकतै जान पर्दा मुखियाको अनुमति चाहिन्छ । खेतीपाती गर्ने, बस्ती बस्ने, पैंसा चलाउन, पढ्ने लेख्ने काम गर्नुहुँदैन भन्ने पुरातन मान्यता भएका राउटे समुदायले चोट पटक लाग्दा औषधि गर्ने गरेका, किनेर खान सजिलोको लागि भनेर सामाजिक सुरक्षा भत्ता लिन स्वीकार गरे पनि बस्ती बस्न र खेतीपाती गर्न इन्कार गरेका छन् ।
राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । १४२ जनाको जनसंख्यामा रहेको राउटे समुदाय यतिवेला महामुखियाको निधनपछि अहिले राउटे समुदायको जनसंख्या १४१ जनामा झरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्