SSI SSI
SSI SSI

 राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आफ्नो युरोप भ्रमण स्थगित


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका छन् । 
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा जारी प्रेस नोटमा जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ती अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको उल्लेख गरिएको छ ।
नेपाल सरकारको पेरिस – सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियस भित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपति Emmanuel Macron को निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म  पेरिसमा हुने पिस फोरम कार्यक्रम अन्र्तगतको One Polar Planet Summit तथा  Paris Pact for People and Planet मा राष्ट्रपति पौडेलले भाग लिन जाने कार्यक्रम तय भएको थियो । बिग्रँदो पर्यावरणलाई कसरी अनुकुल बनाउने भन्ने उद्येश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो । 


त्यस्तै, युरोपेली युनियनका महत्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महत्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो । 
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिए ।

 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्