SSI SSI
SSI SSI

 कार्तिक १९ गते लमजुङ राज्यको तखत हरण भएको दिन

 
 
वि. सं. १८३९ मा काठमाडौँबाट राजेन्द्रलक्ष्मी ( भाउजू) र बहादुर शाह (देवर) भएर राज्य विस्तारको सिलसिलामा पश्चिमतर्फ लागेका थिए ।  पृथ्वीनारायण शाहका पालामा जित्न नसकेको लमजुङ राज्यमाथि ती दुई देवर भाउजूको टोलीले लमजुङ दरवार  घेर्दै  ल्यायो । साँझ पनि पर्यो । वीरमर्दन शाह त्यति बेला लमजुङका राजा थिए । 
अब यिनलाई हटाउन सकिँदैन भन्ने विचार भएर एउटा अक्कल खटाए । भोलिपल्ट बिहान उज्यालो नहुँदै दरवार छोडेर हिड्ने ( भग्ने) सोच बनाए । अनि आफ्ना आसपासमा रहेर दरवारमा सहयोग पुर्याउने केही व्यक्तिहरुलाई साथ लिए । 
कसैले आसागुर्जा, कसैले बिर्केटोपी, कसैले राजसीपोशाक, कसैले नगरा, कसैले कालिका पूजाका समग्री पूजाका थाली,  शङ्ख घण्ट आदि, कसैले दरवारिया लेख्यसामग्री ( अभिलेख), कसैले सुकुन्दा, कसैले कालिकाको  निसान  , कसैले शङ्खघण्ट इत्यादि सामग्री लिएर कसैले थाहा नपाउने गरी पश्चिमतिर लागे ।  जाँदाजाँदै हालको बाङ्ग्रे भन्ने ठाउँको टाकुरामा गएर लुके । त्यहाँ जङ्गलको नजिक बाक्लो गुरुङबस्ती थियो ।  त्यस ठाउँलाई क्याउँसीबास भन्दथे । गुरुङ भाषामा क्याउँसी भनेको चिलाउने हो । चिलाउने प्रशस्त भएको ठाउँको बास भएर नै त्यस ठाउँलाई क्याउँसीबास भनिएको कुरा स्थलगत अध्ययनबाट जानकारी मिल्दछ । पछि शब्द अपभ्रंश भएर घ्याउँसीबास भन्न थालिएको कुरा पनि स्थानीय बासिन्दाहरुका मुखबाट थाहा लाग्दछ । 
लमजुङ राज्य बहादुर शाह र राजेन्द्र लक्ष्मीको टोलीले हातलाइ गरे । बाङ्ग्रे तिर लाग्ने टोली राज्यको स्थिति साम्य भएपछि केही तल सम्म राम्रो ठाउँमा सरेर बसे । राजखलक छापिएर बसेको ठाउँ भएर त्यस ठाउँलाई " खलकछाप " भन्न थालियो । अहिले त्यो ठाउँ खलकछापको नाउँले चिनिन्छ । आफ्नै वंशको तखत हरण गरिएको र वीरमर्दनको टोली पनि शरणमा पर्नाका कारण उनीहरुलाई बाङ्ग्रे, शिशाघाट, पोखराको सिसुवा जस्ता धेरै ठाउँमा राज्यको तर्फबाट जग्गा  बिर्ता दिएका लेख्य सामग्री यो पङ्तिकारले पनि पढेको छ । 
तखत भनेको राज्य हो । तखतहरण भन्नाले राज्यहरण भएको भन्ने बुझिन्छ ।   वि. सं. १८३९ साल कार्तिक १९ गतेको दिन ( स्मरण रहोस् त्यस वर्ष आजकै दिन ) लमजुङेराजा वीरमर्दन शाहको तखतहरण भएको थियो । लमजुङ राज्यका महत्वपूर्ण कागजातहरु ( भोजपत्रमा लेखिएका कागगपत्रहरु) बाङ्ग्रेमा नै लगेका र पछि थप भएका बेलीविस्तारका दस्तावेज ( कुनै नेपालीकागजमा र कुनै भोजपत्रा लेखिएका) को ठेलीलाई तखतहरण पत्र भनी नामकरण गरेका थिए । उक्त ठेली यो पङ्तिकारले पनि पढेकै हो । तत्कालीन स्थानीय बाबुसाहेबहरु भीमनारायण शाह, रिफैले भनेर चिनिने दिलबहादुर शाह र तत्कालीन राजराजेश्वरी गाउँपञ्चायतका सचिव भुपाल शाहका संपर्कले त्यहाँका सबै सामग्रीको अध्ययन गर्ने मौका मिलेको थियो । त्यो समय २०३२ सालको थियो ।  त्यहाँ सञ्चालित विद्द्यालयको नाउँ नै खलकछाप प्रा. वि. थियो । पछि त्यसलाई बालज्योति प्रा. वि. भनी नाउँ बदलिएको हो । स्तरोन्नति भएर अहिले सो शिक्षण संस्था बालज्योति मा. वि. का रुपमा सञ्चालित  हुँदै आएको छ । 
तखतरण ठेली लमजुङ राज्यको महत्वपूर्ण अभिलेख हो । लमजुङ दरवारमा पूजा गर्ने इष्टदेवी लाई नाउँ बदलेर " राजराजेश्वरी" भनिएको हो । त्यहाँ वि. सं. १८४१ मा निर्माण गरिएको ठूलो देवस्थल छ । त्यसलाई दरवार भन्दछन् । त्यो भवन पुरानो भएका कारण २०७५/०७६ तिर पुरातत्व विभागले पुननिर्माण गरी निकै राम्रो बनाइदिएको छ । बडादसैँ र चैतेदसैँमा नगरा बजाएर धुमधामसित देवीको पूजा गर्ने चलन छ । स्थानीय शाह ( ठकुरी) कर्ता हुन्छन् भने पहिले बलिथुमका ढकाल थिए हाल स्थानीय घिमिरे त्यहाँका गुरुपुरोहित छन् । दरवारको बाहिरपट्टि भित्तामा एउटा नगरा झुन्ड्याइराखेको अवस्थामा देख्न सकिन्छ । त्यो नगरा लमजुङ दरबारबाट उही समयमा ल्याइएको हो भनी स्थानीय जानकारहरु बताउँछन् । दसैँमा उक्त नगरा बजाइन्छ । उक्त ठाउँ हालको मध्यनेपाल न. पा. वडा नं. ९ मा पर्दछ। पुरातात्विक वस्तुको संरक्षण भएको छ । यस मानेमा पुरातत्व विभाग पनि धन्यवादको पात्र बनेको छ । १८३९ कै वर्ष तनहुँ राज्यका राजा " हरदत्त सेन" को पनि तखतहरण भएको थियो । राजेन्द्रलक्ष्मी र बहादुर शाहले नै जितेका थिए । 
पृथ्वीनारायण शाहले कसैगरेर पनि जित्न नसकेको लमजुङ राज्य ( लमजुङ भन्याको गरुड हो, गोर्खा भन्याको सर्प हो, नेपाल भन्याको भ्यागुतो हो । पहिले गरुडको आँखा छ्लेर मात्र  भ्यागुतो निल्नुपर्दछ :  पृथ्वीनारायण शाह) राजेन्द्रलक्ष्मी र बहादुर शाहले  जिते र विशाल नेपालमा समाहित गरे । तसर्थ लमजुङ राज्यको तखतहरण  भएको दिन आज हो भनी मानस पटलमा आयो  ।
(बिन्दुकान्त घिमिरेको फेसबुक वालबाट )

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्