SSI SSI
SSI SSI

पुतली बाजेको निधन 


पोखरा । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा उल्लेख्य योगदान दिएका  ‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको नोभेम्बर ४  तारिख शनिबार  निधन भएको छ ।  पोखराको  हरियोखर्क अस्पतालमा उपचारका क्रममा  ८७ बर्षिय स्मिथको निधन भएको हो । 


नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्ने कार्यमा आधा दशक बिताएका कोलिन स्मिथले बिगत साढे २ वर्षदेखि  पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए । 

 युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर वि.सं. २०२२ मा बेलायतबाट उनी नेपालमा आएका थिए ।  नेपाल बसाईमा उनले  डोरोथी मिरोकोसँग सहकार्य गरेर पुतली संग्रहालयका लागि २५ हजारभन्दा बढी पुतली  संकलन गरेका थिए । पुतली संकलन गर्ने सिलसिलामा उनले नेपालका ४० भन्दा बढी जिल्लाहरू घुमेर पुतलीको अध्ययन र अनुसन्धानमा आफुलाई क्रियाशील बनाए ।

 उनको योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो । मानार्थ नेपाली नागरिकता प्राप्त गर्ने  उनी तेस्रो व्यक्ति हुन् । त्यसअघि अन्वेषक एवं भूगोलविद् टोनी हेगन र पर्वतारोही एडमन्ड हिलारीले  मानार्थ नेपाली नागरिकता प्राप्त गरेका थिए ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको अन्नपूर्ण पुतली संग्रहालयका प्रमुख सुरेन्द्र परियारले स्मिथको अन्त्यष्टि सोमबार गरिने बताए ।

प्रज्ञा गौतम 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्