सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कमल अर्याल
सधैं झै बिस्तारामा पल्टेर टिभी हेर्दै थिएँ । खाना खाएपछि केहीबेर बिस्तारामा पल्टेर टिभी हेर्नुको मजै बेग्लै । एकाएक टिभी हल्लिन थाल्यो । बिस्तारा पनि हल्लिएपछि म उठ्न खोजें । तर सकिन । माथिबाट कुन्नि के बजारियो । म भूइँमा थिचिए । त्यसपछि एकैपटक आँखा खोल्दा पो झसंग भएँ ।
एकैछिनमा त म कता हो कता पुगेछु । घरका पनि कोही छैनन् । चिनेका पनि छैनन् । दुईजना बलिया मानिस मेरो अगाडि थिए । अलिकति डर लाग्यो । परिवारका अन्य सदस्य कता थिए पत्तै थिएन । मैले उनीहरूलाई भने कहाँ ल्याएको यसरी ? दुईमध्ये एकले भन्यो तँ त मरिसकिस् । हामी यमदूत । अघि पृथ्वीलोकमा भूकम्प गएका बेला तलाईं माथिको छतले थिचेर तलाईं हामीले नै मारेको हो ।
मलाईं बेचैन भो । मरेजस्तै नलाग्ने । अलिअलि डर लाग्यो तर फेरि सोचे हा किन डराउनु आखिर मार्ने होइनन् एक पटक मरेपछि । जेसुकै होस् । अनि हिम्मत गरेर सोधें अनि मैले त्यसरी ऋणमाथि किनेको घरका छानो भत्काएर मलाई नै मार्नुपर्ने किन नि ? त्यत्रा विधि भ्रष्टाचारीहरू थिए । उनीहरूलाई मारेको भए पनि त हुन्थ्यो नि ।
मेरो कुरा सुनेर एउटा यमदूत अलि सिरियस देखियो र भन्यो नेतालाई ल्याएर के गर्नु ? यहाँ आजकल यम महाराजलाई पनि गाह्रो छ । अस्ति एकजना नेता ल्याएको उसको अदालतसँग सिधै कनेक्सन रहेछ । तुरुन्त अदालतले फिर्ता गर्ने अन्तरिम आदेश दियो । ल्याउँदै फिर्ता गर्दै गर्दा हाम्रो पनि त इज्जत रहेन नि ।
‘ओहो नेपालीले यमलोकसम्म पनि सेटिङ मिलाउन सक्ने है,’ म जस्तै अर्को एकजना नव मृतकले भन्यो । मैले पुलुक्क उतिर हेरेर भने जस्तै सेटिङ भए पनि अन्तिम डेटिङ यही हो क्यारे ।’ ऊ हाँस्न खोज्यो तर दाँत किटिएर हाँस्न नसक्ने भएको रहेछ । सकेन हाँस्न ।
यत्तिकैमा यमराज राँगोमाथि चढेर हामी भएको ठाउँमा आइपुगे । उनी थाकेर लखतरान देखिन्थे । ‘यो राँगो हिंड्नै छाड्यो । बडो अल्छी छ । नयाँ राँगो ल्याउँ भन्दा पनि अनेक जालझेल गरेर पद छोड्नै मान्दैन,’ यमराज बढो निराश देखिए । मैले भने ‘महाराज एउटा बिन्ती बिसाउँ हजुर’ । ‘भन् मनुष्य,’ उनी कड्किए ।
मत्र्यलोकमा हिंजोसम्म लुखुरलुखर खाली खुट्टा पैदल हिंड्नेहरू अहिले कस्ता कस्ता गाडी लिएर हिंड्छन् । हजुर यस्तो पावरमा भएर पनि बूढो राँगो किन नछोडेको ? मेरो प्रश्नले यमराज झनै दुःखी भए । उनले नरम हुँदै भने, ‘ब्रह्माजीले मेरो पोष्टिङ नै ठीक ठाउँमा गरिदिनुभएन । कयौंपटक सरुवा मागें । केही सीप लाग्दैन भन्नुहुन्छ । मैले त बरु यो सिंहासन छोड्छु, आयल निगम अथवा अख्तियार जता भए पनि बरु मत्र्यलोकमा रमाना दिनुु् भनेको हो ।’
हुन पनि हजारौं वर्षसम्म एउटै पोष्टमा एकै प्रकारको काम गर्दा यमराज निकै हैरान रहेछन् । सरुवा मिलाउन पाए अख्तियार वा आयल निगममा जान्छु भन्दै थिए । साक्षात यमराजसँग नडराईकन म बोलको देखेर यमदूत पनि बढो नरम देखिए । मलाईं भने ‘जाउँ अब ।’ यहाँ त आइसकें त अब कहाँ जाने मैले सोध्न नपाउँदै एकजनाले भन्यो ‘हिसाबकिताब हेर्नु प¥यो नि ।’
मलाई पनि झनक्क रिस उठ्यो र मैले भने, ‘हैन हिसाबकिताब हेरेर पो ल्याउने हो त । यहाँ आएर हिसाब हेर्ने । मत्यलोकमा भए पो पहिला बर्खास्ती गर्ने पछि बहाली गर्ने हुन्छ नि ।’ त्यसपछि यमदूतले भन्यो किन आत्तिएको यमलोकमा आउनका लागि हिसाब मिलाएकै हो । अब तलाईं स्वर्गतिर पठाउने कि नर्कमा भनेर पो हिसाब गर्नु परको हो त । मैले त त्यसको यादै गरेको थिइन । लौन कतै तातो कराईमा हालेर चोपल्ने हुन् कि भन्ने डर लाग्न थाल्यो । म लुरुक्क उनीहरूका पछि लागे । अन्य १०÷१२ जना पनि लाइनमै थिए । भर्खर त्रिशूलीमा परेका अरे ।
मैले एउटा जुक्ति निकाँले । सिधै यमराजसँग सेटिङ मिलाउने । मत्र्यलोकमा छँदा मसँग एउटा नयाँ बाइक थियो । बरु यमराजलाई त्यही दिने । नर्कमा जानबाट जसरी हुन्छ रोक्ने । मैले यमराजका दूतसँग भने एकपटक चित्रगुप्तसँग हिसाब गर्नुअघि यमराजसँग भेट्नु प¥यो । बल्लबल्ल सहमति भो । यमराजलाई भेटेर मैले राँगोको सट्टा नयाँ बाइक दिने कुरा गरे । यमराजले सुरुमा त तलाईं सिधैं नकै पठाउँछु मनुष्य मलाई घुस खुवाउने प्रयास गरिस् भन्दै थिए । तर पछि मैले यो बाइकमा चढेर नगरकोटतिर डेडिङमा जान पनि पाइन्छ । पछाडि राम्रीराम्री सुन्दरी राखेर घुमाउन पाइन्छ भने पनि बूढा कन्भिन्स भए र भने, ‘तर अरु कसैलाई भन्दैनस् नि बालक ।’ मैले हस् भने । बूढा खुसी हुँदै मेरो पल्सर लिएर हिंडेका चाबाहिलको हिलोमा लडेर मरेछन् । उनीसँग फेरि यमलोकमा नै भेट भो । यतिबेलासम्म मैले चित्रगुप्तसहित अन्यसँग सेटिङ मिलाएर उनको पद आफैं लिइसकेको थिए ।
उनलाई देखेपछि मैले दूतहरूलाई आदेश दिँदै भने, ‘केटा हो चित्रगुप्तकहाँ लगेर यो बूढाको पनि हिसाबकिताब हेर ।’
(कमल अर्यालको फेसबुक वालबाट साभार )