SSI SSI
SSI SSI

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने 



काठमाडौं  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही अक्टोबर २९ देखि १ नोभेम्बर  ( कात्तिक १२ देखि १५ गते ) सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका गुटेरेसले  राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । 
 उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग छलफल गर्नेछन् । आफ्नो नेपाल भ्रमणका बेला उनले  भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय नगर पोखराको भ्रमण गर्ने बताइएको छ ।

जनवरी २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव पद सम्हालेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले कार्तिक १४ गते सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रो इक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ ।

 


 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्