SSI SSI
SSI SSI

सिड्नीमा विजयादशमीको  टिका साइत कात्तिक ७ गते बिहान ११ बजेर १५ मिनेटमा

 

सिड्नी । विजयादशमीमा नवरात्रका नौ दिन नवदुर्गाको पूजा आराधना गरी मुख्य दिन विजयादशमीमा टीका ग्रहण गरिने यो पर्वमा दुर्गा माता र रामलाई शक्ति र न्यायका प्रतीकका रूपमा लिइन्छ नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ ।  विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७  गते (अक्टोबर २४ तारिख मंगलबार ) विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गर्ने गरिन्छ । 

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको नेपाली हिन्दु समाज अस्ट्रेलियाले  जनाएको छ । टिका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर १५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादसैँ मनाइने गरिएको छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ । 
 विभिन्न जाति समुदायमा विजयादशमीका दिन आआफ्ना परम्परा अनुसार मान्यजनका हातबाट चामलको राता र सेता अक्षता लगाई शुभ आशीर्वाद लिने यो पर्व समस्त आसुरी प्रवृत्तिमाथि विजयको शुभकामना साटासाट गर्ने राष्ट्रिय पर्व हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०४:४९
प्रतिक्रिया दिनुहोस्