SSI SSI
SSI SSI

चिप्रा पुछेपछिको ‘चम्चा चेतना’


शुभप्रभात
कुनैबेला यस्तो स्वरुपमा रहँदा ममा ‘म निकै ज्ञानी हुँ’ भन्ने घोर भ्रम थियो, अब यस्तो भ्रम हटेको छ । दारी पालेर, माला पहिरिएर कोही ज्ञानी हुँदैन । आध्यात्मिकता आभ्यन्तरीक आयाम भएकाले अब बाह्य आवरण प्रदर्शनको कुनै अर्थ छैन । 
‘आध्यात्मिक बोध’ र ‘आध्यात्मिक जानकारी’विचको फरक छुटयाउन नपाउँदा धरै मानिस एउटा भ्रममा बाँचीरहेका हुन्छन् कि उनीहरु ठूलै ‘ज्ञानी’ हुन् । वास्तवमा कुनै पनि विषयको ‘बोध’ र ‘जानकारी’ फरक हो । 
मैले बारम्बार ‘चम्चा चेतना’को चर्चा गर्ने गरेको छु । चम्चाले मःम, चाउमीन, खीर, हलुवा, मासु चिउरा, सुपलगायत जे पनि चलाउँछ । तैपनि चम्चा स्वयंलाई यी परिकारको स्वाद थाहा हुँदैन । ममा जुन चम्चा चेतना छ, म यसैबाट मुक्त हुन चाहन्छु, सकिरहेको छैन । 
हो, सारा शास्त्र, पुराण आदि पढेर तत्वमिमांशा गरे पनि ‘त्यो’ जुन छ, त्यसबारे बोधकै तहमा पुग्नसक्नु ठूलो कुरा हो । भगवान श्रीकृष्णले प्रत्यक्ष रुपमा अर्जुनलाई भागवत गीता सुनाउँदा पनि अर्जुनले बुझ्न नसकेपछि ‘सब कुरा छाड, मेरो शरणमा आउ’ भन्नुपरेको थियो । कृष्णका मुखारबिन्दुबाट लाइभ सुन्ने अर्जुनलाई समेत बुझ्न कठिन भएको गीताको ज्ञान अहिले मैले जसरी बुझीरहेका छु, मेरो यो बुझाई ‘चम्चा चेतना’कै तहमा छ । 
के त भन्दाखेरी, आखिरमा होन्त । गफ लडाउन त मजाले सकिन्छ । ‘ध्यान गरौं, समाधीमा जाउँ, कैवल्य प्राप्त गरौं, निर्वाणतर्फ लम्कौं, मोक्ष प्राप्त गर्नुपर्छ’ भनेर भन्नेहरु पनि छन् । हल्का सतसँग र आध्यात्मिक सर्कलमा छिर्न पाएको छैन, केही बुझेजस्तो हुन पाएको छैन, आफुलाई भयंकर ‘ज्ञानी’ ठान्दै अर्ती उपदेश दिन हतारिने ‘चम्चे ज्ञानी’हरुको पनि कम छैन यहाँ ।  
ति चाहे परमहंश दाबी गर्ने बाबा हुन्, चाहे आफ्नो नाम अगाडी बोधीसत्व, स्वामी, चिन्मयानन्द, योगी आदि अनेक उपाधी जोडनेहरु नै किन नहुन्, उनीहरुले दिने प्रवचन पनि ‘चम्चा चेतना’कै तहभन्दा माथि उठेको छैनजस्तो लाग्छ । 
हो, जसले आफुलाई चम्चा चेतना’भन्दा माथि उठाएको होला, उ कुनै कुनामा मौन साधनामा लिप्त होला, बोधको बिराट आनन्द रसमा मस्त होला । जबसम्म ज्ञानको पक्ष केवल जानकारीमा सिमित रहन्छ, तबसम्म मानिस बकबक गरिरहन्छ, जब उ बोधको स्तरमा उक्लन्छ, तब उ मौन र स्वयंप्रकाशित अवस्थामा पुग्छ भन्ने मेरो ठम्याई छ । 
हुनसक्छ, व्यस्त बजारमा मकै पोलेर बेचिरहेको कुनै मानिस बुद्ध भइसक्यो, अब उ आफ्नै आनन्दमा मौन छ । गुमनाम कुनै मानिस खेतमा काम गरिरहेको छ, उ बुद्ध भइसक्यो । उसले ‘म बुद्ध भएँ’ भनेर ढँढोरा नपिटेको पनि त हुनसक्छ । अनि अहिले ढँढोरा पिटनेहरु सबै संबुद्ध या बोधीसत्व प्राप्त मनुवा नहुन पनि सक्छन् । 
मैले एकाबिहानै यति बकबक गरें, ठान्नुस, म पनि चम्चा चेतनामै छु । चम्चा चेतनामा नभएको भए त म पनि मौन हुन्थे होला । लाओत्सुले भन्नुभएकै छ, ‘त्यो मान्छे जो बोल्दछ, उ जान्दैन । त्यो मान्छे जो जान्दछ, उ बोल्दैन ।’
श्भ प्रभात साथीहरु । आज अष्टमीको हार्दिक मंगलमय शुभकामना । हामी चम्चा चेतनाबाट माथि उठन सकौं । बलि दिएको, रगत छताछुल्ल भएको आदि तस्वीर र भिडियो सकेसम्म सामाजिक संजालमा शेयर नगर्नुहोला । तपाइको उत्सव र उल्लासले शाकाहारी र बलि मन नपराउनेको मनमा ठेस नपुगोस् । दारु, मासु, चिल्लो चाप्लो अति नहोस् । हो, बरु नपाउनेले केरा पाउँदा बोक्रैसित खाँदा हुन्छ, यसले पेट साफ हुन्छ, तर गरिष्ठ भोजनबाट बचौं ।
( कुशुम बिन्दासको फेसबुक वालबाट साभार )

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्