SSI SSI
SSI SSI

कुल आचार्य र बद्री केसीले गैर आवासीय नेपाली नागरिकता  लिए 



काठमाडौँ : नेपाल  सरकारले गैर आवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ । अक्टोबर १७ तारिख मंगलबार प्रधानमन्त्री निवास  बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्य र केसीलाई नागरिकता प्रदान गरेका हुन् । 

 कार्यकारी अध्यक्ष केसी का नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते  र अध्यक्ष आचार्यका नाममा जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते  नागरिकता जारी गरेको थियो । 
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने ब्यबस्था छ ।  नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण र विदेशी मुलुकको नागरिकता भएको प्रमाण पेश गर्नुपर्ने छ ।


नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् । ऐनमा  नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएकाले नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ खानुपर्ने  कानुनी प्रावधान छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्