SSI SSI
SSI SSI

सिंगो इजरायल यतिबेला एक मोर्चामा एकैढिक्का भएको छ

 

इजरायली प्रधानमन्त्री (लिकुड पार्टीका अध्यक्ष) बेन्जामिन नेतान्याहु (१९४९– ) ले हाल सम्पूर्ण आन्तरिक राजनीतिक विवाद थन्क्याएर सर्बदलीय (१२० सदस्यीय व्यवस्थापिका– ‘क्नेसेट’ मा १२ पार्टीको उपस्थिति) राष्ट्रिय एकताको सरकार गठन गरेका छन् । १६ वर्ष प्रधानमन्त्री भईसकेका एकदमै अनुभवी नेता, जनताबाट प्रत्यक्ष निर्वाचित यी अर्थशास्त्रीको प्रधानमन्त्रित्वमा सिंगो इजरायल यतिबेला एक मोर्चामा एकैढिक्का भएको छ । राष्ट्रिय संकटको अवस्थालाई सामना गर्न कसरी तयार हुनुपर्छ भन्ने सवालमा प्रायः लफङ्गा चरित्रका हाम्रा सत्ताधारी महाशयहरूको खोपडीमा इजरायली राष्ट्रिय एकताको शिक्षा अलिकति मात्र पनि घुस्न सके मुलुकको मुहार सुन्दर हुनथाल्ने थियो कि !
प्यालेस्टिनीको उग्रवादी लडाकु समूह हमासले गत शनिबार (२० असोज,०८०) इजरायलको अत्याधुनिक र अद्भुत सुरक्षा र जासुसी प्रबन्धलाई छक्याउँदै आक्रमण गरेर विश्व राजनीतिलाई पनि नयाँ मोड दिने अवस्थामा पुर्याईदियो, जसबाट नेपाल पनि अछुतो नरहला । नेपालमा पेट्रोलियम पदार्थको भाउ बढ्ने, अरब मुलुकमा कार्यरत नेपाली स्वदेश फर्किने र विप्रेषण (रेमिटान्स) मा ह्रास आउनेजस्ता प्रत्यक्ष असर देखापर्न सक्नेछन् । रोजगारी र अध्ययनार्थ करिब ६ हजार नेपाली रहे–बसेको इजरायलमा हमासको आक्रमणमा परी दशजना नेपाली विद्यार्थीहरू नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आनन्द साह, आशीष चौधरी, दीपेशराज विष्ट, राजन फुलारा, राजेशकुमार स्वर्णकार, प्रवेश भण्डारी, पदम थापा र लोकेन्द्रसिंह धामीले ज्यान गुमाए। एकजना बिपिन जोशी सम्पर्कविहीन छन् । २५४ नेपालीलाई सरकारले उद्धार गरी स्वदेशमा ल्याईसक्यो।
इजरायललाई वि.स.२०१७ सालमा राष्ट्रको मान्यता दिने पहिलो एशियाली देश, बीपी कोइराला प्रधानमन्त्रित्वको नेपाल नै थियो । इतिहासको यही तथ्यले गर्दा इजरायलीहरू नेपाल र नेपालीप्रति उच्च सद्भाव राख्दछन् ।
इजरायली मान्यतामा राष्ट्रिय अस्तित्वको लडाईं वर्दीधारी सेनाले मात्र होइन, सिङ्गो राष्ट्रले लड्नुपर्छ । त्यसैले करिब एककरोड जनसंख्या र करिब ५५ हजार अ.डलर प्रतिव्यक्ति आय भएको ‘आविष्कारहरूको देश’ इजरायलले अनिवार्य सैनिक तालिम पाएका सम्पूर्ण नागरिकमध्ये प्रधानमन्त्री नेतान्याहुका छोरालगायत शारीरिक रुपले स्वस्थ र सक्षम सबै इजरायलीलाई यतिबेला लडाईंको लागि तम्तयार राखेको छ ।
पूर्वीजेरुसलेमको विवादास्पद अल–अक्सा मस्जिद परिसरमा प्यालेस्टिनीहरूका पैगम्बरलाई इजरायलीहरूले अपमानजनक ब्यवहार गरेको प्रतिकारमा यो हमला गरिएको बताउँछ प्यालेस्टिनी पक्ष। प्यालेस्टाइनउपर इजरायलले अत्याचार गरेकोबारे बहस वा सहमति हुनसक्छ । तर यसपालीको हमलामा गल्ती हमासकै देखिन्छ । यस्तो आत्मघाती हमलाले भविष्यमा उनीहरूको लड्ने र सामना गर्ने क्षमतामा दूरगामी असर पर्ने देखियो । उच्चकोटीका हात–हतियार, लडाकु बिमान, ट्याङ्क, तोपहरूजस्ता रक्षा सामग्री उत्पादनमा सक्षम र आत्मनिर्भर इजरायल, १४५ मुलुकमध्ये रक्षाशक्तिको सूचीमा १८औं शक्तिशाली देखिन्छ । यसको हवाई लगायत सम्पूर्ण रक्षा र जासुसी संयन्त्र एकदमै अत्याधुनिक मानिन्छ ।
प्यालेस्टाइनीको गाजामा इजरायलले भीषण हवाई बमवर्षा गरिरहेको छ । गाजाका सम्पूर्ण घरहरू या मटियामेट होलान्, नत्र कुनै पनि घर बस्नलायक हुने छैनन् । हवाई बमवर्षा यति भयानक छ कि भागेर जाने सुरक्षित ठाउँ पनि रहेन । बिजुली, पानी, औषधी, खाद्यान्न आपूर्ति सारा ठप्प छ । हवाई बम–वर्षापछि गाजाभित्र पसेर थप कारवाही गर्न तीनलाख स्थलसेना लगायत ट्याङ्क, बख्तरबन्द गाडी आदि गाजालाई घेरेर तैनात गरिएको छ ।
प्यालेस्टिनलाई अरब लीगका अन्य २१वटै मुलुक– अल्जेरिया, बहराईन, कोमोरोस, द. जिबुटी, इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबानन, लिबिया, मौरिटानिया, मोरक्को, ओमन, कतार, सउदी अरब, सोमालिया, सुडान, सिरिया, ट्युनिसिया, यु.ए.ई., र यमनले मान्यता, सहयोग, सहानुभूति आदि जेजे सकिन्छ दिईरहेका छन् ।
गाजा मैदान (स्ट्रिप) ४१ कि.मि. लामो र १० कि.मि.चौडा, २३ लाख जनसंख्याको घना बसोबास रहिआएको, इजरायल, इजिप्ट र भूमध्यसागर बीचको चर्चित भूभाग र कष्टकर जनजीवन भएको प्यालेस्टिनी क्षेत्र हो । पश्चिमी तट, गाजा र पूर्वी जेरुसलेमलाई मिलाएर ‘प्यालेस्टाइन’ भनिन्छ । ८० प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय सहायतामा निर्भर रहेको गाजाका १० लाख जनसंख्यालाई अन्न–पानीको सँधै सहायता चाहिने गर्छ ।

( चन्द्रमणी गौतमको फेसबुकबाट साभार )

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्