SSI SSI
SSI SSI

आज मलाई किन कोतर्न मन लाग्यो काँग्रेसको एक ठुलो पुस्तालाई ? 



नेपालको राजनीतिमा यौटा समवयी पुस्ता, प्रजातन्त्र स्थापनाको आन्दोलनमा जसको अतुल्य योगदान रहेको थियो छिन्नभिन्न भए। कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दौतरीहरूका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम तथा सीमान्त घृणाका कारणले सिद्धिए। असमयमा असान्दर्भिक भए। यदि आज तपाई यस पुस्ताको सामान्य फेहरिस्त हेर्नु भयो भने नेपाली काँग्रेसका सर्व शक्तिमान सभापति शेर बहादुर देउवा बिरलै आफ्ना कुनै पुराना साथीका माझ देखिनु हुन्छ। धेरै जीवित छन् तर तिनका प्रति देउवाको कुनै सदभाव वा प्रेमको चासो देखिन्नन्।
जेल तथा प्रवासमा रहेका कारण उमेरमा समवयी भएपनि शैलजा आचार्य, प्रदीप गिरी, चक्र बास्तोलाहरू जो धेरै जसो जेल तथा प्रवासमा रहे नेका भित्र उनिहरूको भुमिका  नेपाल भित्रै रही जेलनेल खेपेका भन्दा भिन्न रह्यो। आफ्नो राजनीतिक जीवनमा देश भित्र केही काल जेलमा रहेको, र भारत प्रवासमा पनि केही समय जेल परेका, अनि बढी समय निर्वासन मै रहेको सुशील कोईराला एक अपवाद भए। उनी बडो कठिन संक्रमणकालमा मुलुकको प्रधान मंत्री भए। यही हाराहारीका भीम बहादुर तामांग(दोलखा), ढुंडीराज शर्मा शास्त्री(अर्घाखाची) सांसद भए, मंत्री भए। शास्त्री जी एक गुटका नेतामा सिमित हुन पुगे। भूबिक्रम नेम्बांग(पाँचथर) बिलक्षण प्रतिभाका थिए। यद्यपि चुनावी राजनीति उनको अनुकूल रहेन। नेम्बांग अन्तिम बेलामा नेपाली काँग्रेस भित्र भुमिका बिहीन नै रहे। मेची अंचल भित्र उनको सिके प्रसाईसंग मेल भएन। केन्द्रमा उनी गिरिजा बाबुसंग जोडिएका थिए। किसुन जीले उनलाई बुझ्न सकेनन्। उहाँको देहावसान भैसकेको छ। 
विद्वता, संगठन र सकृयताका संगम रहेका सिके प्रसाई आफ्नो समयका सर्वाधिक चर्चित एवं प्रभावकारी नेता थिए। प्रवासका दौरान बीपीका पक्षधर भनी दरिएका कारण सूवर्ण शम्सेरबाट माया न पाएका उनि पछिल्लो समयमा यो थाहा पाउन सकेनन् कि उनी किसुन जीका बढी नजिक छन् कि उनको सहोदर दाजु रामबाबु प्रसाई ? रामबाबु प्रायसः किसुन जी को कार्य समितिमा कोषाध्यक्ष रहेका थिए। गिरिजा बाबुसंग सिकेको कुरा मिल्दथ्यो। तर, झापाको राजनीतिमा चक्र बास्तोलासंग उनको पटक्कै मेल रहेन। उनि नेताहरूको दलदलमा परेर बडो निराश अबस्थामा देहत्याग गरे। ताप्लेजुंगका सूर्यमान गुरूंग उ बेलाको बृहद् धनकुटा जिल्ला रहेको बेला नेपाली काँग्रेसको जिल्ला सभापति थिए, जो पछि शायद एक पटक सांसद भई राजनीतिक परिदृश्यबाट हराए। इलामका केबी गुरूंग र केबी भट्टराईको बडो नाम थियो। आफ्ना समयका प्रखर व्यक्तित्व थिए दुबै। केबी गुरूंग सांसद भए, एकाध पटक मंत्री भए। अहिले बृद्ध भए तर यस अघि देखि नै निस्कृय हुन पुगे। उनी सकृय रहुंजेल गिरिजा बाबुको नजिक रहे। तर, गुटगत रूपमा सुशील कोईरालालाई नेता मान्दथे। फलतः शेर बहादुर देउवाले उनलाई कहिल्यै सम्मान दिएन।
बि.स. २०२६-२७ मा नेपाल बिद्यार्थी संघको जन्म हुनु अघि प्रवासमा नेपाली छात्र संघको बडो भुमिका थियो। भारतका ठुला शहरहरू दिल्ली, कलकत्ता, बनारस, इलाहावाद, पटना तथा सीमावर्ती शहरहरू गोरखपुर, दरभंगा, सीतामढी, मधुवनी आदिमा छात्र संघ अत्यन्त सक्रिय थियो। यस मध्येका सीमावर्ती क्षेत्रमा सक्रिय रहेका महेश्वर प्रसाद सिंह, महन्थ ठाकुर काँग्रेसमा महत्वपूर्ण स्थान पाए। चर्चित नै रहे। सप्तरीका हिम्मत सिंह पनि थिए। सप्तरी देखि कपिलबस्तु सम्ममा यस्ता कयौं प्रतिभावान मानिसहरू थिए, जसले प्रवासमा निकै सकृयता रहेको थियो। यिनीहरूलाई नेपालमा नेबिसंघ बालाहरूले कहिल्यै उचित संज्ञानमा राखेनन्। 
नेपाल बिद्यार्थी संघको संस्थापकको रूपमा पनि तथा यसको जन्ममा सकृय तथा प्रेरक रहेकाहरू मध्ये मार्शल जुलुम शाक्य, कमल चित्रकार, पिएल सिंह, बीरनाथ कर्माचार्य, शंकर घिमिरे, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, राजेन्द्र खरेल, ध्यानगोबिन्द रंजितकार, बीरेन्द्र भक्त श्रेष्ठ  लगायतका को भुमिका बिशिष्ठ रहेको छ। यी सबैको इतिहासको अभिलेखमा लामो चर्चा छ। मार्शल जुलुम शाक्य बि.स. ०४७ को केपी भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मंत्री हुनु भएबाटै उनको भुमिकाको महत्व थाहा पाउन सकिन्छ। स्व. कमल चित्रकार, हरिबोल भट्टराई र पिएल सिंह बिभिन्न खण्डमा काठमाण्डौंका प्रधान पंच तथा मेयर भए। पिएल सिंह केही समय मंत्री पनि भए। गणेशमान जी संगको अटुट पारिवारिक सानिध्यताका कारणले पिएल काँग्रेस भित्र “भिल्लको देशमा मणिको महत्व” झैं रहे। गणेशमान जीको मृत्यू पछि पिएलले नेपाली काँग्रेस परित्याग गरे। कसैको आँखा रसाएन। 
दमन ढुंगाना अर्को प्रतिभा हुन्। कोईराला परिवारको ज्वाई पनि। सभामुख भए, पछि कयौं संसदीय निर्वाचनहरूमा पार्टीका तर्फबाट उम्मेदवार सम्म बनाईएन, पछिल्लो समयमा टिकट पाए, पराजित भए। दमन जी सभामुखको रूपमा जुन व्यवसायिक योग्यता देखाए, गिरिजा बाबुले सभामुखको तेस भुमिकालाई कहिल्यै न्याय गर्न सकेनन्। आजका जीवित काँग्रेसजनमा शायद सब भन्दा खारिएका मानिस दमन जी शेरबहादुर जीले बिरलै संझिने नाम होला। बीरनाथ कर्माचार्य(काठमांडू) र शंकर घिमिरे(काठमांडू) को असामयिक निधन भयो। आज धेरैलाई यि दुबैको नाम पनि याद छैन होला। शंकर धिमिरेकी श्रीमती……. र बीरनाथ की श्रीमती शिलुप्यारी कर्माचार्य पछि राष्ट्रिय सभा तिर कि संविधान सभामा ल्याईयो। माथी उल्लेखित नामहरू बडो योगदान दिएका प्रतिभावान नामहरू हुन्। तर, यस प्रतिभावान पुस्तालाई नेबिसंघका संस्थापक भनिने कालान्तरमा नेकाका नेतृत्व सम्हालेका शेर बहादुर-रामचन्द्र पौडेल जीहरूले पंछाए। एकाध अपवाद बाहेक कसैको उदीयमान संभावनालाई राष्ट्र र प्रजातन्त्रको हीतमा उपयोग हुन दिईएन्। 
नेपाल बिद्यार्थी संघको संस्थापकका साथै यसका पदाधिकारी समेत रहेकाहरू मध्ये रामचन्द्र पौडेल, बिपिन कोईराला, शेर बहादुर देउवा, स्व. मच्छेन्द्र पाठक(नुवाकोट), चिरंजीवि वाग्ले(गोरखा), स्व. शिव बहादुर खडका(रामेछाप), स्व. पुरूषोत्तम बस्नेत(सोलु), अर्जुन नरसिंह केसी, आनन्द ढुंगाना(धनुषा), रामशरण महत, स्व. अशोक कोईराला(मोरंग), देबेन्द्रलाल नेपाली(पर्सा), दुर्गा आचार्य(मोरंग, पछि घिमिरे), स्व. हरि न्यौपाने(मोरंग), राम सिटौला(झापा), दामोदर गौतम(काठमांडू), सीताराम निरौला(सोलु), पिताम्बर दाहाल, कृष्ण बहादुर राउत(मोरंग), अनारसिंह कार्की, तारानाथ राणा भाट, अर्जुन खडका(उदयपुर), हेरम्ब बहादुर थापा(उदयपुर) बशन्त गुरूंग(महोत्तरी), दुर्गा पोखरेल(धनकुटा), बीरेन्द्र भक्त श्रेष्ठ(काठमांडू), गोबिन्द राज जोशी(तनहुँ), शुक्रराज शर्मा(कास्की), शेषकान्त अधिकारी(चितौन) हरू बि.स. २०१७ पछि नेपाली राजनीतिमा आ-आफ्ना योगदानका कारणले चर्चामा रहेका छन्। 
मच्छेन्द्र पाठकको बहुदल न आउदै रहस्यमय निधन भयो। विपिन कोईराला र शिव बहादुर खडका पंचायती व्यवस्थाको अन्तिम समय तिर केही कालका लागि पंचायत प्रवेश गरे, पछि मातृ पार्टी नेपाली काँग्रेस मै फर्केर विपिन कोईराला थोरै समय मंत्री भए। चिरंजीवि वाग्ले नेका भित्रको गुटगत राजनीतिमा उपयोग गरिएका सबैभन्दा ठुलो नाम हो। भनिन्छ, संसदीय व्यवस्थालाई अफाप देखाउने राजा ज्ञानेन्द्रको खेलमा यिनीको राजनीतिक समाप्तिमा देउवा साक्षी बने। निरीह साक्षी भने होईन। अहिले कतै काली गण्डकीको किनार तिर बसेर शायद नेपाली काँग्रेसको इतिहास लेख्दै छन्। यिनले समातेका गुटको बहना पक्रेर शेर बहादुर आठौं दशौं पटक प्रधान मंत्री हुन पर्खी बसेका छन्। प्रकाश शरण महतलाई प्रवर्द्धन गरेर देउवाले आफ्नै समकक्षी तथा नेबिसंघका महामंत्री समेत भएका रामशरण महतलाई शायद अवकाशमा पुर्याएका छन्। अर्जुन नरसिंह केसी अत्यन्त लोकप्रिय नेता हुन्। उनी पंचायतमा लागेका थिए। तेस बखत समेत मंत्री तथा जिल्ला पंचायतका सभापति भए। बहुदल आएपछि यिनी गणेशमान जीको बडो नजिक भए। नुवाकोट कै डा. रामशरण चुनाव हारेपनि गिरिजा बाबुबाट योजना आयोगको उपाध्यक्ष बनाईए। भनिन्छ, गणेशमान जी र गिरिजा बाबुको पहिलो मतभिन्नताको जरो डा. महत्तको यही नियुक्ति हुन गयो। जबकि डा. महत्त केही समयपछि गिरिजा बाबुसंग नजिकिए। अर्जुन नरसिंह केसी पनि गणेशमान जीसंग रहेनन्। गिरिजा बाबुकै खेमामा आए। जबकि उही बेला देखि शेर बहादुर देउवा र रामचन्द्र पौडेलहरूले अर्जुनलाई कहिल्यै राम्रो मानेनन्। आज अर्जुन जी शेर बहादुरका अनेकन् गलत काम कुरोको खुला बिरोध गरिरहेको भेटिन्छ। यसै समयका टिका पोखरेल बडो कठिन समयमा नेबिसंघका महामंत्री थिए, पछि राजनीतिको मूलधारमा देखिएनन्। नवीन जंग प्रकाश शाह(धादिंग) थाईलैण्डका लागि राजदूतसम्म बनाईए। यिनको पारिवारिक गाथा उतुलनीय छ। टेक बहादुर चोख्याल कैलालीबाट प्रतिनिधी सभामा केही पटक निर्वाचित भए।मंत्री पनि बनाईए। यिनी सदैव देउवासंग रहे जबकि तारिणी दत्त चटौत(कंचनपुर) को बडो योगदान गरेको पारिवारिक पृष्ठभुमी पनि छ। उनि मंत्री पनि भए तर लाउडा एयर प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर छेउ किनारमा बस्नु पर्यो। सुदूर पश्चिमको काँग्रेसी राजनीतिमा देउवाले तारिणीलाई निमिट्यान्न् नै बनाएर छोडे। 
सिद्धराज ओझा सुदूर पश्चिमका एक हस्ती हुन्। उनी गिरिजा बाबुका पक्षमा रहेपनि तेताको शक्ति सन्तुलनका लागि देउवाले यिनलाई सहेरै बसे। यस भेगबाट  खेमराज भट्ट मायालुको नाम बिर्सन सकिन्न्। राष्ट्रिय राजनीति मै यो एक ठुलो नाम हो। बीचको समयमा यिनी नेपाली काँग्रेस परित्याग गरि रामराजा प्रसाद सिंहको जनवादी मेर्चामा सिंह पछिको नेता थिए। राजतन्त्रको बिरोधमा शसस्त्र अभियान चलाए। पंचायत कालमा सर्वस्व सहित मृत्यूदण्डको सजाय सुनाईएको थियो, पछि आममाफी पाएपछि पुनः नेपाली काँग्रेस मै फर्किए। सुदूर पश्चिममा मायालुको नाम देउवा भन्दा ठुलो थियो। तर, जब खेमराज नेपाली काँग्रेसमा फर्किए-देउवा निकै ठुलो भै सकेका थिए। फलतः चुनाव लडनका लागि यिनी डडेलधुराबाट तल झरेर बर्दीया आए। शेर बहादुरले यिनलाई जीवन पर्यन्त मन पराएनन्। हालै यिनको देहावसान भयो।गोपालमान श्रेष्ठ(स्यांगजा) हरू पटक पटक सांसद-मंत्री भए। गोपालमान देउवाका नजिक छन्। मोरंगका बद्री नारायण बस्नेत एक उद्भट क्रांतिकारी हुन्। सदैव कोईराला निवासको नजिक रहे। तर, कोईराला परिवारले यिनलाई हुत्याई दिए। यिनी देउवा क्याम्प तिर लागे, शायद देउवाले पनि यिनको सान्दर्भिकतालाई जोगाई दिएनन्। 
होमनाथ दाहाल(ओखलढुंगा) पनि एक स्तुत्य नाम हो। काँग्रेसमा लामो इतिहास भएको, राष्ट्रपुकार साप्ताहिकको सम्पादक। जुन राष्ट्रपुकारका कारणले नेबिसंघको एक पुस्ता, देउवाहरूको पुस्ताले पहिचान पाए-तेही देउवाको पुस्ताले होमनाथ दाहाललाई मुलधारको राजनीतिमा उठन न दिनका लागि सम्पादक को सम्पादक नै बनाई राख्न चाहे। यिनले सांसद र थोरै समय मंत्री भएपनि यथोचित्त स्थान एवं मूल्यांकन पाउन सकेनन्। ऋषिकेश गौतम(बारा) पनि थोरै थोरै समय मंत्री भए। हिम्मत सिंह(सप्तरी), मेघनाथ अर्याल(गुल्मी), गौरी राणा जोशी(काठमांडू) को नेपालको प्रजातान्त्रिक आन्दोलनमा बडो ठुलो योगदान रहेको छ। यस्ता कयौं दर्जन नामहरू छन्। लगभग सबैले ५/७ पृष्ठका इतिहासलाई पठनीय बनाउन सक्छन्। आज यिनीहरू नेपाली काँग्रेस, प्रजातन्त्र स्थापनाको आन्दोलनको भग्वनाशेषमा दबेर रहेका छन्। कोही भने जाज्वल्यमान भएका छन्। सर्वकालिक र सबै युगका लागि आफुलाई अविश्वमरणीय बनाई सकेका छन्। 
यहाँसम्म लेख्दा म स्वयंले बिर्सी सके कि म यो फेहरिस्त किन लेखे ? तैपनि यी पंक्तिहरू लेखे-सानो अभिलेखको रूपमा। 
धरमपुर, सप्तरी
घटस्थापन, २०८०
(जयप्रकास आनन्दको फेसबुक बाट साभार )

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्