SSI SSI
SSI SSI

इजरायल  आक्रमणमा परी  १० जना नेपाली विद्यार्थीको मृत्यु 

काठमाडौँ- इजरायलस्थित नेपाली राजदूताबासले प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले अक्टोबर ७ तारिख शनिबार बिहान इजरायलमा गरेको आक्रमणमा परी  १० जना नेपालीको मृत्यु  र तीन जना घाइते भएको पुष्टी गरेको छ । दुताबासद्वारा जारी बिज्ञप्तीका अनुसार  आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन् ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकारले ज्यान गुमाएका छन् । त्यसैगरी पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमणमा परि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन् । भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दूतावासले जनाएको छ ।
इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । 

एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यहि आक्रमणमा परि नेपाली विद्यार्थीहरुको ज्यान गएको हो 

ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएक थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित रहेको बताईएको छ । 

यसैबीच  इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको अनलाइन रजिष्ट्रेशन गर्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल सरकारसँग समन्वय गरेर स्वदेश फर्कने नेपालीहरूको विवरण संकलन गरी रजिष्ट्रेशन व्यवस्था गर्ने भएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई उद्धारका लागि नेपाल सरकारले सहजीकरण गरेर  शवलाई नेपाल लैजान नेपाल सरकारले  इजरायल सरकारसँग समन्वय गरिरहेको राजदुताबासले जनाएको छ । इजरायलमा रहेका नेपालीलाई संयमता अपनाउन तथा आवश्कय समन्वय र सहयोग गर्न दूतावासले सम्बद्ध सबैसंग अनुरोध गरेको छ ।

( स्रोत -समाचार एजेन्सीको सहयोगमा )

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०४:५३
प्रतिक्रिया दिनुहोस्