SSI SSI
SSI SSI

अष्ट्रेलियाका सभामुख मिल्टन डिक र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं  । नेपाल भ्रमणमा रहेका सभामुख अष्ट्रेलियाका सभामुख मिल्टन डिक र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच अक्टोबर ४ तारिख बुधबार सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा भेटवार्ता भएको छ । 
भेटमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए ।
उनले दुई देशबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै  आपसी विश्वास,  समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएको बताए ।
अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट पहल गर्नुपर्नेमा जोड दिए । 
भेटमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा संघीयताको  अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे । उनले अष्ट्रेलियाले संघीयता कार्यान्वयनका क्रममा हाासिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुने विश्वास व्यक्त  गरे ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्