SSI SSI
SSI SSI

सोह्रश्राद्धको महत्व :  संक्षिप्त परिचय

 

भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका आश्विन कृष्ण पक्ष का १६ दिनलाई पितृपक्ष वा जनजिब्रोमा सोह्र श्राद्ध भनिन्छ। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । यो श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा बताइएको छ ।

पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् । तर यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ ।

यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो । पहिलेपहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राह्मण राखिएको हो।

पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा पवित्र तीर्थस्थल, नदीको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रोक्ति छ। पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्।

श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन् : छोरीको छोरा (नाति), दिनको आठौँ भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् : बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद हुन्छ ।

पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु, कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषिद्ध छ ।

सोह्रश्राद्ध अवधिमा मांगलिक तथा शुभ काम गर्न वर्जित छ । कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र बेहुली भित्र्याउने जस्ता कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्न हुँदैन ।

नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।

प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन ।

______________

(स्रोत : विकिपीडिया, निर्णयसिन्धु र पद्मपुराणको आधारमा )

May be an image of temple and text that says 'शुभबिहानी! शुभदिन! सम्पूर्ण पितुहरु र सबैका पितृहरूमा भावपूर्ण श्रद्धासुमन! गुबक पितृहरुबाट हामी सबैलाई कल्याण मिलिरहोस्!'

( चन्द्रमणि गौतमको फेसबुक वालबाट साभार )

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्