SSI SSI
SSI SSI

टिकटक र फेसबुकमा भनेजस्तो नेपाल सबभन्दा धेरै युवा विदेश जाने देश होइन


'मेरो त छोरा अमेरिका छ, छोरी अष्ट्रेलिया' भन्ने गर्वानुभूतिबाट 'देशै खालि हुनेगरी सब विदेश गए' भन्ने आत्मग्लानीयुक्त भाष्यको निर्माणको गम्भीर खोज आजको समयको समाजशास्त्रीय अध्ययन हो। एकातिर रेमिट्यान्सको रकम पनि चाहिने, अर्कातिर युवा देशमै चाहिने। बैंक र वित्तिय संस्थालाई पैसा चाहिने अनि एजुकेसन कन्सल्टेन्सी र मिडियाले विदेशमा पढ्न कसरी जाने भनेर मेला चलाउने ! आफ्ना छोराछोरी विदेश जाउन् भनेर बाआमाले पनि चाहने, विहे गरेर छोरीबुहारी विदेश पठाउन लाखौं खर्च गर्न तयार हुने तर यहीं कृषि र अन्य उदमलाई तयार नहुने। सरकारले पनि कृषिभन्दा वैदेशिक रोजगारीमै जोड दिने।
उपयुक्त अवसरको खोजीमा जहाँ जान पनि सकिन्छ। आफ्नै ठाउँमा बस्ने भए हामी अधिकांश खेत रोपेर गाउँमा बसिरहेका हुने थियौं। अहिलेको समयमा सबै देशका मान्छे विदेश जान्छन् । टिकटक र फेसबुकमा भनेजस्तो नेपाल सबभन्दा धेरै युवा विदेश जाने देश होइन । परम्परागत पेशा र बाउबाजेको कामबाट निस्कन चाहने, थप प्रगति गर्न चाहनेले माइग्रेसन पनि गर्छन्। यसको सामाजिक र पारिवारिक मूल्य पनि हुन्छ। पारिवारिक विखण्डन पनि आउँछ। तर, यो केवल राजनीतिले गर्दा भएको होइन। एकथरीले जेको पनि दोष गणतन्त्रलाई दिन्छन्। तथ्य, तथ्यांक र अध्ययन बिना गरिने यस्ता प्रलापको राजनीतिक र अन्य कुनै स्वार्थ/अर्थ भने हुनसक्छ ! अझै एकथरी त आफू सहर र विदेशमा बसेर अरूचाहिँ गाउँमै दुख गर्नुपर्थ्यो भनेझैं गर्छन्। खासमा सजिलै पासपोर्ट पाइने, विदेश जान सजिलो, शिक्षा र स्वास्थ्यमा आएको सुधार अनि धेरै देशसँग सम्बन्ध र कतिसँग श्रमसम्बन्ध भएको र छोराछोरी विदेशमा पढाउनसक्ने गरी मध्यमवर्गको विकास भएकाले (पहिले सीमित शासक वर्गका मात्रै विदेशमा पढ्थे) यो संख्या बढेको हो। अहिले गरिब र तल्लो वर्गका भनिएका मानिस पनि विदेश जाने थालेका हुन्। कतिलाई त यसमै चित्त बुझेको छैन। साना भनेका मान्छेले आफ्नै लहरमा उभिएर सहर बजारमा घर बनाएको देख्दा पनि कतिलाई असह्य भएको होला ! 
यसका धेरै आयाम छन् ! कोही देशमै राम्रो अवस्था र सम्भावना भएका पनि गएका छन्। बाध्यताले जाने र रहरले जाने दुवै वर्ग छन्। विकासक्रमा जनआकांक्षा अनुसार अर्थतन्त्र र रोजगारीको स्तोरन्नति नभएपछि यसरी युवाहरू अवसरको खोजीमा निस्किने समय आउँछ, धेरै देशमा आएको छ। पछिल्लोपालि चाहिँ कोभिडका कारण धरासायी भएको अर्थतन्त्र र विश्वव्यापी आर्थिक मन्दीले साना व्यापारी र निम्नमध्यम वर्गको आत्मविश्वास घटाइदिएको छ, जसले गर्दा उनीहरूले पनि विदेशलाई नै सुरक्षित ठानेका छन्। यसमा भने सरकारको ढाढस आवश्यक थियो। शिक्षाका लागि विदेश गएकालाई फर्काउने, श्रम गर्न गएकालाई दक्ष बनाएर पठाउने र पर्यटन र कृषि क्षेत्रलाई साँच्चिकै उत्पादनमूलक बनाएर रोजगारी सृजना गर्ने गरी केही वर्ष काम गर्ने हो भने यो अवस्था अवसरमा बदलिन सक्छ। आजको पुस्ताले विदेशमा पसिना बगाए पनि भोलिको पुस्ताको भविष्य यहीं सुरक्षित छ भन्ने आत्मविश्वास जगाउन सरकारले काम गर्नुपर्छ। सरकार र दलहरूले यसतर्फ ध्यान दिउन् ।
( यज्ञस यज्ञसको फेसबुक वालबाट साभार )
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्