SSI SSI
SSI SSI

सिड्नीको वेस्टमिडमा योग सम्मिश्रित तीज सम्पन्न 


सिड्नी ।   नेप्लिज कम्युनिटी इन सिडनी, वेस्टमीड तथा योग अष्ट्रेलियाको सह-आयोजनामा सेप्टेम्बर २ शनिबारका दिन स्थानीय पारामाटा पार्कमा नेपाली महिलाहरूको चाड हरितालिका तीज सम्पन्न भयो ।  सस्थाका निवर्तमान अध्यक्ष डा. बद्री प्रसाद भट्टराईले  श्रीगणेश मन्त्रोच्चारण गरेर आरम्भ भएको  भएको सो कार्यक्रममा  सस्थाका अध्यक्ष  शंकर श्रेष्ठले  सहभागीलाई स्वागत गरेका थिए । सो अवसरमा योग अस्ट्रेलियाका वरिष्ठ योग प्रशिक्षकद्वय श्रीमती बसुन्धरा ढुंगेल र श्रीमती पुष्पा दाहालबाट पानसमा बत्ति बालेर योग कार्यक्रमको उद्घाटन गरिएको थियो ।   कार्यक्रम संयोजक डा. शोभा नेपालीले वैज्ञानिक र अनुसन्धानात्मक तथ्यहरु प्रस्तुत गर्दै शारीरिक, मानसिक, आत्मिक र सामाजिक स्वास्थ्यमा प्राणायामको महत्वबारे जानकारी गराएकी थिइन् ।

योग अष्ट्रेलियाका संस्थापक श्रीमती सुलोचना पोखरेलको अगुवाईमा सहभागी योगप्रेमीहरूले आठ प्रकारका प्राणायाम प्रस्तुत गरेका थिए । सो अवसरमा सिड्नीदेखि ५६५ कि मी टाढा ग्रिफ्फिथबाट वरिष्ठ योग प्रशिक्षक जानुका चौधरी, नेप्लिज हिन्दू सोसाइटी अफ अष्ट्रेलियाका अध्यक्ष  लक्ष्मी बस्ताकोटी तथा श्रीमद्भागवत पुराण बाचिका माता मन्जरी, योगी नरहरिनाथ फाउन्डेसन अष्ट्रेलियाका अध्यक्ष  नारायण शास्त्री तथा बल्याकटाउन नेप्लिज कम्युनिटीका उपाध्यक्ष  सरस्वती घिमिरेलगायतका महानुभावहरुको सहभागिता रहेको थियो। 
बिहान १० बजेदेखि सुरू भएको सो योग सम्मिश्रित तीज  कार्यक्रममा प्राणायाम समापनपछि स्वतस्फूर्त रुपमा सहभागीहरूलाई  स्वादिलो र स्वास्थ्यवर्द्धक शुद्ध शाकाहारी दर वितरण गरिएको थियो । डर खाने सो कार्यक्रममा र  डा. बाबुराम वस्ताकोटी तथा  राम सापकोटाको बाद्यबादन टोलीले मौलिक नेपाली मादल, मुरली, खैंजडी, मुजुराका साथमा भजन र तीजका गीत प्रस्तुत गरेका थिए ।  हर्षोल्लासपूर्वक सम्पन्न भएको कार्यक्रममा शुरु देखी अन्त्यसम्म उत्साहजनक उपस्थितिका साथै नाचगानमा सबैको सहभागिता र भरपूर मनोरन्जन लिए ।  कार्यक्रमका सहभागीहरूले नयाँ तरिकाले तीज मनाउन पाएकोमा निकै नै खुशी प्रकट गर्दै योग सम्मिश्रित कार्यक्रम भविष्यमा पटक पटक आयोजना गर्नुपर्नेमा जोड़ दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्