SSI SSI
SSI SSI

जातिवाद कति घातक कति सार्थक

 

 प्राध्यापक मोहनसिंह थेबे (इलाम)

सहरमा बसेर जातिवादको कुरा गर्न सजिलो छ । त्यहाँ उपभोक्तावाद छ र व्यक्तिवाद पनि त्यत्तिकै छ । त्यसैले सहरमा व्यक्ति आत्मकेन्द्रित हुन्छ, तर गाउँ एक्लो जातिको टापु भएर बस्न सक्दैन । आगो र पानी मागेर काम चलाउने संस्कृतिमा हुर्किएको सम्बन्ध छ हामी नेपालीसँग ।

जुनसुकै जातिको किन नहोस्, हामी आपसमा बाबा, काका, दिदी, फुपू, भनेर आत्मीय नाता गाँस्छौँ । नातामा परेन र अलि टाढाको रहेछ भने मितेरी लगाउँछौँ । जे नाता लगाए पनि नाताको माया लाग्नथाल्छ । सञ्चो–विसञ्चो क्षेम–कुशल सोध्छौँ । भेट हुँदा खाना खानुभो ? भनेर खाए–नखाएको सोध्छौँ । घरमा भेट भयो भने खाना खाएर जानुस् वा आज यतै बसौँ भन्छौँ । यो सम्बन्ध चटक्कै चुँडाल्न सम्भव छैन । यी साना कुरा होलान्, तर एकताका सूत्र हुन् ।

हाम्रा कतिपय आदिवासी जनजाति अधिकारकर्मी वा संगठनकर्ताहरूले यो कुरा बुझेनन्, बुझ्न सकेनन् (वा बुझ्न चाहेनन्)। काठमाडौँतिरका बुद्धिजीवीहरू कुरा नबुझेरै यस विषयका विज्ञ भएका छन् । विदेशी दातृ निकाय र आई.एन्.जी.ओ.हरूका खास रुचि र लक्ष्य के हो सबैले बुझ्न सकिएको छैन । त्यसैले हाम्रो आदिवासी–जनजाति आन्दोलन सामाजिक धरातलीय यथार्थभन्दा बाहिर पुगिसकेको छ । पहिचानका कुरा गर्ने दल, नेता र संघ–संस्थाहरू क्षणिक स्वार्थका लागि समाजमा वैमन्यस्यताको बीउ रोप्नतिर लागेका छन् । कसैलाई कुनै कुरामा चित्त बुझेन भन्दैमा सिँगो समाज नै भाँडिनुपर्ने ?

अझ अहिले त अन्तरजातीय विवाहको क्रम बढिरहेको छ र समाजमा यो क्रमलाई सबै जातजातिबाट सहज रुपमा लिन थालिएको पनि छ । शिक्षाको अवसर व्यापक हुँदैछ । राज्यव्यवस्थामा आदिवासी जनजातिको समावेशीकरणमा धेरै प्रगति भएको छ । तर प्रगति भएको कुरा केही नगर्ने, खाली नकारात्मक कुरा मात्र उधिनेर समाजलाई भाँड्ने, द्वन्द्व र वैमनस्य बढाउने काम भइरहेको छ ।

बुद्धिजीवीले यथार्थ ज्ञान पाउन गाउँमा जानुपर्छ । राजनीतिकर्मीहरूले पनि साँचो राजनीति गर्ने हो र जनताकै मुद्दा उठाउने हो भने पनि गाउँ नै जानुपर्छ । पश्चिमा शिक्षाका ठेलीले मात्र हाम्रो गाउँ र समाजलाई बुझिँदैन । मुलुकको वस्तुपरक यथार्थ गाउँ नगई बुझिँदैन । सहरमा बसेर एकलकाँटे कुरा गरेर जनताको वास्तविक भावना समेटिदैन ।

हरेक पटकका निर्वाचन परिणाम हेर्दा पनि स्पष्ट हुन्छ, जहिले पनि नेपाली जनमत जातीयताको विपक्षमा उभिएको छ, र मलाई लाग्छ यसै गरी उभिनेछ । क्षणिक रुपमा जातीय भावनाको प्रयोग गर्न सकिन्छ । केहीलाई बहकावमा लगाउन पनि सकिन्छ । तर त्यो नेपाली समाजले खोजेको राजनीतिक गतिविधि हुँदैन । सैद्धान्तिक पनि हुँदैन, खाली भावनात्मक हुन्छ । भावना त एकछिनमा एउटा हुन्छ, अर्को छिनमा अर्को । त्यसैले सैद्धान्तिक राजनीति दिगो हुन्छ भने भावनात्मक राजनीति क्षणिक । जातीयताका यी क्षणिक फोकाहरू संक्रमणमा देखिए । अब बिस्तारै हराउँदैछन्, थिग्रिँदैछन् ।

हिजो चर्का जातिवादी कुरा गर्नेहरू अथवा जातीय पहिचानका कुरा गर्नेहरू आज खुला रुपमा यही एजेण्डा लिएर गाउँ जान सकेका छैनन् । जनतालाई यसबारेमा स्पष्टसँग बुझाउन पनि सकेका छैनन् । जहाँ जे भन्दा फाइदा भइहाल्छ, त्यहीँ गोलमटोल् तरिकाले गरिरहेका छन् । किनभने जनमत जातीयताको विपक्षमा छ । निर्वाचन परिणामले त्यही सन्देश दिएको छ ।

( चन्द्रमणी गौतमको  फेसबुक वालबाट साभार 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्