सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पञ्चतन्त्रमा एउटा कथा छ । कुनै ठाउँमा एउटा पोखरी थियो । पोखरीको पानी बिस्तारै सुक्दै जान थाल्यो । जलचरहरूका लागि पोखरी सुक्दै जानुले सोच्न बाध्य बनाइरहेको थियो । अन्तबाट हिडेर, उडेर, घिस्रेर आउने जनावरहरू पनि पोखरी सुक्दैछ, सोच भन्थे । पोखरीमा भएका माछा, गंगटाहरू पनि अब के गर्ने भन्नेमा चिन्तित थिए । तर त्यहि छेउमा भएको एउटा बुढो र अल्छि बकुल्लोले भने त्यहाँ सम्भावना देख्यो । योजना बनायो र एकदिन पोखरीको डिलमा गएर चिन्तित हुँदै भन्यो, "हेर, अब म बुढो भइसकेँ ,अब मैले मासुमंश लगायतका तामसी खानेकुरा छोडिसकेँ । अरु बकुल्ला जस्तो म होइन । म पहिलेको आफै जस्तो पनि होइन । तिमीहरूको दुख देखेर मेरो मन भरिएर आयो । अब यसरी हुन्न, केहि गर्नु पर्छ, समय आयो । मलाई साथ देउ ।"
पोखरीमा पानी सुक्दै गरेको र अब के गर्ने भन्ने बारेमा केहि मेलोमेसो नपाएका माछाहरु केहि उपाय निक्लिहाल्ला कि भनेर उसको कुरा सुन्न थाले । सबैले उसको कुरा सुन्न थालेको देखे पछि बकुल्लोले आँशु झार्दै झन् दुखी स्वरमा कुरा अगाडि बढायो, "अब यो पोखरी सुक्छ । यो भन्दा पर अर्को साह्रै राम्रो पोखरी छ । तिमीहरु सबैको इच्छा र चाहना हुन्छ भने म नेतृत्व लिएर तिमीहरुलाई उडाएर अर्को पोखरीसम्म पुर्याउँछु तर बुढो भएकाले एकै पल्ट लान सक्दिनँ । एक पटकमा एकजना मात्रै लैजान्छु ।" माछाहरुले मानेँ । त्यसपछि माछाहरूलाई उसले लैजान थाल्यो । अन्तिमतिर गँगटोलाई पनि अर्को पोखरी पुर्याउँन भनेर लिएर उड्यो । गँगटोले माथिबाट ढुंगाभरि माछाका काँडाहरू देख्यो र कुरा बुझ्यो कि यसले अर्को पोखरी लानै भन्दै अलिक पर्तिर लगेर मारेर खाँदो रहेछ । गँगटोले सहि मौकामा बकुल्लोको घाटीमा समायो । सास फेर्न नसकेर बकुल्लो मर्यो ।
पञ्चतन्त्र त संस्कृत साहित्यको देन हो । हाम्रै माटोको उत्पादन । यसैले भन्छु, पञ्चतन्त्र पढ्नुहोस् ।