SSI SSI
SSI SSI

गैर आवासीय नेपालीहरूले नागरिकता पाउने भए

सपथ खाउ नेपाली नागरिकता लेउ 

 

 काठमाण्डौ ।  भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनबाट गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गर्ने बाटो खुलाईदिएको छ । चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने भएको छ । यो  नियमावली नबन्दा गैरआवासीय नेपालीहरूले नागरिकता लिन सकेका थिएनन् ।
गत जेठ १७ गते नेपाल सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो । संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्तगर्न चाहने  गैरआवासीय नेपालीले तोकिएबमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ । लिखित शपथ पछि नाम, नेपालको र अहिलेको ठेगानासहित हस्ताक्षर गरेर औंठा छापसमेत लगाउनु पर्नेछ ।
नागरिकता पाउने गैरआवासीय नेपालीलाई प्रमुख जिल्ला अधिकारीले शपथ गराउने छन् । पारित नियमावलीको अनुसूची ८ (घ) मा नेपालको प्रचलित संविधान र कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेपछि पुन: देश र जनताको नाममा शपथ गर्नुपर्ने व्यवस्था गरेर गैरआवासीय नेपालीलाई नेपाल प्रति थप इमान्दार र कर्तव्यनिष्ठ बनाउन खोजिएको छ ।
गैरआवासीय नेपालीले निवेदनमा महिला, पुरूष या अन्यमध्ये कुन हो स्पष्टसँग पहिचान खुलाउनु पर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ। नियमावलीअनुसार गैरआवासीय नेपालीले आफ्नो नेपालको ठेगाना या बसोबास गरिरहेको मुलुकको दूतावास या महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछन्। निवेदनका साथमा  आफ्नो, बुवा,आमा, हजुर बा र हजुर आमा ,मध्ये एक जनाको नागरिकताको प्रमाणपत्र बुझाउनु पर्ने  नियमावलीमा उल्लेख छ।
निवदेन दिइसकेपछि निवदेकका आफन्त, आफन्त नभए चिनेको व्यक्तिले प्रमुख जिल्ला अधिकारी वा उनले तोकेका अधिकृतसमक्ष उपस्थित भएर सनाखत गर्नुपर्नेछ। यस्तै अनलाइन माध्यमबाट समेत नागरिकताका लागि निवेदन दिने व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयले आवश्यक प्रविधिको विकास गर्नेसमेत नियमावलीमा उल्लेख छ ।
  सरकारले बनाएको  शपथको व्यहोरा र ढाँचा यस प्रकारको छ। 
‘म........ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु/सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण रूपमा बफादार रही श्रद्धा एवं सत्य निष्ठापूर्वक गैरआवसीय नेपाली नागरिकका रूपमा आफ्नो कर्तव्य पालना गर्नेछु,’ नियमावलीको अनुसूची ८ (च) मा रहेको शपथको व्यहोरामा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्