SSI SSI
SSI SSI

केहो जनै ? किन लगाउने ?

मंगलबार, भदौ ४, २०८१

 

जनै (हिन्दीमा ‘जनेऊ’) लाई शास्त्रीय भाषामा यज्ञसूत्र वा यज्ञोपवित वा ब्रम्हसूत्र र यसबाहेक भारतीयहरूले बलबन्ध वा मोनीबन्ध पनि भन्ने गर्छन् । नेपालका ‘तागाधारी’ जाति (ब्राम्हण, क्षेत्रीय, ठकुरी, नेवार, कतिपय दलित) ले ब्रतबन्ध ('उपनयन’ वा ठेट उच्चारणमा ‘बर्तमन’) कर्म गरेपछि जनै लगाउँछन् । धर्मशास्त्रमा यम–नियमलाई व्रत मानिन्छ । बालकको आयुवृद्धिका लागि गायत्री तथा वेदपाठको अधिकारप्राप्त बन्न उपनयन (जनैधारण) संस्कार अत्यन्त आवश्यक हुन्छ । उपनयन वा ब्रतबन्ध भनेको ब्रह्म (ईश्वर) र ज्ञानको ‘सन्निकट पुर्याउनु’। हिन्दू धर्मका २४ संस्कार (१६ वटा मूख्य संस्कार र ८ वटा उपसंस्कार) मध्ये उपनयन मूख्य संस्कार हो । शारीरिक रुपमा जन्मेको बालक जनै लगाउन पाएपछि ज्ञानको संसारमा दोस्रोपटक जन्मेको (द्विज) कहलाइन्छ । शारीरिक जन्मलाई सार्थकता दिने विद्या हो; त्यसका लागि ढोका खोलिदिने कर्म ब्रतबन्ध हो र जनै अध्ययन, चिन्तन, ब्रम्हतत्व जान्न योग्य भएको आधार हो भनिन्छ । ब्रतबन्ध गरेपछि बटुक (बालक) लाई यज्ञ, गुरुकुलमा अध्ययन वा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ ।

हिन्दु धर्मको मान्यता छ, “जन्मना जायते शूद्रं संस्कारो द्विज उच्यते । वेदाभ्यासी भवेत् विप्र ब्रम्ह जानाति ब्राम्हणः।।” अर्थात जन्मदा सबै मानिस संस्कार नभएका शूद्र नै हुन्छन् । जन्मपछि गरिएका संस्कारद्वारा द्विज बन्दछन् । वेदको गहन अध्ययन गरेपछि, विप्र र ब्रम्हतत्व के हो ? भन्ने राम्रोसँग बुझेपछि सबै मानिस ब्राम्हण बन्दछन्।

दीक्षा दिने प्रचलन वैदिककालमा ऋषिहरूले स्थापित गरेका हुन् । ऋषि परम्पराअनुसार दीक्षाहिन कोरा बालकलाई शिष्यद्वारा ब्राह्मण बनाउन गुरुकुलमा गुरुद्वारा दीक्षा दिइन्थ्यो । हिन्दु दर्शनमा दीक्षा दिनु भनेको दिशाहीन जीवनलाई दिशा दिनु र लक्ष–चिन्तन गराउनु हो । वास्तवमा दीक्षा एक शपथ, एक अनुबन्ध र एक संकल्प हो ।

जनै जिम्मेवारीको प्रतीक हो । जनैका धागाहरू र त्यसमा बनाईने बन्धन (गाँठा) मध्ये तीनसूत्रले त्रिमूर्ति (ब्रह्मा, विष्णु र महेश) को प्रतीकात्मक रुपमा देव–ऋण, पितृ–ऋण र ऋषि–ऋण बुझाउँछ । साथै गायत्री मन्त्रका तीनचरणका प्रतीक पनि हुन् ।

जनै बनाउन धागो बाट्नेदेखि धागो मिलाउने, शिखा पार्ने, अनिमात्र जनैपूर्णिमाकै मुहूर्तमा लामो अनुष्ठानका साथ होम तथा यज्ञको मन्त्रद्वारा प्रतिष्ठापित गरिन्छ । त्यसैले वास्तविक जनै बनाउन लामो झन्झट छ । यसमा ९६ अंगुल हुनुपर्ने, यो भनेको ६४ कला र ३२ विद्याको योग हो । ३२ विद्यामा चारवटा वेद, चारैवटा उपवेद, छःवटा अंग, छःवैवटा दर्शन, तीनवटा सूत्रग्रन्थ र नौ प्रकारका अरण्यक मिलाएको हो । ६४ कलामा आभूषण, वास्तु आदिको निर्माण, पाककला, चित्रकला, साहित्य, भाषा, सिलाई, बुनाई, मूर्ति वा बुट्टा भर्ने, कृषि तथा पशुपालन आदि पर्दछन् ।

बजारमा आम्दानी र मुनाफाको लागि बेचिने जनै वास्तबमा जनै नै होइन, सामान्य धागो हो । चीनबाट पनि जनै आयात हुन थालेको छ रे ! जनैमा चाबी, औंठीजस्ता चिज झुन्ड्याउनेहरू पनि छन् । कुनै चिज झुन्ड्याएपछि जनैको पवित्रता र मर्यादा नै रहँदैन र जनै लगाउनुको सार्थकता नै हुँदैन । कर्मकाण्डी र अन्धविश्वासी बाहुनहरूले नै जनैको पवित्रता कायम राख्न सकेनन् ।यो दिनलाई ऋषि तर्पणी, गायत्री जयन्ती, हयग्रिव जयन्ती र संस्कृत दिवसको रूपमा पनि मनाइन्छ । श्रावणशुक्ल पूर्णिमालाई जनै पूर्णिमा अर्थात यज्ञोपवित पूर्णिमा भनिन्छ ।  हरेक वर्ष यो पर्व श्रावण शुक्लपक्षमा पर्ने हुनाले यसलाई 'श्रावणी' पनि  भनिन्छ । यो दिन देवता, सप्तर्षी र पितृहरूलाई तर्पण दिनेहुनाले 'ऋषि तर्पणी पूर्णिमा' पनि भनिन्छ । सप्तऋषि - " कस्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र " । यो दिन नयाँ यज्ञोपवित धारण गरिन्छ र गुरुपुरोहितबाट यजमानहरूलाई रक्षावन्धन पनि प्रदान गरिन्छ । रक्षावन्धन - गुरु वृहस्पतिले इन्द्रको हातमा विधिवत् मन्त्रोचारण गरि रक्षावन्धन बाँधिदिइसकेपछि मात्र    इन्द्रले पुन: दैत्यहरूसितको युध्दमा विजयी वन्न समर्थ भएका थिए ।
* नयाँ यज्ञोपवीत(जनै) धारणगर्दा पढने मन्त्र -
   " ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्   सहजं पुरस्तात् ।
      आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं  बलमस्तु तेज: ।।
      ॐ यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनह्यामि । "

 

   पुरानो यज्ञोपवीतलाई निम्नलिखित मन्त्र पढेर जलमा विसर्जन गर्नुपर्छ -
   " एतावद्दिनपर्यन्तं ब्रह्म त्वं धारितं मया ।
     जीर्णत्वात् त्वत्परित्यागो गच्छ सूत्र  यथासुखम् ।।"
     नयाँ यज्ञोपवीत धारण गरेपछि यथासक्य गायत्री मन्त्र जप गर्नुपर्दछ ।
* गुरुपुरोहितले यजमानलाई रक्षावन्धन गर्दा पढने मन्त्र -
   " ॐ यदाबध्नन् दाक्षायणा हिरण्य ओम् शतानीकाय सुमनस्यमाना: ।
     तन्म आ बध्नामि शतशारदायायुष्माञ्जरदष्टिर्यथासम् ।।
     येन बध्दो बली राजा दानवेन्द्रो महाबल: ।
     तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल ।।"
* यज्ञोपवीतलाई त्रिगुणा तत्व समावेश भएको एउटा महान सूत्रको रूपमा लिइन्छ । यसलाई ब्रह्मसूत्र ( ज्ञानको धागो ) पनि 
  भनिन्छ । यसलाई तीनवटा अक्षरको संयुक्त स्वरूप ॐ अर्थात् प्रणवको प्रतीक मानिएको छ । यज्ञोपवीतले सबै मन्त्रहरूको सार्थकता सिध्द गर्ने हेतुले आफू स्वयं सेतु वनेर काम गर्छ - 'मन्त्राणां प्रणव सेतु' । 
 * नेपालमा यज्ञोपवित अर्थात् जनै धारण गर्नेहरूलाई तागाधारि पनि भनिन्छ । खासगरि ब्राह्मण, क्षेत्रीय र वैश्य समुदायमा जनै धारण गर्ने प्रचलन छ । नेवार समुदायका पुरोहित वर्गले पनि जनै धारण गर्दछन् । ब्राह्मण वर्गका पुरुषले ब्रतवन्ध गरेपछि जीवन पर्यन्त यज्ञोपवित धारण गर्नुपर्छ भन्ने भनाइ छ शास्त्रहरूमा । सन्यास ग्रहण गरेपछि जनै  र शिखा (टुपि) दुबै त्याग्नु पर्छ । यज्ञोपवीत ब्रह्मज्ञानको एउटा अत्यन्त पुनीत प्रतीक पनि रहेको छ । तागाधारिहरूले  जनै धारण गर्नु यीनको ब्रह्मज्ञानप्रति भएको आस्था र विश्वासको परिचायक हो । 
* यज्ञोपवीतको एउटा शिखाले "ब्रह्मा, विष्णु र महेश्वर" र "ऋग्वेद, यजुर्वेद र सामवेद" को प्रतीक जनाउँछ भने अर्को शिखाले "कर्म, उपासना र ज्ञान" को योगलाई जनाउँछ ।
* यज्ञोपवित अर्थात जनैको तीन सूत्रले ब्रह्मचर्य, गार्हस्थ र वानप्रस्थ गरी तीन आश्रम वा अवस्थालाई पनि जनाउँछन् । महामानव बुध्दले यसै दिन 'काम' लाई पराजय गरेर सम्य सम्बुध्द हुनु भएको थियो । रक्षा बन्धनका दिन तराई-मधेशमा दिदी- बहिनीहरूले दाजु-भाईहरूलाई राखी बाँधिदिने प्रचलन छ । यो प्रचलनले आजकाल पहाडी भेगमा पनि प्रवेश गरिसकेको छ । नेपालको नेवार समाजमा आजको दिनलाई गुँपुन्हि भनेर विशेषरूपमा मनाइन्छ । नेपालमा क्वाँटी खाने प्रचलन काठमाण्डौं उपत्यकाबाट नै सबैतिर गएको मानिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०३:०९
प्रतिक्रिया दिनुहोस्