SSI SSI
SSI SSI

 आज नाग पञ्चमी पर्व घर घरमा नागको पुजा गरिदै 

शुक्रबार, साउन २५, २०८१


सिड्नी । पृथ्वी, प्रकृति, जीव र मानव जातिको सन्तुलित सम्बन्ध बुझाउने पर्व हो नाग पञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी  मनाईन्छ ।  नागपञ्चमी पर्व धार्मिक परम्परा अनुसार नागको पूजा गरी आज (अगस्ट ९ तारिख शुक्रबार )  मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ ।


नागका आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकाल देखि परम्परा छ ।नागका बाह्र नाम भए पनि नाग पञ्चमीको दिन आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको जनविश्वास छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । 
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नाग जातिको पूजाआजा गर्ने परम्परा बसाएको विश्वास गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्