SSI SSI
SSI SSI

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

शुक्रबार, साउन ४, २०८१


सिड्नी । नेपालले प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्ने काम सम्पन्न भयो । 

यहि जुलाई १७ तारिख बुधवार नियोगमा आयोजित  कार्यक्रममा  दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा समेत  हस्ताक्षर गरियो । नियोगद्वारा जारी विज्ञप्तिका अनुसार दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरिएको थियो । 

करिव एक लाख ३१  हजार जनसङ्ख्या भएको किरीबास  बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको थियो ।  यो देश १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्