SSI SSI
SSI SSI

साउने संक्रान्तिको सांस्कृतिक महत्व

मंगलबार, साउन १, २०८१

 

 

साउन (श्रावण) महिनालाई शिवजीको सबभन्दा मनपरेको अवधिको रुपमा लिइन्छ । साउन महिनाको पहिलो दिन, सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । यो संक्रान्तिको साँझ असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका साथ साँझमा लूतो फालिन्छ । यसमा कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू कण्डारक राक्षसलाई चढाएर, सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ । यसैलाई लूतो फ्यांकेको भनिन्छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहि बेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन छ ।

यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्धमा सर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जान्छ । साउन महिनाले नेपाली, खास गरी हिन्दू धर्मसँग सम्बन्धित चाडहरू ल्याउने गर्दछ । धर्मशास्त्र अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्दछन् । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि यो महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र महिनाभर सोमबार व्रत बसी शिवको पूजा गर्दछन् ।

महत्व

जनजाती समुदायले साउने सङ्क्रान्ति पर्वलाई ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र नमानेर किरात समुदायमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवीप्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना–सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘संक्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भनी कराउँदै रमाएका हुन्छन् । संयोगवस, नेपालमा पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष आरम्भ पनि साउन १ गतेबाट हुने हुनाले सामाजिक–साँस्कृतिक रूपमै कहाँ, के कति राजनीतिक रूपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ ।

विभिन्न समुदायहरूमा साउने संक्रान्ति

लिम्बू समुदायका मूख्य चारवटा तङ्नाम (पर्व)– चासोक तङ्नाम (मंसिरे पूर्णिमा), कःक्फेक्वा तङ्नाम (माघे संक्रान्ति), यक्वा तङ्नाम (बैशाख पूर्णिमा) र साउने संक्रान्ति पनि ‘सिसेक्पा तङ्नाम’को निकै महत्वपूर्ण पर्व हो । यस दिन किरातीहरूले आफ्नो ईष्टदेवको सम्मानमा नयां पाकेका फलफुलहरू चढाउँदै डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको ‘सिर्जात’ (असारे पूजा) र धङधङ्गे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । कर्णालीको जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले साउने सङ्क्रान्ति पर्वमा लुतो फालेको शैलीमा बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानेर अनिष्ट, रोगब्याधी र अनिकाल जाओस् भन्दै साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।

पूर्वी नेपालको लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गल गई संक्रान्तिका लागि फल–फूल, कन्दमूल र पात (च्योङ) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहेको छ । परिवारका सदस्यहरूले सबेरै आफ्नो घरमा अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्