SSI SSI
SSI SSI

सन्दर्भ भानु-जयन्ति : भानुभक्तलाई सम्झदा

मंगलबार, साउन १, २०८१
 

 

‘छोरा हुनन् यज्ञ बहुत् गरिनन् ।
सम्पूर्ण लोक्को पनि ताप् हरिनन् ।
तब् पो ति छोरासित राज्य छाडी ।
जानू असल् हो त छँदैछ झाडी ।’

रामायणको सानो अंशलाई बिग्रह गरेर तात्कालिक एसएलसी पाठ्यक्रममा राखिएको ‘पादुका दान’को उपरोक्त श्लोकले भानुभक्तको तात्कालिक चेतना स्तरलाई प्रतिबिम्बित गर्छ भन्दा अत्युक्ति नहोला । राम चित्रकुट वन गएपछि विरक्तिएका रामका भाइ कैकेयीपुत्र भरतले आफ्ना दाजुलाई घर फर्कन अनुरोध गरेको श्लोक हो यो । वास्तवमा भानुले भरतमार्फत आफ्नो अन्तरदृष्टि पोख्न लेखिएको माथिको श्लोक अर्थ यसरी लगाउन सकिन्छ- ‘दाजु, छोरा जन्मेर हुर्केपछि उनीहरूले आफ्नो पुरुषार्थबाट समुदायको हित गर्न थाल्ने छन् । त्यसपछि मात्र आफ्नो सार्वजनिक कर्तब्यको बोझबाट अविभावकले उन्मुक्ति पाउँछ र शान्तिको लागि एकान्तबासमा जान सक्छ । समाज वा देशप्रतिको कर्तब्य नै एक राजा वा नेताको पहिलो कर्तब्य हो ।’ यो भानुको निजी चेतनाको मौलिक स्वर पनि हो ।

वि.सं. १८७१ असार २९ गतेको दिन धनञ्जय आचार्य र धर्मावती देवीका एक मात्र सन्तानका रूपमा तनहुँको चुँदी रम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ साल लेखे पनि भानुभक्तकी नातिनी विष्णुमायादेवीले वि.सं. १८७१ साल असार २९ गते आइतबार भानुभक्तको जन्म भएको बताइन्, जसलाई पण्डित नरनाथ आचार्यले सप्रमाण पुष्टि गरिदिए । त्यसैले भानुको जन्मसम्बन्धी विवाद अहिले साम्य भएको छ । मोतीरामले भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछमार्फत ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ (१९४८) लेखेका थिए । राम दत्तले अनुमानको भरमा भन्दा भानुको जन्म मिति दुई वर्ष तलमाथि भएको हालको खोजले प्रमाणित गरेको हो ।

आफ्ना बाजे श्रीकृष्णकै प्रेरणाबाट भानुभक्तले पढ्न लेख्न सिकेका थिए । भानुभक्तका बाजेले बुढेसकालमा काशीमा देहत्याग गर्ने मनसायले उनलाई पनि काशीमै लगेर संस्कृत भाषाको समेत विद्वान् बनाए ।

भानुभक्तको पहिलो बिहे एघार वर्षको उमेरमा भयो । तर, उनकी पहिली पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी दश वर्षीय छोरी चन्द्रकलादेवी (रेवती)सँग उनको दोस्रो बिहे भयो, जसबाट दुई भाइ छोरा रमानाथ र शिवशंकर जन्मे । कान्छा छोरा शिवशंकरको १४ वर्षको उमेरमा नै निधन भएको थियो ।

भानुभक्तलाई पहिलो पटक आदिकवि भनेर चिनाउने श्रेय मोतीराम भट्टलाई जान्छ । त्यसको पचास वर्षपछि श्री ३ जुद्धशमशेर जबराले ‘भानुभक्तलाई आदिकवि भने हुन्छ’ भनि राजकीय मान्यता दिएका थिए ।

किशोरावस्थादेखि नै भानुभक्तले कविता लेखन शुरु गरेको मानिन्छ । युवावस्थामा उनि आँशुकवि बनेर निस्किए । उनी अरूसँग बोल्दा पनि नेपाली भाषाका कवितामै बोल्थे । कसैले परिचय माग्दा भानुभक्तले त्यसको उत्तर यस्तो थियो-

‘पहाड्को अति बेस देश तनहुँमा श्रीकृष्ण ब्रह्माण्ड थिया,
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन दिया,
विद्यामा पनि जो धुरन्धर भइ शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनी हुम् यो जानी चिन्ही लिया ।’

भानुभक्त सानैदेखि बौद्धिक चेतका धनी थिए । उनी स्वतन्त्र विचार राख्न हिच्किचाउने खालका थिएनन् त्यसैले उनलाई स्वतन्त्राप्रेमी कवि भन्दा फरक पर्दैन । सबैभन्दा ठुलो कुरा उनी कविता लेखेर थाक्तैनथे । त्यस समयमा यिनले रामायण, प्रश्नोत्तर (काव्य १९१०), भक्तमाला (काव्य १९१०), वधूशिक्षा (काव्य १९१९), रामगीता (काव्य १९२५) तथा १८८४ देखि १९२५ सम्म थुप्रै फुटकर कविताहरू लेखे । तर जति लेखेपनि ति सबै रचनाहरूलाई प्रकाशित गरेर भानुलाई आदिकविको रूपमा लोकप्रिय बनाउने काम उनका चेला मोतीराम भट्टले गरेका हुन् ।

भानुभक्त लेख्न सिपालु थिए । उनी मनमा आएको भावलाई छन्दबद्ध कवितामा ढाल्न निपुण थिए । भानुमा विकसित आध्यात्मिक चेतनाको कारण बिकसित हुन पुगेको कृतज्ञताका कारण अरूबाट असल कुराको प्रेरणा लिन पनि पछि पर्दैनथे । उनले घाँसीबाट लिएको प्रेरणालाई कृतज्ञता र चेतनाको संगम भनेर बुझ्न सकिन्छ यसरी-

‘भर्जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भई कन आज यस्तो ।’

घाँसीको प्रसङ्गमा कविता लेखिएको बारे समालोचकहरूबीच मतभिन्नता छ । कसैले माथिका श्लोकहरूलाई भानुको चेतना र कृतज्ञता भनेका छन् भने कसैले गुरुलाई लोकप्रिय बनाउन मोतीरामले आँफै लेखेको मिथक पनि भनेका छन् । जे भए पनि भानुलाई लोकप्रिय कवि बनाउन उनका चेला मोतीरामको अमुल्य योगदान भएको बारे कुनै पनि समालोचकको दुई मत छैन ।

संयोग नै मान्नु पर्छ कि राम-सीताकै कथा लेखेकोले पूर्वीय दर्शनमा तीन कविहरूले ‘आदि कवि’को उपनाम पाएका छन् । बाल्मिकीले संस्कृतमा रामायण लेखे र आदिकवि भए । ठिक त्यही तरिकाले बाल्मिकीद्वारा लिखित संस्कृत रामायण नेपालीमा आफ्नो मौलिकता सहित उल्था गरेर भानुभक्त नेपाली साहित्यका आदिकवि बने । त्यसैगरी हिन्दी भाषामा रामकथालाई नै आधार मानि ‘रामचरितमानस’ लेखेर तुलसीदास पनि हिन्दी भाषासाहित्यका आदिकवि बने । यी तिनै आदिकविहरू एउटै कथामा कसै न कसैको प्रेरणामार्फत आँफुलाई रुपान्तरण गरेका रोचक प्रसंगहरू जोडिएका छन् । बाल्मिकी डाँकुबाट, भानु स्वार्थिबाट र तुलसीदास चरित्रहिन स्त्री लम्पट पुरुषबाट परिवर्तन भएका प्रसंगहरूलाई अचम्मलाग्दो संयोग मान्नु पर्छ ।

भानुभक्तको कमजोरी रिस थियो । उनि झनक्क रिसाउने प्रवृतिका थिए भन्ने कुरा भानुभक्तले रिसाएर लेखेको गजाधरबारेको निम्न कविताबाट प्रष्ट हुन्छ-

‘गजाधर्सोतीकी घर बुढी अलच्छिन्कि रहिछन्
नरक जानालाई सबसित बिदावारि भइछन्
पुग्यौँ साँझमा तिन्का घर पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुजरान गरियो ।’

भानुभक्तको सबैभन्दा ठुलो विशेषता के थियो भने उनी मनका कुरा लेखिहाल्थे । उनी छिटै रिसाउँथे र आफूलाई चित्त नबुझेका कुराको पनि कविता बनाउँथे । एक पटक गिरीधारी भाटसँग मुद्दा पर्दा भानुभक्तले आफ्नो घरको छानामा लगाएका भाटा सबै झिकेका थिए । उनले आफ्नो घर चुहुने नै पारे । रिसकै झोकमा उनी आफ्ना साथी तारापति उपाध्यायको घर गएको घटना पनि लेखे । भानुभक्त तारापतिको घरमा बास बसेका बेला सासू(बुहारीका भनाभनले रात बितेको थियो । रातभरिको जाग्रामपछि बिहानैको उषामा भानुभक्तले तारापतिलाई एक संदेश छोड्दै ‘वधूशिक्षा’ लेख्न आरम्भ गरेका थिए । तलका कविताका हरफहरूमा मित्र तारापतिलाई लेखेको संदेश हेरौँ-

‘एक थोक भन्छु नमान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा ई जति छन् जहानहरू ता लड्न्या रह्यो छन् अति ।
सारै झोक उठ्यो मलाई र वधू शिक्षा बनाञाँ पनि
यसले पत्नी, बुहारी, छोरीहरूको तालिम गरौला भनी ।’

मोतीराम भट्टका अनुसार भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । सरकारी रकम हिनामिना गरेको अभियोगमा विसं १९०९ सालमा उनको जागिर खोसिएको थियो र जेल पनि परे । तर भानुभक्तले एउटा श्लोक लेखेको भरमा जागिरे भएको प्रमाण मान्न नसकिने भनेर केहि समालोचकहरूले बताएका छन् । उनि धनि घरका पण्डित समेत भएकोले ‘गरिव भएकोले दुःखको मानो खाएको’ कथन सत्य मान्न नसकिने धेरैको मत रहेको छ । यो श्लोक मोतीरामले गुरुलाई लोकप्रिय बनाउन आँफै लेखेको बताउनेहरूको कमि पनि छैन ।

जागीर् छैन धनी म छैन घरको केवल् कोदालो खनी
खान्थ्यौँ दुक्ख गरेर चाकरी गरेँ मान् पाउँला की भनी ।’

विसं १९०९ सालमा भानुभक्तका बाबु धनञ्जय आचार्यको मृत्यु भएको थियो । त्यसको लगत्तै दुई वर्ष पछि अर्थात वि.सं. १९११ मा भानुभक्तलाई जागिरको शिलशिलामा सरकारी हिसाव नमिलाएको निहुँमा राणाहरूले कुमारीचोक थुनामा राखे । तर केहि समालोचकहरूले बाबु धनञ्जयको निधन भएपछि भानुभक्तलाई बाबुले सरकारलाई तिर्नु पर्ने बक्यौताका कारण समातिको भनेका छन् । तर उनि जेलमा परेको कुराबारे सबैको एकमत नै देखिन्छ । कुमारी चोकमा थुनामा परेपछि भानुले तात्कालिक कमान्डर इनचिफ कृष्णबहादुर राणालाई बिन्तिपत्रसहित कवितामै तलका हरफहरू लेखेको बताइन्छ-

‘रोज्-रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कुछ
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठुला चयन्मा म छु
लामखुट्टे उपिञा उडूस् इ सँग छन् इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन् यी उपिञा नाच्छन् म हेर्छु बसी ।’

मनमा पिडा भएपनि जेल जीवन भानुको निम्ति बरदान सावित भयो । उनले त्यो बखत धेरै फुटकर कवितासहित रामायणका अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको पुरै अनुवाद गरे । साथै जेलबाट छुटेपछि यिनले युद्धकाण्ड र उत्तरकाण्ड लेखेर रामायण पुरा गरे ।

उनले लेखेको रामायणले संस्कृतमा लेखिएका पुराणमात्र पढ्ने परम्परालाई रुपान्तरण ग¥यो । रामायण घर घरमा गुञ्जिन थाल्यो । अहिलेसम्म नेपालमा भानुले लेखेको रामायणको युग चलिरहेको छ । बास्तवमा नेपाली मौलिकता सहितको भानु भक्तिय रामायण नेपालको युगिन लोकप्रिय पुस्तक मानिन्छ ।

अर्को कुरा, भाषिक र जातीय विविधतायुक्त नेपाल राष्ट्रको भाषिक एकीकरण गराउने कार्य भानुभक्तले नै गरे भन्दा अन्याय हुँदैन । नेपाली भाषा साहित्यमा रामायण मार्फत सर्वप्रथम नेपाली भाषाको पहिचान दिलाउने काम भानुभक्तबाटै भयो । जसरी नेपालको राष्ट्रिय एकीकरण गर्ने श्रेय पृथ्वीनारायण शाहलाई छ, त्यसरी नै नेपालको भाषिक एकीकरण गर्ने श्रेय भानुभक्तमा जान्छ । यिनै कारणहरूले गर्दा आदिकवि भानुभक्तलाई नेपालका राष्ट्रिय विभूति मानिएको हो,जुन श्रेणी सबै साहित्यकारहरूले प्राप्त गर्न सक्दैनन् ।

भानुभक्तीय रामायणलाई नेपाली मौलिकता,संस्कृत सुरम्य र छन्दको संगम मान्न सकिन्छ ।त्यसैले भानुको योगदानलाई नबुझ्नेहरूप्रति देवकोटाले पेचिलो व्यङ्ग्य कस्तै भनेका छन्, ‘भानुभक्त पढेर हाम्रो भाषा शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ ।’

आदिकवि भानुभक्त आचार्यले पहिलोपल्ट कान्तिपुर अर्थात् काठमाडौं लगनटोलका सुब्बा धर्मदत्त ज्योतिषीको डेरामा आएर बसे । भोलिपल्ट कान्तिपुर घुमे । त्यस बेलाको सुन्दर कान्तिपुरले एउटा गाउँमा हुर्केको युवकलाई मोहित नबनाउने कुरै भएन । त्यसै बखत उनले कान्तिपुरको महिमा गान गर्दै लेखेको कविता अहिलेसम्म लोकप्रिय छ-

‘चपला अबलाहरू एक सुरमा
गुनकेशरिको फुल ली शिरमा
हिँडन्या सखी लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।’

अन्त्यमा, ५४ वर्षको अल्पायुमै अर्थात १९२५ साल असोज ६ गते आइतबार आश्विन शुक्लपञ्चमीका दिन कालाज्वरले थलिएर भानुभक्त आचार्य स्वर्गवास भए । आफ्नो जीवनको अन्तिम अबस्था भएपछी बालसखा र ज्योतिषी धर्मदत्त सुब्बाको आग्रहमा भावानुवाद गरेको ‘रामगीता’ नामक कृति अहिलेसम्म लोकप्रिय मानिन्छ । आदिकवि भानुभक्तको आधुनिक नेपाली भाषाप्रतिको योगदानको चर्चा जति गरेपनि कम हुन्छ । उनि नेपाली भाषाका उदाउँदा सुर्य जस्तै हुन् र हाम्रो भाषा रहेसम्म उनको चर्चा परिचर्चा भैरहने छ । आधुनिक नेपाली भाषाका स्वर्गीय पितामहप्रति भानु जयन्तिको पवित्र दिनमा हार्दिक श्रद्धा सुमन ! अस्तु 

साभार : घटना र विचार 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०५:५१
प्रतिक्रिया दिनुहोस्