SSI SSI
SSI SSI

एउटा नेताको गलत नीतिले लाखौंको ज्यान जान सक्छ : पुष्पलाल श्रेष्

आइतबार, असार १६, २०८१

चन्द्रमणि गौतम 

असार १५ मा नेपालका सबैजसो कम्युनिस्ट पार्टीहरूले पुष्पलाललाई जन्मजयन्तीको रुपमा सम्झिन्छन् । बाचुन्जेल उहाँलाई गाली गर्नेहरूले पनि श्रद्धा र सह्राहनाका पुष्पवृष्टी गर्छन् ।
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने पहिलो नेता पुष्पलाल श्रेष्ठ (बि.सं. १९८१–२०३५) हुनुहुन्थ्यो । थरबाट जातीयताको गन्ध आउँछ भनेर उहाँ आफ्नो थर लेख्न रुचाउनु हुन्नथ्यो । नेपाली राष्ट्रिय काँग्रेसमा कार्यालय सचिवका रुपमा सक्रिय रहनुभएका पुष्पलाल त्यसअघि आफ्ना दाजु शहीद गंगालालको पार्टी ‘नेपाल प्रजा परिषद’ का समर्थक हुनुहुन्थ्यो ।
२००३ सालमा स्थापित काँग्रेसमा डा. डिल्लीरमण रेग्मी र बीपीका बीचको विवाद उहाँले मिलाउन हर प्रयत्न गर्दा पनि नसकेपछि विरक्तिएर ‘तरुण मोर्चा’ स्थापना गर्ने कि ‘कम्युनिस्ट पार्टी’ भन्ने सवालमा द्विविधामा रहेकै बेला २७ वर्षे पुष्पलाललाई भारतीय कम्युनिस्ट नेता नृपेन्द्र चक्रबर्तीले कम्युनिष्ट पार्टी नै स्थापना गर्न सल्लाह दिए ।


२०१७ सालमा राजा महेन्द्रले देशघाती कदम चलाएपछि पुष्पलालको भनाई थियो, “काँग्रेस र कम्युनिस्ट मिलेर पञ्चायतका बिरूद्ध संयुक्त आन्दोलन चलाएर संसद पुनस्थापना गर्न राजालाई दबाब दिऔँ....।”
पुष्पलालले यो प्रस्ताब राख्दा उहाँकै पार्टीभित्र चर्को आलोचना मात्र भएन, उहाँलाई खुइल्याउनुसम्म खुइल्याएर एक्लो वृहस्पती बनाएर वर्तमान सबैजसो कम्युनिस्ट नेताहरू तत्कालीन चारु मजुमदार र कानु सन्यालका अनुयायीका रुपमा ‘व्यक्ति हत्याको राजनीति’मा लागे । मोहन बिक्रम सिंहले ‘गद्धार पुष्पलाल’ भन्ने पुस्तिका नै छपाएर बितरण गरे । त्यस्ता हर्कतको विरोध गर्नेमा मनमोहन अधिकारीमात्र देखिनु भयो । मनमोहनजीले त एकपटक मोहनबिक्रमलाई भन्नुभएछ, ‘के गरेको यतिसारो उग्रता ? आफ्ना भनाईले आफैंलाई आतंकित बनाउन थाल्यो भने के गर्नुहुन्छ ?’
उग्रवादी कम्युनिस्टहरूबाट हरेक भाषण वा लेखहरूमा उहाँको नामका अगाडि ‘काँग्रेसको पुच्छर’, ‘कम्युनिस्ट आन्दोलनको गद्धार’ जस्ता शब्दावली भिराएर हुर्मत लिने गरिन्थ्यो । तिनै व्यक्तिहरूका मुखबाट आजकाल पुष्पलालको बखान गरेको सुन्दा कुरीकुरी पनि लाग्छ ।
एमालेका वर्तमान सबै नेताहरू र माओवादीका कतिपय नेताहरूले बाचुञ्जेल घृणा र गाली गरिरहे । २०२५ सालमा तुलसीलाल श्रेष्ठले पुष्पलाललाई छोडे, २०२८ सालमा नारायणमान बिजुक्छे ‘रोहित’ ले छोडे । २०३३ सालमा तत्कालीन विद्यार्थी नेता मदन भण्डारीले पुष्पलाललाई छोडेर ‘मुक्ति मोर्चा समुह’ गठन गरे । तर उहाँले आफ्नो अडान छोड्नु भएन, जसलाई आजका कम्युनिस्ट नेताहरूले स्वीकार्न कर लाग्यो । उहाँको उपरोक्त वाणी, पुष्पलालका सच्चा अनुयायी कम्युनिस्ट नेता श्री लोकनारायण सुवेदीज्यूको फेसबुक वालबाट लिइएको हो ।
भारतमा निर्वासित हुँदा शैलजा आचार्यले जासुसहरूको चियोलाई छलेर बीपी र पुष्पलालका बीच वार्ताको आयोजना गरेका बेला वा बनारसको हरिश्चन्द्र कलेजमा आयोजित कार्यक्रमको भाषणमा पुषलालको समुपस्थितिमा, बीपीले भन्नुभएको थियो, “राजनीतिक कार्यक्रममा नेपाली काँग्रेसले लिएका सिद्धान्तलाई तपाईँले समर्थन गर्नुभयो भने तपाईँका आर्थिक–सामाजिक कार्यक्रमलाई म दशै औँलाले समर्थन गर्नेछु ।”
भारतको नयाँदिल्लीमा उहाँको निधन हुँदा पार्थिव शरीर स्वदेश ल्याउन दिने त कुरै छोडौँ पञ्चायती सत्ताले वाग्मतीमा अस्थि बिसर्जन गर्नमा समेत बन्देज लगाएको थियो ।

  

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्