SSI SSI
SSI SSI

जय नेपाल फ़ाउण्डेसनले “ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल” वेबिनार गर्दै 

शुक्रबार, असार १४, २०८१


सिड्नी ।  विश्वभर छरिएर रहेका नेपाली मुलका डेमोक्र्याट हरुको साझा सस्था जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भोलि (जुन २९ तारिख शनिवार)  “ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल” वेबिनार आयोजना गर्ने भएको छ । कार्यक्रमका बारेमा नेपाल न्यूज संग कुरागर्दै जय फाउन्डेशन अष्ट्रेलिया च्यापरका अध्यक्ष डा. डिल्ली बन्जाडेले वेबिनारमा अन लाईन एजुकेशनका बारेमा व्यापक छलफल हुने बताए । कोभिड १९ पछि अन लाईन एजुकेशनको महत्व ह्वात्तै बढेको बताउदै बन्जाडेले अष्ट्रेलियामा बसेर नेपालको शिक्षा कसरी लिन सकिन्छ भन्ने बिषयमा  छलफल हुने जानकारी दिए । 
 पछिल्लो समय विश्वव्यापी रुपमा खुल्ला बिश्वबिद्यालयको अवधारणा बढ्दै गएको र यसबाट नेपालले  कसरी फाइदा लिन सक्छ भन्ने बिषयमा यो कार्यक्रम गर्न लागिएको हो  ।


वेबिनारमा नेपाल खुला विश्वविद्यालयको उपकुलपति प्रा. शिलु मानन्धर बज्राचार्यले उच्च शिक्षा परिदृश्यलाई आकार दिन खुला शिक्षामा पहल र आविष्कारहरू: नेपालमा प्रवृत्ति र चुनौतीहरू” विषयमा कार्यपत्र पेश गर्ने छिन । त्यसैगरी युनिभर्सिटी अफ कुइन्सल्याण्डका डा. देवराज पौडेलले  खुला शिक्षा: कोभिड-१९ पछिका अवसरहरू´ बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्  । 

बेवनारका प्यानलिस्टहरुमा त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार डा. केदार रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेल, डा. हिमलाल घिमिरे र डा. प्रमोद ढकालले  बेवनारका प्यानलिस्टको भूमिका खेल्नेछन् ।
  फाउन्डेशनका नेपाल अध्यक्ष बद्री अर्यालले नेपालमा समन्वय गर्नेछन् भने वेबिनारलाई डा. राजु अधिकारीले संचालन गर्नेछन् । दुई बर्ष अगाडी अमेरिकामा दर्तागरि स्थापना भएको यो सस्थाले हरेक महिना जनचासोको बिषयमा वेबिनार गर्ने प्रयास गर्दै आएको छ । बन्जाडेका अनुसार बेलायत ,क्यानडा ,जापान र हंगकंगमा सस्थाको विस्तारका बारेमा छलफल चलिरहेको र छिट्टै नै कार्यसमिति गठन गरिने छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्