सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
२०४८ सालमा गिरिजाप्रसाद कोइरालालाई अप्रत्याशित रुपमा प्रधानमन्त्री पद प्राप्तिमा काँग्रेस संसदीय दलको नेता निर्विरोध निर्वाचित भएपछि गोधुलीको बेला उहाँले भन्नुभयो, “खै यो आईलाग्यो ! चलाउन सक्ने हुँ कि होइन.....!” गणेशमानजीले तुरुन्तै जवाफ दिनुभयो, “अब तपाईंले त्यसो भन्ने होइन । आमाको गर्भबाटै जानेर आएको को हुन्छ ? खुट्टा कमाउने काम छैन । पछाडि हामी पनि छौं ।” ०४८ को निर्वाचनताका, किसुनजी चुनाब जितेर प्रधानमन्त्री बनिहाल्नु हुन्छ, आफू उपप्रधानमन्त्री र गृहमन्त्री भएर देशब्यापी संगठन सुदृढ बनाउने सोचमा गिरिजाबाबु हुनुहुन्थ्यो । तत्कालीन नेकपा–एमालेका महासचिव मदन भण्डारीले काठमाडौं ५ नम्बरमा र किसुनजीविरुद्ध १ नम्बरमा उम्मेद्वारी दिएर उहाँलाई पराजित गरिदिएपछि गिरिजाबाबुले नचिताएको प्रधानमन्त्री पद आईलाग्यो । यो राजनीतिक परिस्थितिबारे व्यंग्य गर्दै भनिन्थ्यो, ‘गिरिजाप्रसाद प्रधानमन्त्री हुनुभएकोमा मदन भण्डारीलाई बधाई !’ पछि भण्डारीजीको निधन भएपछि संयोगवश यो कुरा झनै उजागर भएथ्यो । प्रधानमन्त्री बनेपछि गिरिजाबाबुले ‘एक व्यक्ति एक पद’ को सूत्र लागु गर्दै पार्टी महामन्त्री पदबाट राजिनामा दिनुभयो । त्यहाँसम्म ठीकै थियो । निर्वाचनमा पराजितलाई दोहोर्याएर लाभको पदमा नियुक्ति नदिने, तीनैजनाले सिफारिश पनि नगर्ने भन्ने नेता–त्रयको निर्णय भयो । तर त्यस्तैलाई भटाभट नियुक्ती दिन थालेपछि स्थिति बिग्रने गरी उध्रिन थाल्यो । ‘वचनका पक्का’ गणेशमानजीको असन्तुष्टि बढ्न थाल्यो । ९ जना राजदूत नियुक्त हुँदा जातीय सन्तुलन गुमाएर ८ जना ब्राम्हणलाई नियुक्त गरिएकोमा उहाँले विरोध जनाएकोलाई गणेशमान साम्प्रदायिक भए भन्नेसम्मको अफवाह फैलाउने काम पनि भयो । काँग्रेसको आन्तरिक कलह प्रमुख विपक्षी नेकपा–एमालेको चासोको विषय बन्नथाल्यो । ‘अरुण–३ परियोजनाबापत पाईने ३ अर्ब रुपैयाँको कमिशनको भागबण्डामा सत्ताधारी पार्टीभित्र कलह’ भनेर संसदभित्र र बाहिर उसले प्रचारवाजी मच्चाईदियो । प्रधानमन्त्रीको रुपमा गिरिजाबाबुको एकलौटी शैलीले सीमा नाघ्न थालेपछि स्थिति असामान्य हुँदै गयो । पुत्री सुजाता कोईरालाको राजनीतिमा महत्वाकांक्षा र क्रमशः प्रवेश गिरिजाबाबुलाई झगडाको आगोमा घिउ थप्ने जस्तो काम, महँगो र विवादास्पद बन्दैगयो । ‘धमिजा काण्ड’, भारतसँग अपारदर्शी टनकपुर सन्धीजस्ता हर्कतहरू देखापर्दै गए । यसैवीच पार्टी नेता तथा कृषिमन्त्री शैलजा आचार्यले, “म देखिरहेकी छु, प्रधानमन्त्री निवासदेखि सिंहदरबारसम्म जताततै भ्रष्टाचार व्याप्त छ....” भनेर बोलेको र बोली फिर्ता लिन नमानेर बरु राजिनामै दिएपछि गिरिजाबाबु झन् प्रतिरक्षात्मक र एक्लो पर्दैजान थाल्नुभयो । एमाले महासचिव मदन भण्डारीको ०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएपछि उहाँको रिक्त निर्वाचन क्षेत्रमा चुनाब लड्ने किसुनजीको निर्णयपछि गिरिजाबाबुको प्रधानमन्त्री पद धरापमा र पार्टीको कलह पराकाष्ठामा पुग्यो । निर्वाचनमा अन्तर्घात गरेको भनी उत्पन्न विवाद र सरकार समर्थक ७६ सांसदको हस्ताक्षरले ३६ समुहको जवाफी गुट उत्पन्न गरायो । आखिर ३६ समुहको कारण पार्टीसँग सल्लाह नै नगरी र संसदीय दलको बैठक बोलाएर समस्या समाधान गरे भईहाल्ने उपायविपरीत बहुमत हुँदाछँदाको काँग्रेसलाई मध्यावधि निर्वाचन र संसद विघटनमा जाक्ने काममात्र भएन, प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्यो कि ‘मध्यावधि हानिहाल्ने’ परम्परा बसालियो । यसमाथि प्र.म. कोइरालाले पार्टी फुटाउने तयारी समेत गरी महामन्त्री भूबिक्रम नेम्वाङको सभापतित्वमा राजधानीको प्रज्ञा भवनमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको भेला किसुनजीको उपस्थिति र मानापमान सहेर पार्टी फुटाउनबाट जोगाएको महत्वपूर्ण प्रसंग दाई श्री खिलध्वज थापाले थप्न सुझाउनु भयो । निर्वाचनमा काँग्रेस हारेर प्रतिपक्षमा पुग्यो । एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले त्यसैगरी मध्यावधि निर्वाचन घोषणा गर्दा सर्बोच्च अदालतले मध्यावधि चुनाब असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि २०५२ मा देखापरेका सत्ता कलह र संसदीय राजनीतिमा फोहोरी खेलको लज्जास्पद गतिविधि, सांसद किनबेच र होटेलमा क्वारेन्टाईनजस्ता अनेकौं हर्कत भए । संसदीय व्यवस्था त्यहींबाट ओरालो लाग्यो । दोष नेताहरूको थियो, तर गाली संसदीय व्यवस्थाले पायो । यसैलाई देखाएर पनि माओवादी विद्रोहको श्रीगणेश भयो । २०५४ सालमा गणेशमानजीको निधन भएको ३ महिना बित्दा नबित्दै किसुनजी र गिरिजाबाबुबीच गोदाबरी रिसोर्टमा बसेर पार्टीको लेटर हेडमा जुन लिखित सम्झौता भयो, आज संस्थागत भएको गुटबन्दी त्यसैको विरासत हो । सत्य बोल्नुपर्छ, दुई नेताको गम्भीर गल्ती हो यो । माओवादीलाई ठेगान लगाउन संकटकाल घोषणा गरी सेना परिचालन गर्ने कि राजनीतिक वार्ताको माध्यम समाधान गर्ने भन्ने अस्थिर नीतिको फलस्वरुप पार्टी निर्देशनलाई अवज्ञा गरेको भनी साधारण सदस्यताबाट समेत निष्काशित गरिएका प्रधानमन्त्री शेरबहादुर देउबाले त २०५९ असारमा मा काँग्रेस नै फोरेर दुईफ्याक बनाईदिए । दु:खका साथ भन्नुपरेको छ, आज कांग्रेसको सर्वोच्च नेतृत्व पार्टी फुटाउने आफ्नो यही अपरिवर्तित मानसिकताबाट परिचालित देखिन्छ । शेरबहादुर पदीय रुपमा नेपाली कांग्रेसको सभापति हुन् तर व्यावहारिक राजनीति, नीतिगत कसी र पार्टीको आदर्श र संस्कारको कसीमा हेर्दा यिनी कांग्रेस होइनन् । कांग्रेसको लागि यिनले विगतमा जति दु:ख गरेका थिए, त्यसको सयौंगुणा लाभ असुल गरिसकेका छन् । त्यसबेलादेखि यता ‘सिद्धान्त र नैतिकताको राजनीतिको विसर्जन यात्रा’ देउवा नेतृत्वले मनोयोगका साथ चालु राखेको छ । गणेशमानजीका असन्तुष्टिको बिऊ र कुराको चुरो जे भनौं, यति हो ।
(चन्द्रमणि गौतमको फेसबुक वालबाट साभार )