SSI SSI
SSI SSI

सिड्नीमा सम्पन्न " महजात्रा " ले सबैको मन जित्यो 

मंगलबार, जेठ २२, २०८१


सिड्नी । नेपालका चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको कलाकारहरुले यहि जुन २ तारिख आइतवार साँझ सिड्नीको अत्याधुनिक सुविधासम्पन्न  स्टेट थिएटरमा "महजात्रा" प्रस्तुत गरे । करिव १ दशक पछि सिड्नीको रङ्गमंचमा देखिएका एकसाथ देखिएका मह जोडीको प्रस्तुतिबाट सहभागी दर्शकहरुले भरपुर मनोरंजन लिए ।

बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रस्तुती सुरु गर्नुअघि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा व्यक्त अभिव्यक्तिले दर्शक दीर्घामा एकछिन सन्नाटा छायो । उनले भने - म उमेरले पनि बुढो भए त्यसमाथी पार्किन्सनको बिरामी , खुट्टा अगाडी बढाउन गाह्रो छ  ,त्यै पनि यहाँहरुको आशिर्वाद र मायाँले गर्दा साहस बटुलेर यहाँसम्म आईपुगेको छु । यहाँहरुको मायाँ र हौसलाप्रती सदैव आभारी रहने छु । बाह्र बर्षमा खोला फर्किन्छ भन्छन् अबको २ बर्षपछि पनि आउन सक्छु कि भन्दा दर्शक दीर्घाबाट गुञ्जिएको यू आर लिजेण्ट , यू आर इन आओर हार्ट भनेर आ आफ्नो स्थानबाट उठेर उनिप्रति सम्मान व्यक्त गरिएको थियो । आफ्नो प्रस्तुतिका क्रममा उनले " एउटा सपना छ" , 'फ़ुलबुट्टे सारी सपक्क पारी " बोलका गीतहरु प्रस्तुत गरे , उनको प्रस्तुतिलाई दर्शकहरुले साथमा साथ दिएका थिए ।


"महजात्रा "मा मह संचारद्वारा तयार पारिएको "होल बडी चेक " हाँस्यव्यंग्य प्रस्तुत गरिएको थियो । नेपालको स्वास्थ्य क्षेत्रको बेथितिलाई जस्ताको तस्तै गरि उतारिएको उक्त हाँस्यव्यंग्यमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य ,किरण केसी ’राता मकै’, नरेन्द्र कंसाकार लगायतका कलाकारको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा  हरिबंस आचार्य र किरण केसी ’राता मकैले विभिन्न प्रहसन देखाएका थिए भने गायीका कुन्ती मोक्तान र शीलाबहादुर मोक्तानले विभिन्न नयाँ तथा पुराना गीतहरु गाएका थिए ।

कार्यक्रमको प्रारम्भमा महेश प्रसाइले स्वागत गीत गाएका थिए भने स्थानिय कलाकारहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलले हरेक नेपालीको हृदयमा बास बस्न सफल " मह "जोडीको टिमलाई अष्ट्रेलियामा स्वागत गर्न पाउदा खुशी लागेको बताउदै नेपालको हरेक कालखण्डमा आफ्नो कला मार्फत् जनचेतना जगाउन मह जोडीले बिशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गरे ।

कार्यक्रममा  एक्सपर्ट एजुकेशनका ग्लोबल डाईरेक्टर बद्रि अर्यालले प्रवासमा नेपाली कला सस्कृतिको सम्बर्धनमा यस्ता कार्यक्रमले बिशेस महत्व राख्ने बताउदै यस्ता खालका कार्यक्रमलाई आफुहरुको सदैव साथ र सहयोग रहने प्रस्ट पारे । एभरेष्ट ट्राभल्सका कार्यकारी प्रमुख ईर्साद अहमदले नेपालका बरिस्ठ कलाकारहरुलाई अष्ट्रेलिया र न्युजिल्याण्ड टुरको एक हिस्सा बन्न पाएकोमा गर्वको महशुस  भएको बताउदै यस्ता खालका कार्यक्रम मार्फत् बरिस्ठ कलाकारहरुको सम्मान गर्न पाएको उल्लेख गरे ।

ड्रिम हाइट्सका पासांग शेर्पाले टिमका सबै साथीहरु ,समुदायका अग्रज र संघ सस्थाहरुको साथ र सहयोगबाट नै कार्यक्रम गर्न सकिएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यक्रम लिएर नेपाली समुदाय माझ आउने जानकारी दिए । सो अवसरमा आयोजक मध्येका कपिल सिम्खडा र कर्मा शेराप गुरुँगले कार्यक्रममा सहभागी दर्शकहरुलाई हार्दिक स्वागत गर्दै आभार व्यक्त गरेका थिए । 


 ड्रिम हाइट्स इभेण्टको आयोजना तथा मार्कक्यू होम्स र एभरेष्ट ट्राभलको संयोजनमा सम्पन्न सो ऐतिहासिक कार्यक्रमलाई भब्य र सभ्य बनाउन ड्रिम हाइट्सका पासांग शेर्पा ,कपिल सिम्खडा ,कर्मा शेराप गुरुँग ,पंकज खड्का अनुप शाही ठकुरी ,हार्दिक भट्टराई ,शैलेश गुरुँग ,बिशेस उपाध्याय तथा मार्कक्यू होम्स र एभरेष्ट ट्राभलका ईर्साद अहमद र अनिश अहमदले खेलेको भूमिका र पुर्याएको योगदान सम्झनयोग्य रहेको छ । साँझ ६.३० बजेदेखि सुरु भएको सो कार्यक्रम राति १० बजेसम्म संचालन भएको थियो । 
१९ सय ५० दर्शक क्षमताको सो हलमा पहिलो पटक नेपाली कलाकारहरुले आफ्नो कलाकारिताको प्रस्तुति दिएका हुन् । मह जोडीको प्रस्तुतु हेर्नको लागि सिड्नीको अलावा मेलबर्न देखि पनि दर्शक आएका थिए । सबै उमेर समुहका दर्शकहरुको सहभागिताले खचाखच भरिएको स्टेट थिएटरको सो कार्यक्रमको संचालन मदन कोइरालाले गरेका थिए । 


 नेपालका चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको कलाकारको टोली आफ्नो हाँस्यव्यंग्य प्रस्तुतिको कार्यक्रम लिएर यतिखेर अष्ट्रेलिया र न्युजिल्यान्डको टुरमा छ । करिव १० वर्षपछि अष्ट्रेलियाको टुरमा रहेको यसपटकको महजात्राका टोलीमा  कलाकार किरण केसी ’राता मकै’,कुन्ति मोक्तान र नरेन्द्र कंसाकारले सिड्नी पछि अब एडिलेडमा यहि जुन ७ तारिख ,मेलबर्नमा जुन ८ तारिख ,न्युजिल्याण्डको अकल्याण्डमा जुन १५ र क्राईसचर्चमा जुन २२ मा आफ्नो प्रस्तुती दिनेछन् । 
यसअघि अन्तरास्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको आयोजनामा पर्थमा " मह जात्रा " मे २५ तारिख शनिवार  ३५ स्टिर्लिङ्ग हाइवे क्रावेली स्थित ओटागन थिएटरमा भब्य र सभ्य रुपमा सम्पन्न भयो । पर्थ स्थित मंगेसी अर्ली लर्निङ्गको  सहकार्यमा सम्पन्न सो कार्यक्रममा ठुलो संख्यामा नेपालीहरुको सहभागिता रहेको थियो । उपस्थितजनले मह जोडीको प्रस्तुतिबाट भरपुर मनोरंजन लिएका थिए ।  त्यसैगरी  क्यानाबेराको कमनवेल्थ एभ स्थित अल्बर्ट हलमा "मे २९ तारिख बुधवार सम्पन्न "मह जात्रा' मा महजोडी मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य सहित महजात्राको टिमले अष्ट्रेलियाको राज़धानीमा  बिशेष प्रदर्शन गर्यो । प्रवासमा नेपाली भाषा, संस्कृती र कलाकारीताको प्रवर्धनका लागी यस्ता कार्यक्रमहरूको बिशेष भूमिका रहन्छ । क्यानाबेराको कार्यक्रममा पनि ठुलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।   


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्