सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
महात्मा गान्धीका पक्का अनुयायी, ‘अफगान फकिर’ ‘सीमान्त गान्धी’, ‘बादशाह खान’, ‘बच्चा खान’ जस्ता उपनामले श्रद्धापूर्वक पुकारिएका खान अब्दुल गफ्फार खान (१८९०–१९८८) भारतको सर्बोच्च सम्मान ‘भारत रत्न’ पाउने (१९८७) पहिलो गैरभारतीय थिए । पाकिस्तान तथा अफगानिस्तानको इलाका (पख्तुन प्रदेश) मा अहिंसाको प्रभाव फैलाउनमा उनको असाधारण योगदानबाट महात्मा गान्धी पनि एकदमै प्रभावित भएका थिए ।
भारतीय स्वतन्त्रता आन्दोलनमा उनको योगदान अतुलनीय थियो । उनले आफ्नो प्रभावको पख्तून क्षेत्रमा ‘खुदाई खिदमतगार’ (फारसी भाषामा ‘ईश्वर निर्मित संसारका सेवक’) संगठन बनाएर काम गरे । पठान जाति जन्मजात लडाकू तथा हिंसात्मक स्वभावका हुने भए पनि सिमान्त गान्धीले उनीहरूमा शान्ति, अहिंसा र सेवाको भावना जागृत गराए । स्वतन्त्रतापछिको भारत–पाकिस्तान विभाजनप्रति उनको स्पष्ट विमति थियो ।
खान अब्दुल गफ्फार खानले छुट्टै पख्तून देश (पख्तूनिस्तान) बनाउने पक्षमा वकालत गरे । भारतमा केही वर्षदेखि उनका एक अनुयायी फैसल खानले उनको सेवा संगठन खुदाई खिदमतगारलाई पुनर्गठन गर्ने कोशिश गरिरहेका छन् । बलिउड सिनेमाका एक चर्चित चरित्र अभिनेता ए.के. (अवतार किसन,१९१४ –२०१२) हंगल पनि कुनै जमानामा खुदाई खिदमतगारमा आबद्ध थिए ।
अँग्रेजी मिशनरी स्कूलमा पढेका, १९२९ मा गान्धीसँग पहिलोपटक भेट भएदेखि सिमान्त गान्धीकै रुपमा हिंडेका, सम्पत्तीका नाममा एउटा कम्बल सँधै बोकी हिंड्ने यी फकिरलाई पाकिस्तानले सँधै पृथकतावादीको रुपमा चिन्ने गर्यो । कयौँपटक उनी पक्राउ भए, जेल परे। तर आफ्नो यात्राबाट कहिल्यै विचलित भएनन् ।
उनले आत्मसंस्मरण पनि लेखेका छन् My Life and Struggle (फोटो) । उनका छोराहरू सबै प्रतिष्ठित कार्यमा लागे । जेठा छोरा गानी खान कवि, माईला छोरा खान अब्दुल वली खान पाकिस्तानी संसदमा विपक्षी दल (आवामी पार्टी) का नेता साईँला छोरा खान अब्दुल अली खान प्रख्यात शिक्षाविद् तथा पेशावर विश्वविद्यालयका उपकुलपति पनि भए ।
सिमान्त गान्धीको निधन पाकिस्तानको पेशावरस्थित आफ्नै निवासमा नजरबन्दको अवस्थामा भयो । उनको सबयात्रामा दुई लाख मानिस जम्मा भएका थिए । शवयात्रा पेशावरबाट शुरू गरेर अफगानिस्तानको जलालावादमा अन्त्येष्टी गरिएको थियो, कारण पख्तूनहरूको जातीय एकता र पख्तून स्वतन्त्रताको सांकेतिक कार्यको रुपमा ।
उनको माथिको भनाई जारिफ अदिलको जनबरी २८, २००६ को भनाईलाई द डेली टाईम्स्ले प्रकाशित गरेको मेरो निजी नोट हो :
"Only a dead nation remembers its heroes when they die. Real nations respect them when they are alive."