SSI SSI
SSI SSI

विश्वको सर्वोच्च शिखर सगरमाथाबारे रोचक टिपोट

बुधबार, जेठ १६, २०८१

सगरमाथालाई चीनको जबरजस्त दावीका बीच नेपालको स्वामित्वमा ल्याउने कार्य २०१७ बैशाखमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीन भ्रमणपछि चिनिया प्रधानमन्त्री चाउ एन–लाईको नेपाल भ्रमणको क्रममा टुङ्ग्याए । त्यो बेला चिनिया सञ्चार माध्यमहरूले आफ्नो स्वामित्वलाई लिएर उत्पात प्रचारबाजी गरिरहेका थिए ।
‘पेकिङ्मा पानी पर्दा काठमाडौंमा छाता ओड्ने’ खालको प्रवृत्तिका कतिपय कम्युनिस्ट नेताहरू सगरमाथाको स्वामित्वबारे चीन रिसाउला भनेझैं जिब्रो चपाएर बोल्ने गर्दथे । उदाहरणको लागि तत्कालीन महासभा (हालको राष्ट्रियसभा जस्तो) मा २९ चैत २०१६ को दिन भाषण गर्दै ने.क.पा.का नेता (सांसद) शम्भुराम श्रेष्ठ (वि.स.१९८१–२०६२) ले भनेका थिए, “....सगरमाथा हाम्रै हो भनी ठोकेर भन्न सक्तिन । दुवै सरकारको आपसी छलफलबाट जसको प्रमाण बलियो निस्कन्छ त्यसैको हो” (नेपालको राजनीतिक दर्पण, दोस्रो भाग, पृ. ४०७, २०३६ संस्करण) ।
सगरमाथाका पहिलो आरोही जर्ज मेलोरी (१८८६–१९२४) हुन् भन्ने कुरामा पहिलो सफल आरोही एड्मन्ड हिलरी (१९१४–२००८) पनि यकिन भएको बुझिन्छ । त्यसैले मेलोरीलाई प्रथम आरोही हुनबाट निषेध गर्न यो भनाई राखेका हुन्, ता कि आफूले पाएको पहिलो सगरमाथा आरोही नगुमोस् ‘.....सफलता भनेको शिखरमा पुग्नु मात्र होइन; त्यत्तिकै महत्वपूर्ण त सुरक्षित रहेको सुनिश्चितता, कुशलैसाथ झर्नु र घर आईपुग्नु हो...।’
एभरेस्ट नामकरण (१८६५) हुनुअघि सगरमाथालाई ‘बी–टु’ (B-2) तथा ‘पिक–फिप्टिन' (Peak-15)भनिन्थ्यो । स्थानीय बोलीचालीको नामलाई नै स्वीकृति दिने प्रकृयाको लागि तत्कालीन राणा शासनले सगरमाथा क्षेत्रमा प्रवेश नदिएकोले यो नाम राखियो । इतिहास शिरोमणि बाबुराम आचार्यले वि.सं. २०१२ मा यसको ‘सगरमाथा’ नामकरण गरेका हुन् । धर्मशास्त्रमा यसको नाम ‘नौबन्धन’ उल्लेख छ, “नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्ग हिमवतस्तदा । तच्च नौबन्धनं नाम श्रृङ्गा हिमवतः परम् ।।” (मत्स्य पुराण, माकृण्डेय ऋषिले वैवस्वत मनुलाई बताएको, र महाभारत, वन पर्व, १८७ अध्याय) ।


न्युजिल्याण्डका नागरिक एड्मन्ड हिलरी (१९१९-२००८) सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक थिए। हाईस्कूलको अनिवार्य अँग्रेजी (पुरानो पाठ्यक्रम) गद्यमा हिलरी र तेन्जीङ् नोर्गे शेर्पाको संयुक्त लेखनको एउटा अध्याय पढ्नुपथ्यो, ‘सपना साकार हुन्छ’ (द ड्रिम्स कम्स् ट्रु) । सोही अध्यायबाट हिलरीसँग मेरो एकतर्फी दूर–चिनारी भएको हो। शुक्रबार, १६ जेठ २०१० (१९५३ मे २९) मा उनले तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरे। (आरोहणको दिन २९ मई, नेपाली पात्रोमा जेठ १६ गते देखिन्छ ।)
सगरमाथाको सफल आरोहणपछि एडमन्डले हिमाली क्षेत्रको सेवा गर्न हिमालयन ट्रष्ट स्थापना गरे। सगरमाथा क्षेत्र र शेर्पा जातिको विकासका लागि हिलरीले विश्वब्यापी चन्दा अभियान चलाएर धेरै विकास गरेका छन् । नेपाललाई औधी माया गर्ने विदेशीमध्येमा यिनको नाम बिर्सन सकिन्न ।
‘पायोनियर’ पत्रिकामा जर्मन हिन्दूवादी अभियन्ता कोईनराद एल्स्त (Koenraad Elst-1965) सँगको एक भेटवार्ता (९ नोभेम्बर १९९०) मा उनले खुलस्त भनेका छन्, “म हिन्दू बनें । म हिन्दू आस्थाको एकदम नजिक थिएँ । यो एक महान आध्यात्मिक अनुभव थियो ।.... मलाई के विश्वास लाग्छ भने मानिसले आफ्नै कर्म र प्रयत्नले आफ्नो भाग्य बनाउन सक्छ” ।
(I became a Hindu. I was very close to the Hindu ethic. It was a great spiritual experience. ... I believe a man can make his own destiny through his work and effort.)
एडमन्डकी पहिली पत्नी लुइ मेरी रोजको सानो विमान दुर्घटनामा नेपालमै सन् १९७५ मा निधन भएको हो। लुइका तीन सन्तान पिटर हिलारी, सराह हिलारी र बेनिन्दा हिलारी हुन्। लुइको निधनपछि लामो समय एक्लै बसेका एडमन्डले सन् १९८९ मा जुन मुलग्रिउसँग दोस्रो विवाह गरेका थिए।
ग्रेट क्लाईम्ब्स् ए सेलेब्रेसन अफ वल्र्ड माउन्टेनियरीङ् (१९९४) मा सर क्रिस बोनिङ्टनले उनको माथिको भनाई उद्धृत गरेका छन्, "Success doesn't mean only reaching the summit; it is equally important to ensure safe and successful descend and coming back home" । २००८ जनवरी ११ मा एडमन्डको निधन भयो ।


तेन्जिङ, हिलरी र आरोहण दलका सदस्यहरू राजा त्रिभुवन सँग ।

 माउन्ट एभरेस्ट लाई नेपाली नामकरण गर्ने इतिहास शिरोमणि बाबुराम आचार्य (वि.स.१९४४-२०२९) ।


बी.पी. र गणेशमान दायाँबायाँ, तेन्जिङ बीचमा

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्