SSI SSI
SSI SSI

बडा दशैँमा मेलबर्नमा सप्ताह महापुराण हुने 

अष्ट्रेलियाको मेलबर्नमा १० हजार नेपालीले आफ्नै बहुसांस्कृतिक केन्द्रमा दशैं मनाउने

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न वरपर बसोबास गर्ने नेपालीले आउँदो बडा दसैं आफ्नै सामुदायिक भवनमा विशेष उल्लासका साथ मनाउने भएका छन्।

स्थानीय नेपालीको विशेष सक्रियता, योगदान र सहयोगबाट हालै निर्माण गरिएको उक्त  नेपाली बहुसांस्कृतिक केन्द्रमा  पण्डित दिनबन्धु पोखरेलको नेतृत्वमा दशैंको नवरात्रीभर नवाह ज्ञान महायज्ञ हुनेछ।

आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म  हुने सो धार्मिक अनुष्ठानमा १० हजारभन्दा बढी भिक्टोरियावासी नेपालीले सहभागिता हुने अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) का अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए।

शनिबार एएनएमसी परिसरमा आयोजित पत्रकार सम्मेलनमा बडा दशैंको दिन मन्दिरमै मान्यजनको हातबाट टिका जमरा लगाउने व्यवस्था मिलाइएको र जमरा वितरणको कार्यलाई निरन्तरता दिइने भट्टराईले जानकारी दिए।

नेपाल न्यूजसँग कुरागर्दै अध्यक्ष भट्टराईले संस्थाले नेपाली पर्व ,परम्परा र संस्कृतिको जगेर्ना गर्दै यसको बारेमा नयाँ पुस्तालाई सकेसम्म धेरै जानकारी गराउन क्रियाशील रहने बताए।

उनले सांस्कृतिक केन्द्र स्थापना र सञ्चालनको लागि यहाँको नेपाली समुदाय संघ संस्था र परोपकारी मनले गरेको सहयोग र दिएको साथले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे। 

मेलबर्न सप्ताहको दोस्रो संस्करणको मुख्य उद्देश्य कम्तिमा एक पटक भए पनि भिक्टोरियाबासी नेपालीहरू आफ्नै मन्दिर परिसरमा आउन् भन्ने रहेको संस्थाले जनाएको छ।

१५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने र  अन्य दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथावाचन गरिनेछ। आरती हरेक दिन साँझ ७ः३० बजे हुनेछ। 

विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित महायज्ञको समापन गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ।

भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सीसीटिभी लगायतको जडान गरिसकिएको छ।

केही समयअघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको थियो । यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसमा ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ ।

करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रको वृहद गुरुयोजना अन्तर्गत यसलाई मर्मत, निर्माण गरिएको हो । भिक्टोरिया राज्य सरकारले गत वर्ष मात्रै करिब ६ लाख अष्ट्रेलियन डलर अनुदान थियो।

 पत्रकार सम्मेलनमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका सचिव डा. तिलक पोखरेल, सहकोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेल ,सहसचिव शैलेश घिमिरे ,अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपले सम्पन्न गर्न सबैको  सहयोग हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्