SSI SSI
SSI SSI

अन्तराष्ट्रिय  नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा स्वतन्त्र प्रताप शाह चयन 

बिहीबार, जेठ ३, २०८१


 सिड्नी । विश्वभर छरिएर रहेका नेपाली मुलका उद्यमीहरुको सशक्तिकरण गरि उनीहरुलाई विभिन्न सञ्जालमा आबद्ध गराउदै उनीहरुको क्षमता विकास गर्ने र  विभिन्न सम्मेलनमार्फत विचार आदानप्रदान गर्ने उद्देश्यले सन् २०२१ डिसेम्बरमा स्थापना भएको अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघको प्रथम अधिवेशन  यहि मे ११ तारिखमा सम्पन्न भएको छ । अधिवेशनले अष्ट्रेलियाका युवा उद्यमी स्वतन्त्र प्रताप शाहको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । अधिवेशनले  वरिष्ठ उपाध्यक्षमा हङकङका गोकर्ण ढकाललाई चयन गर्यो भने , उपाध्यक्षहरुमा अमेरिकाका प्रकाश थापा , अष्ट्रेलियाका समिम अनवर र ,डिला खरेल, दुवईका रमेश श्रेष्ठ , कतारका पूर्ण पोखरिया र हङकङका आकाश बन्जरालाई चयन गरेको छ । त्यसैगरी सस्थाको महासचिवमा दिपेन घले (हङकङ), सचिवहरुमा प्रदीप न्यौपाने (चीन), कुमार कार्की (साउदी अरेबिया), कोषाध्यक्षमा उषा गुरुङ (अष्ट्रेलिया), सह–कोषाध्यक्षमा ओम ज्ञवाली (चीन), प्रवक्तामा शम्भु कँडेल (अष्ट्रेलिया) लाई चयन गरेको छ । 


साधारणसभाले सस्थाको कार्यकारी सदस्यहरुमा रजनीश भट्टराई (हङकङ), मनिषा श्रेष्ठ डंगोल (बेलायत), अमर सापकोटा (कतार),  विकास दाहाल (कतार), एमके पौडेल (अमेरिका), निराजन खत्री (दुवई)  र थकरबहादुर कार्की (दुवई) लाई चयन गरेको छ । 
 साधारणसभाले एसिया प्यासिफिकको क्षेत्रीय अध्यक्षमा रुस्तम श्रेष्ठ (मकाउ), यूरोप क्षेत्रीय अध्यक्षमा राजेन्द्र कँडेल (स्पेन), मध्यपूर्व क्षेत्रीय अध्यक्षमा विकास शाही (दुवई), र उत्तर अमेरिका क्षेत्रीय अध्यक्षमा रोशन बुढाथोकी (अमेरिका)लाई निर्वाचित गरेको छ ।
 महासंघले सन् २०२३ मा  अन्तर्राष्ट्रिय उद्यमी समिट आयोजना गरेर छरिएर रहेका प्रवासी युवा उद्यमीहरुलाई एकै स्थानमा समेट्ने प्रयास गर्यो । नेपाल न्यूज संग कुरा गर्दै अध्यक्ष स्वतन्त्र प्रताप शाहले  महासंघले नेपाल र प्रवासी नेपाली ब्यबसायीको सम्बन्धमार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विशेष गरी विदेशमा रहेको नेपाली व्यवसायीहरुसँगको सम्बन्ध विस्तार गर्ने, व्यापार व्यवसाय बढाउने, विचार आदानप्रदान गर्ने, नेपालमा लगानीका सम्भावना पहिचान र सहजीकरण गर्ने लगायतका उद्देश्य लिएको बताए । उनले  विभिन्न व्यावसायिक सञ्जालमार्फत सल्लाह तथा परामर्श प्रदान गरि  स्टार्टअप संस्कृतिको सुरुआत गर्दै नेपाल र अन्तर्र्राष्ट्रिय  स्तरमा रहेका उद्यमिहरुलाई प्रोत्साहन  गर्दै लगानीको अवसर समेत सिर्जना गर्ने तर्फ सस्था लागिपर्ने उल्लेख गरे । 
विभिन्न संघ तथा संस्थासँगको सहकार्यमा काम गर्दै आएको महासंघले माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई युवा उद्यमीसँग सम्बन्धित जानकारी समेत उपलब्ध गराउँदै आएको छ । त्यसका साथै महासंघले नेपाली वस्तुको विश्वव्यापीरुपमा प्रचारप्रसार  समेत  गर्दै आएको छ । नया कार्यसमितिले आगामी सन् २०२५ भित्र थप २० देशमा आफ्नो सञ्जाल विस्तार गर्ने जनाएको छ । हाल महासंघले १० वटा देश अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, हङकङ, मध्यपूर्व,  मकाउ र क्यानडा लगायतका दश मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्