सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सधै हसिलो, रसिलो, रमाइलो, अनुसाशित, इमान्दार, नैतिकवान, सकारात्मक चिन्तन भएको बौद्धिक एक असल, कर्मशिल, गतिशिल, स्वाभिमानि, निडर, देशभक्त, साहित्यप्रेमि पिताको छोरी हॅु भन्दा यो छाति गर्वले सगरमाथा झै उच्च हुने गर्छ । अरूका बा झै मेरा बा ले भनेजति समय परिवारलाई दिन सक्नु भएन तर जति समय पायौ त्यो समय बहुमूल्य थियो, महत्वपूर्ण रह्यो । जति समय बितायौ एउटा विश्व विधालयमा नपाइने ज्ञान बुवाबाट पायौ । हरेक पल पल महत्वपूर्ण रूपले बित्यो । देशका ठूलाठूला नेताहरू देखि साहित्यका वरिष्ठ हस्तिहरू लाई नजिकबाट देख्न बुझ्न पायौ । छातिमा देश र नेपाली भाषा, साहित्य बोकेर हिड्ने एक महान व्यक्तिको छोरी हुन पाउनु गर्वको कुरा हो ।
बुबाको बारे जति लेखे पनि अपुरो अधुरो हुन्छ । बुवाबाट मैले जिवनको महत्व बुझ्न पाए, सघर्ष के हो सिक्न पाए, अनुशासन, आदर, प्रेम, इमानदारिता, माटोको महत्व, भाषाको प्रेम साथै साहित्य बुझ्न पाऍ । बुवामा ज्ञानको भण्डार थियो तर रत्तिभर घमण्ड थिएन । आफु रित्तिएर अरूलाई भर्न सिकाउनुहुन्थियो । साना ठूला सबैलाई समाना दृष्टिले हेर्ने नरममा अति नरम गरममा अति गरम स्वभाव थियो । अनैतिकता बैमानि पट्टकै नरूचाउने एक आर्दशवान व्यक्ति जसले इमान्दारिताको वकलता गर्न आफ्नै पिताजि (मेरो हजुरबा) सॅग पनि विद्रोह गरेर १३ वर्षको उमेरमा घर त्याग्नु परेको कथा बेला बेला सुनाएर हामिलाई नैतिकता र इमानदारिताको पाठ सिकाउनुहुन्थियो । साथै बुवाले भनेका उपदेशहरू ( घोडा चड्ने लाड्छ, लड्दै नलडे कहॅा सिकिन्छ र, कर्म नै भगवान हो, सब कुरा हारे पनि हौसला नहार्नु, इमान कहिले नबेच्नु, काम सानो ठूलो कहिल्यै हुदैन कर्मठ बन्नु, अन्याय नसहनु र नगर्नु पनि, मान्छे चिन्नु नचिनाउनु….) यि शब्दहरूले हरेक दिन मलाई जीवन जिउन सिकारहेछ ।
उहॅा मेरो मात्र बा नभएर धेरै जनाको अभिभावक हुनुहुन्थियो । धेरै व्यक्तिको प्रेरणाको स्रोत हुनुहुन्थियो , त्यसैले त आजसम्म पनि सबैले उहॅालाई सम्मान गरि भवानि दाई भनि सद्धा गर्नुहुन्छ अनि हामिलाई भवानि दाईको छोरी हाम्रो पनि छोरी नै हौ भनि हौसला, माया र सद्भाव देखाउनु हुन्छ । त्यसैले मलाई अहिले कुनै गुनासो छैन बुवा हजुरले हामिलाई धेरै समय दिइसेन भनेर उ बेलामा हजुर सबैको अभिभावक बनि देशप्रेम र साहित्य प्रेममा लाग्नुभयो , अहिले हजुरकै देनले गरेर मैले धेरै अभिभावक पाएकि छु । बुवाको संर्घष र जिम्मेवारि बुझ्न नपाउदै बुवाले यस धर्तिबाट सदाको लागि बिदा लिनुभयो , जुन बेला म २४ वर्षको मात्र थिए, हामि पाचॅ छोरी सबै अपरिपक्क उमेरका थियौ । उमेरको कच्चापनको कारण बुवाको सघर्षको यात्रामा चाहे जति साथ दिन सकेका थिएनौ तर पनि हामि सबै परिवार मिलेर जति सक्दो बुवालाई सघाउथौ । हामि दिदीबहिनीहरू आमा सबै मिलि दिनभर भानु पत्रिकालाई पोष्ट गर्न भनि बन्डल बनाउने, टिकट टास्ने, हुलाक गर्ने, स्कूल कलेजहरूमा भानुका विशेषाक बोकेर जाने आदि इत्यादि काम बुवाको निर्देशनमा गर्थ्यौ । तर बुवाको स्वर्गारोहण पछि बुवाको विरासत समाल्ने परिपक्ता भने हामि छोरीहरूसॅग थिएन तर यो विरासतलाई आजको दिनसम्म रामप्रसाद ज्ञनालीको नेतृत्वमा भानु परिवारद्वारा सम्हालिदै आएकोमा हामि सधै आभारी छौ र यो साथ सहयोग, मायाको अपेक्षा सधै गरिरहने छौ ।
सम्झिदा पनि चकित हुन्छु यति ठूलो जिम्मेवारी बुवाले एक्लै कसरि सम्हाल्नु भएको थियो साच्चै बुवामा अद्भुत क्षमता थियो । यत्रो जिम्मेवारीको भारी कसरि सम्हाल्नु भयो होला त्यसैले बुबालाई सम्झिदा मात्र पनि म भित्र ठूलो आँट र हिम्मत भरिन्छ । मलाई सम्झना भएबाट हो बुवा दमको रोगि हुनुहुन्थियो गोजिमा सधै कृतिम अक्सिजनको पाइप बोकेर हिड्नुहुन्थियो , तर कुनै दिन म बिरामि छु आराम गर्छु भनेको सुनेनौ, १०३ डिग्रि ज्वारो आउदा पनि बुवाले जिवनमा आराम गरेको दिन मलाई थाहा नै छैन । बुवाको मुख सधै उज्यालो, हसिलो उर्जावान नै भइरहन्थियो । जुरूक्क उड्यो एउटा झोलामा भानुका केहि नयॅा अंकहरू हाल्यो , झोला भिर्यो अनि कर्म गर्न हिड्यो । यहि दिनचर्या थियो । तर साहित्यिक कार्यक्रम भयो भने चाहि हामिलाई साथमा हिड्न प्रेरित गर्नुहुन्थ्यो । मलाई अझै पनि सम्झना आउछ बुवासॅग साहित्यिक कार्यक्रममा गएको । मेरो लेखनको पहिलो गुरू भनौ वा हौसला, प्रेरणा बुवा नै हुनुहुन्थियो । बुवाको जीवन अति नै व्यस्त थियो तर पनि बेला बेला सोध्नुहुन्थियो “बेटा तिमीले नयॅा के लेख्यौ सुनाउ त” । सारा काम छोडेर सुन्नुहुन्थियो । अनि स्याबस भनि धाप मारेर नमिलेको भए सच्याई पनि दिनुहुन्थियो । मेरो हरेक शब्दहरूमा बुवा हौसलाको मसि बन्नुभयो र सधै लेख्न प्रेरित गर्नुभयो । त्यसैले होला बुवाको स्वर्गारोहण पछि म निकै विक्षिप्त भएर टुटेकि थिए । त्यहि वियोगमा केहि वर्ष कलम र कापिसॅगको नाता पनि टुट्यो । यस्तो अनुभव भयो कि अब मैले लेख्नुको कुनै औचित्य छैन, लेखेर मैले कसलाई देखाउ, कसलाई सुनाउ, अब मेरो हौसला कसले बढाउला, अनेकौ प्रश्नहरू उब्झिन्थियो । लेख्न कोसिस गर्दा पनि एक शब्द पनि लेख्न सक्दिन थिए बर्रर आँशु खसिहाल्थ्यो । मसॅगै मेरा कलम पनि टुहुरो भएको अनुभूति हुन्थियो । तर बारबार बुवाको शब्दहरूले मलाई लेख्न घच्घच्याइ रहन्थियो- “ छोरी लेख्न नछाड है लेखिरहनु केहि गल्लि भए म सच्याइदिउला, कोसिस गरिरहनु पर्छ” यि वाक्यहरूले मलाई फेरि कलम समाउने हौसला मिल्यो र “बुवा” शिर्षकको कविता लेखेर पाचॅ वर्ष पछि पूनः लेखनलाई निरन्तरता दिनथाले । आफ्नो मनलाई दर्हो परे आफैलाई सम्झाए मैले लेख्नु भनेको बुवा खुसि हुनु हो । छोरीले श्राद्ध, पिण्डदान गर्दैन्न रे तर मैले लेखिरहनु बुवा प्रतिको साहित्यिक श्रद्धासुमन ,पिण्डदान हुनेछ । त्यसैले बुवा आजभोलि यि बांगाटिंगा अक्षरहरू मेरा प्रिय साथि बनेका छन् यिनिहरू असाध्दै मन पर्न थालेका छ हजुरलाई झन् धेरै सम्झना गर्न थालेकि छु ।
अनवरत रूपमा जिवन साहित्य र देशप्रेममा अर्पण गर्ने मेरा (हाम्रा) बा हजुरको उपदेश, हजुरको कृति, हजुरले दिएको हौसला हामिसॅग सदा साथ रहिरहनेछ, हाम्रो आत्मामा हजुरको तस्विर सधै जाज्वल्यमान रहिरहनेछ । मलाई पूर्ण विश्वास छ हजुरले हामिलाई कहि कतैबाट हेरिरहनु भएको छ , सुनिरहनु भएको छ । हजुर कर्मलाई नै धर्म मान्नुहुन्थियो अब म पनि हजुरलाई मेरो कर्मले सद्धासुमन अर्पण गर्न चाहन्छु । हजुरले नेपाली भाषा, साहित्यको भण्डार भर्न आफ्नो सारा जिवन समपर्ण गर्नु भो , म त्यस भण्डारमा एकथोपा भए पनि थप्न सकु । मलाई आर्शिवाद दिनुहोस् । बुवा हजुरको त्यो साहित्यिक उचाइ छुन नसके पनि म सधै हजुरको पथ प्रदर्शनको अनुसरण गर्न सकु । आज हामि माझ हजुरको भौतिक शरिर त छैन तर हजुर अजर अमर हुनुहुन्छ बुवा ।
( पङ्तिकार भवानी घिमिरेको छोरी हुनुहुन्छ )