SSI SSI
SSI SSI

छाता ,जुत्ता ,सर्वत र सातुको पर्व अक्षय तृतीयाको धार्मिक महत्व

शुक्रबार, वैशाख २८, २०८१

वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।

शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुनुहुने विश्वाससमेत छ ।

यस अवसरमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूर्य यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ ।

सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । समुद्रमा पानी सकिए पनि आजका दिन दान गर्ने पुण्य नसकिने विश्वास गरिन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।

बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।

सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो परम्परा हो ।

यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ ।

भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने वर्णन भविष्य पुराणमा उल्लेख छ ।

यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको चिकित्सकको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्