SSI SSI
SSI SSI

एक्सपर्ट ग्रुपले मुगुको रारामा लक्जरी रिसोर्ट खोल्ने

बुधबार, वैशाख १९, २०८१


नेपाल न्यूज प्रतिनिधि 


कठमाण्डौ ।  नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको  रारा क्षेत्रमा एक्सपर्ट ग्रुपले १ अर्व १० करोड रुपैयाँ लगानीमा सुबिधा सम्पन्न रिसोर्ट खोल्ने भएको छ । कठमाण्डौमा हालै सम्पन्न तेस्रो  नेपाल लगानी सम्मेलनमा एक्सपर्ट ग्रुपको तर्फबाट सञ्जीव शर्मा र बद्री अर्याल तथा  रारा होल्डिङ्स प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले लगानी समझदारीपत्र (MoU)मा हस्ताक्षर गरेका छन् ।  
एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिको साझेदारीमा  मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बनाईने सो लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी गरिने छ । भने दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी  गरिने छ ।


 
स्वदेशी तथा बिदेशी पर्यटकको गन्तव्यस्थल बन्दै गएको रारामा यो रिसोर्ट संचालनमा आएपछी त्यस क्षेत्रमा लक्जरी रिसोर्टको अभाव पूर्ति हुने अपेक्षा पर्यटन ब्यबसायीहरुले गरेका छन् ।  रिसोर्टमा सुइट ब्लक, डिलक्स ब्लक, स्ट्यान्डर्ड ब्लक र मेन ब्लक गरी  रिसोर्टमा  चार किसिमका  भिल्लाहरू को निर्माण गरिनेछ । त्यसको अलावा रिसोर्टको निर्माण गर्दा स्थानिय तहमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिने छ । पहिलो चरणमा ४० वटा र दोस्रो चरणमा २० गरि जम्मा एट्याच बाथरुम सहितका ६० वटा कोठा रहने सो रिसोर्ट वातावरणमैत्रीको साथसाथै स्थानिय मौलिक सस्कृति झल्काउने किसिमबाट निर्माण गरिने छ । 


कर्णाली प्रदेशकै पहिलो सुबिधा सम्पन्न रिसोर्टको रुपमा निर्माण गर्न लगिएको यो रिसोर्ट समुन्द्र सतहबाट ३ हजार ७ सय मिटरको उचाईमा रहने छ भने रिसोर्टबाट  रारा ताल र त्यस क्षेत्रको हिमालहरुको दृस्याबलोकन गर्न सकिने छ । रिसोर्टको निर्माण कार्य छिट्टै सुरु गरिने र आगामी डेढ बर्ष भित्र सम्पन्न गरिने रारा होल्डिङ्स प्रालिले जनाएको छ ।

रिसोर्ट संचालनमा आएपछि  पर्यटन प्रबर्धनका साथ साथै कर्णालीका जनताको जीवनस्तर उकास्न ठुलो योगदान पुर्याउने बिस्वास गरिएको छ ।  यो परियोजनासंगै आफ्नो लगानीलाई पर्यटन क्षेत्रमा बिस्तार गरेको एक्सपर्ट ग्रुपले  नेपालमा शिक्षा र जलबिद्युत क्षेत्रमा समेत लगानी गर्दै आएको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्