SSI SSI
SSI SSI

पुरानो नेपाल र काठमाडौँमा महामारी : ज्यान सिरिङ्ग बनाउने विवरण

सोमबार, वैशाख १७, २०८१

 

 

राजधानी काठमाडौँमा पुरानो जमानामा हैजा फैलिरन्थ्यो। वि.सं. १९४० ताका काठमाडौँ ‘शहर’ भन्नु असन–इन्द्रचोक क्षेत्रको डेढ किलोमिटर सेरोफेरोमा बसोबास गर्ने करिब ५० हजार जनसंख्या थियो । राणाहरूका दरबार बन्न थालेपछि शहर फराकिलो हुँदैगएको हो ।

साँघुरा गल्लीमा मलमूत्र मिसिएको दुर्गन्धित कालो लेदो बगिरहेको हुन्छ भनी ब्रिटिश रेजिडेन्स (राजदूताबास) मा कार्यरत डाक्टर जी. एच. जिमलेटले उल्लेख गरेको कुरा, ‘कीराले नेपालको इतिहास बदलिदियो’ भनी लेख्ने (पुरानो नेपालमा महामारीको प्रकोप विषयमै पीएच्डी गरिरहेका) टोम रोबर्ट्सनले ‘नेपाली टाईम्स’ अँग्रेजी साप्ताहिक (मार्च २१, २०२०) मा लेखेका छन् । (सोहि पत्रिकामा उनले अघि वा पछिका अंकहरुमा यस्ता अन्य रोचक लेखहरु लेखेका छन्)।

वि.सं.१९३० को हैजाले दिनहुँ दुईसयदेखि अढाईसय जनासम्मको ज्यान जाने गथ्र्यो भनी उनले उल्लेख गरेका छन् । वि.सं. १९१३ र १९३० को हैजाबाट सबभन्दा धेरै मानिसको ज्यान गएछ ।

पहिले भारतीय उपमहाद्विपमा हैजाको विश्वब्यापी महामारी थिएन, पहिलो हैजा विश्वमहामारी (पेन्डेमिक) सन् १८२० मा बंगालमा फैलिएको र त्यसले एकलाख मानिसको ज्यान लिएको पाईन्छ ।दशहजारको संख्यामा ब्रिटिश भारतका सैनिकहरूकै ज्यान गएको रहेछ । १८६५ देखि १९१७ सम्ममा भारतमा हैजाले मर्नेहरूको संख्या २३ लाख थियो । त्यो बेलादेखि १९६२–६६ सम्मको विश्वब्यापी महामारी हैजाका विकराल घटना सातपटक भए, जसमा एकैपटक बिसौँलाख मानिसको ज्यान जाने गथ्र्यो ।

त्यो जमानामा व्याप्त भईरहने महामारीमा टाईफाईड, डिस्पेन्सिया, गलगाँडका साथै यौनरोग सिफिलिस भएको इतिहास देखिन्छ भने महामारीमा बिफर, दादुरा, हैजा, आउँ, आदि वर्षेनी भईरहन्थ्यो । २०३४ सालमा आएर मात्र बिफर उन्मूलन भयो । त्यसअघि बिफरका दाग मुखभरि भएका र बाबुआमाको आशौच बारेर सम्पूर्ण सेता लुगा लगाएका मानिसहरू प्रशस्तै देखिन्थे ।

वि.सं. १९४२ को हैजा उत्पातसँग फैलिनुमा अशिक्षा र चरम अन्धविश्वास मूख्यरुपमा छँदैथियो, भारतमा पठाउन जम्मा गरिएको १५ हजार नेपाली सेनाका जवानहरू बिमारी पर्न थालेकोले पनि रहेछ । हैजाको पछिल्लो डरलाग्दो महामारी २००५ सालको महामारी हो । महामारीमा मरेकालाई घाट लैजान मानिसहरू रोग सर्ने डरले मान्दैनथे ।

त्यसताका एकैपटकको महामारीमा काठमाडौँका ५० हजार जनसंख्यामध्ये ९ हजार मानिसले एकैपटकको महामारीमा ज्यान गुमाए । दाहसंस्कार गर्ने घाट र दाउराको समेत भयानक अभाव मच्चियो । दाउराको अभाव वा काँचा दाउरामा लाशहरू आधा जलेकै अवस्थामा नदीमा फ्याँकिदिने विवशता थियो भने जनतामा हाहाकार र रुवाबासी मच्चिएको थियो ।

ब्रिटिश रेजिडेन्स डाक्टर जिमलेटले बिमारी जाँच गर्न ठाउँठाउँमा जाँचकेन्द्र खोल्नुपर्छ अत्यन्त जरुरी आग्रह गर्दा पनि तत्कालीन राणा दरबारले वास्ता नगरेको विवरण जिमलेटका टिप्पणीहरूलाई उद्धृत गर्दै रोबर्ट्सनले लेखेका छन् । दरबारका ३ सय कामदार र परिवारमध्ये धेरैलाई हैजाले भेट्यो र एकैसाँझ २५ जनाको ज्यान गयो । ती सबैजसो नोकर–नोकर्नीहरू थिए । यस्ता महामारीहरू हरेक वर्ष नै उत्पन्न हुनेगर्थे ।

वि.सं. १९९० को महाभूकम्प अर्को महाविनास हो, जसमा नेपालमा करिब आठ हजार मानिसको मृत्यु भयो । घाईते भएकालाई अस्पतालमा उपचार पाउन त के पुरिएका मानिस वा बेवारिश अवस्थाका लाश उठाउने समेत ब्यवस्था थिएन । तर फर्पिङमा स्थापित एकमात्र विद्युत केन्द्रबाट भूकम्पको एकहप्ताभित्रै विद्युत आपूर्ति सुचारु र सडक उज्यालो भएपछि मानिसहरूमा आसा र उत्साहको सञ्चार भएको थियो ।

('उहिलेका महामारी र उपचार व्यवस्थाको झलक' शीर्षक आफ्नै लेखबाट )

( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्