SSI SSI
SSI SSI

 ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर बनाउन बिष्णु हमालको अध्यक्षतामा कमिटी गठन 

सोमबार, वैशाख १७, २०८१


सिड्नी । अष्ट्रेलियन सरकारको हालसालैको  तथ्याङ्क अनुसार अष्ट्रेलियामा नेपालीहरुको संख्या करिव २ लाखको हाराहारीमा पुगेको छ । त्यस संख्याको आधा  अर्थात् एक लाखको संख्यामा सिड्नी र यसको आसपासमा बसोबास गर्छन् ।  यहाँ नेपालीहरुको बाक्लो उपस्थिति बढ्दै गर्दा नेपाली  कला ,सस्कृति ,रिती रिवाज अनि मौलिकता र नेपालीपनलाई बचाई राख्न एनआरएनए लगायत विभिन्न सामाजिक संघसंस्थाले विभिन्न कार्यक्रहरु गर्दै आएका छन् । यसै सेरोफेरोमा रहेर एनआरएनए अष्ट्रेलियाको अगुवाईमा हिजो ( अप्रिल २८ तारिख आइतवार ) सिड्नीमा नेपाली समुदाय र संघ सस्थाका प्रतिनिधिहरुको  उपस्थितिमा बृहत छलफल कार्यक्रम गरियो । 

अष्ट्रेलियामा नेपालको माटो, नेपाली सुगन्ध र नेपाली धर्म ,सस्कृति र मौलिकताको जगेर्ना गर्दै यसको महत्व र ईतिहासको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने पबित्र उद्देस्यले अगाडि बढाईएको " ग्रेटर  सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर सिड्नी नेपाली मल्टीकल्चर सेन्टर " को बारेमा सम्पन्न छलफलबाट बिष्णु हमालको अध्यक्षतामा सर्वसम्मतिले  कार्यसमिति र सल्लाहकार परिषद चयन गर्यो । सस्थाको उपाध्यक्षहरुमा उमेश पन्त र सुर्य खनाल महासचिवमा डा प्रकाश पौडेल ,सचिवमा मीना शर्मालाई  चयन गरिएको छ ।  त्यसैगरी कोषाध्यक्षमा प्रकाश बस्ताकोटी , प्रवक्तामा शिव बन्जरा ,पब्लिक रिलेसन अफिसरमा महेन्द्र लम्साल र  सह कोषाध्यक्षमा सुनिता पाठकलाई सर्वसम्मतिले चयन गरेको छ । 


अब यो समितिले आफ्नो दुई बर्षको कार्यकालमा  " ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर " बनाउन बिशेस गरि एन एस डब्लु राज्यमा बसोबास गरेका नेपालीहरुलाई जुरुक्क उठाएर नेपाली मल्टि कल्चरल सेन्टरको महत्व र उद्देश्यका बारेमा सामुदायिक भवन निर्माणको परिकल्पनालाई शसक्त रुपमा अगाडी बढाउनु पर्नेछ ।  यो अभियानले सार्थकता पाउदै गर्दा सिड्नी र यसको आसपासमा रहेका नेपालीहरुबीच एक आपसमा भेटघाट सहित भातृत्व कायम गर्ने र विभिन्न नेपाली चाडपर्वहरु मनाउन र हिन्दु ,बौद्ध लगायत धार्मिक बिधी र पद्दति अनुसार बिहे ,ब्रतबन्ध ,पुजापाठ लगायतका कार्यक्रमहरु गर्नका लागि उपयुक्त थलोको रुपमा यसलाई स्थापित गर्ने दायित्व हामि सबैको हो । 


नेपाल न्युजसंग कुरागर्दै ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टरका अध्यक्ष बिष्णु हमालले सिड्नीमा हामि नेपालीको सक्रियतामा बनाउन लागिएको ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टरमा सबैको अपनत्व कसरि गराउन सकिन्छ ,धेरै भन्दा धेरै नेपालीलाई समेट्दै यो पबित्र अभियानलाई अगाडि बढाउन आफुहरुले ईमान्दार प्रयास गर्ने बताए । उनले भने - नेपाली सामुदायिक केन्द्र बनाउने सिलशिलामा सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर र हिन्दु सोसाईटी अफ अष्ट्रेलियाले आर्जन गरेको अनुभव र दक्षता र टिमलाई समेटेर संगसंगै  अगाडि बढ्ने हो । यो बेला हामीले को के हो भन्दा पनि पहिले हामि नेपाली हौ ,यो अभियान हामि सबैको हो यसलाई समयमै सार्थक निस्कर्षमा पुर्याउनु पर्छ । 


हिजो सिड्नीमा सम्पन्न बृहत भेलामा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भिक्टोरिया ,क्विन्सल्याण्ड र वेस्टेर्न अष्ट्रेलिया राज्य समितिले नेपाली सामुदायिक केन्द्र निर्माणका अभियान अगाडि बढाईसकेको बताउदै नेपालीहरुको धेरै संख्या रहेको एन एस डब्लू राज्यमा पनि सामुदायिक केन्द्र निर्माणको अभियानलाई द्रुत गतिले अगाडि बढाउन नेपाली समुदायका सबै पक्ष लाग्नुपर्ने खाचो औल्याए । उनले यो अभियानलाई मुर्त रुप दिन एन यार एन ए अष्ट्रेलियाले छिटो भन्दा छिटो वाक फर कम्युनिटी सेन्टर र आध्यात्मिक कार्यक्रम गरिने जानकारी दिए ।  


सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर का अध्यक्ष सुदिप ढकालले सिड्नीको साउथ वेस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरि आफुहरुले सन् २०१७ देखिनै नेपाली सामुदायिक केन्द्रको लागि लबिङ्ग गर्दै आएको बताउदै ग्रेटर सिड्नी नेपाली मल्टि कल्चरल सेन्टर निर्माणमा सबै लाग्नु पर्नेमा जोड दिए । न्हीन्दु सोसाईटी अफ अष्ट्रेलियाका अध्यक्ष लक्ष्मी बस्ताकोटीले हामीले हाम्रो धर्म ,सस्कृति र परम्पराको संरक्षण  र सम्बर्धनमा हामीले निर्माण गर्ने सेन्टर को भूमिका महत्वपूर्ण रहने बताइन् । कार्यक्रममा प्रबक्ता शिव बन्जराले यो पबित्र कार्यलाई समयमै सम्पन्न गर्न हामी सबैले हातमा हात र साथमा साथ मिलाएर अगाडी बढ्नु पर्ने बताए ।  


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्