SSI SSI
SSI SSI

भ्रमपूर्ण प्रचार-  फन्दामा नपर्नुस् 

बिहीबार, वैशाख १३, २०८१


रामदेवले ‘आधुनिक औषधि खराब’, ‘डाक्टरले दिएको औषधिले राम्रो गर्दैन’, ‘उच्च रक्तचाप, मधुमेह या क्यान्सर सबैका लागि पतञ्जलीका औषधि प्रभावकारी छन्’ भनेर भ्रमपूर्ण प्रचार गरेका थिए ।
अहिले तिनै बाबा रामदेवमाथि भ्रमपूर्ण विज्ञापन गरी झुठको सहारामा व्यापार गरेको आरोपमा मुद्दा चलिरहेको छ । 
त्यसो त रामदेवले अदालतसामु माफी मागिसकेका छन् । ‘विज्ञापनसम्बन्धी मुद्दामा म बिनासर्त माफी माग्छु । अदालतलाई म भन्न चाहन्छु कि अब यस्तो गल्ती हुँदैन । २१ नोभेम्बर २०२३ मा मैले अदालतको आदेश उल्लंघन गरेकामा पनि माफी माग्छु । कानुन र न्यायको गरिमा बचाइराख्न म बचनबद्ध छु ।’ माफी माग्दै उनले लेखेको पत्र हो यो ।
 बाबाले अदालतसँग माफी त मागे तर अहिले पनि उनले पूर्ण रूपमा आफ्नो भ्रमपूर्ण प्रचार रोकेका छैनन् । दुई वर्षअघि भारतका डाक्टरहरूको एक संस्थाले रामदेवको भ्रामक प्रचारविरुद्ध अदालतमा मुद्दा हालेका थिए । अचम्म छ, ससानो कुरालाई पहाड बनाएर देखाउने भारतीय मिडिया यो विषयमा केही बोलेनन् । तर जागरुक पत्रकार, सामाजिक कार्यकर्ता (जो अहिलेको आमसञ्चारमा अटाउँदैनन्) उनीहरूले भने धेरै बोलेर जनतालाई जागरुक गराए ।
मानव जीवनमा आयुर्वेदको ठूलो महत्त्व छ । तर औषधि खाएर मुटुको प्वाल टालिन्न, दुर्घटना भएका बेला अंगभंग भएकालाई आयुर्वेदले मात्रै उपचार गर्न सक्दैन । योगासन र स्वस्थ खानपानले मान्छेको स्वास्थ्य राम्रो राख्न सक्छ तर गर्भवती आमालाई जटिलता भयो भने र शल्यक्रिया गरेर जीवन बचाउन आधुनिक औषधि र आधुनिक चिकित्सकले मात्र सक्छन् । स्वयं आचार्य बालकृष्णलाई मुटुको उपचार गराउँदा आधुनिक डाक्टरहरूको ज्ञान नै चाहियो ।
रामदेवले ‘स्वस्थ भोजन, शाकाहारी भोजन गर्नु’ भन्नु ठीक छ तर के शाकाहारी भोजन गरेकालाई कहिल्यै क्यान्सर र मधुमेह हुँदैन ? त्यो बेलामा त रामदेवको औषधि र लौकाको जुस काम लाग्दैन, शल्यक्रिया उपचार नै चाहिन्छ ।
रामदेवले योगको प्रचार गरेर जनस्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेकामा कुनै शंका छैन । जब उनले योगले क्यान्सर, छारेरोग पनि ठीक पार्छ भनेर झूट बोल्न थाले तब समस्या सुरु भयो । साथै ‘आधुनिक औषधि र डाक्टर खत्तम, मेरो आयुर्वेद औषधि मात्रै राम्रो’ भन्ने उनको प्रचारले जनतामा धेरै भ्रम पर्न गयो ।
यही औषधिको व्यापार गरेर उनले साम्राज्य नै खडा गरेका हुन् । अमला, गुलाबजल, बेल र जल बेचेर मात्र होइन क्यान्सरदेखि छारेरोग, मानसिक रोग, मोटोपन पनि ठीक पार्ने औषधिको ‘भ्रमपूर्ण’ प्रचार गरेर कमाए । यस्तै प्रचार पत्याएर आधुनिक औषधि छाडेर उनका आयुर्वेदिक औषधि खाँदा उच्च रक्तचाप अनियन्त्रित भएर पक्षाघात भएका र मृत्युसमेत भएका घटना बाहिर आए । आधुनिक डाक्टरहरूले उनको विरोध गरे, जथाभाबी यस्ता औषधि नखानू भनेर बोले पनि । तर राजनीतिक रूपमा पहुँच बनाएका बाबा रामदेवले कसैका कुरा टेरेका छैनन् ।
सजग रहनुहोस्, वास्तविक आयुर्वेदिक डाक्टर, आधुनिक डाक्टर कसैले पनि ‘म शतप्रतिशत निको पार्छु’ भन्दैनन् । 
त्यस्तोको फन्दामा नपर्नुस् र रामदेव वा अर्को कुनै देवको भ्रमबाट बच्नुहोस् ।

( डा अरुणा उप्रेतीको फेसबुकबाट साभार )

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्