SSI SSI
SSI SSI

हिजोको बैशाख एघार….

बिहीबार, वैशाख १३, २०८१


राजा ज्ञानेन्द्रको शाही  सत्ता शुरूआतको भोली पल्ट बिहानै देखि १० दिनसम्म ‘हाउस एरेष्ट’ मा परे। ११ औं दिन अख्तियारका मानिसहरू आएर लिई गए । लगातार २०/२५ दिन थुन्यो। अनि बिशेष अदालतमा मुद्दा दर्ता गराए। अदालतले २ करोड बिगो बनाएको मुद्दामा रू. एक लाखको धरौटी खोलेर रिहा गर्यो । अदालतको सो आदेशबाट अख्तियार प्रमुख सूर्यनाथ जी सहज भएनन् । दुई महिना पछि पुनः थुन्यो। दशेक दिन थुनेर फेरी अकूत सम्पतिको मुद्दा चलायो । अदालतको आदेशले पुनः धरौटीमा रिहा भए। यो रिहाई शाही सत्ताका लागि ग्राह्य थिएन। अनि शुरू भयो, सुरक्षा कानूनको प्रयोग। एक पछि अर्को गरी लगातार पाँच पटकसम्म गिरफ्तार गर्ने अनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीटबाट रिहाई हुने क्रममा मेरो थुना जीवन पाँच महिना बित्यो । सर्वोच्च अदालतले रिहा गर्न भन्छ, रिहा गर्ने फेरी थुन्ने क्रम जारी रह्यो । अनेक ठुला मानिसहरू, मनीषीहरू जेलमा-थुनामा साथी रहे। जीवन जोगाउन न सकेका केही बाहेक ती मध्येका प्रायसः आज राजनीतिमा अत्यन्त प्रतिभावान छन्। वर्तमान अनिहरूको अधिनमा छ । सोच्दछु, बि.स. २०६१ पूर्वको जीवनमा १७/१८ पटक थुना तथा जेल परें । अन्ततः मुलुकमा लोकतन्त्र आयो । राजतन्त्र र राजा ज्ञानेन्द्र बिदा भए-यो बडो खुशीको दिन थियो। हिजो मात्र बितेको बैशाख एघारको तेस दिनमा बडो प्रसन्न भएको थिए ।


ज्ञानेन्द्र शाहको बटबृक्ष यता अलिक झाँगिएको देखिन्छ। नदीमा तैरिदै गर्दाको बखत उनको डुड्.गामा प्वाल परेको थाहा पाएर हाम्फालेका मुसाहरू अहिले उनको नजिक नजिक जम्मा भैरहेका छन्। इतिहासबाट अनभिज्ञ एक थरी र एक थरी अवसरवादी प्रबुद्धहरू पनि तेसमा जोडिएको भेटिन्छन् । यिनीहरूले अनेक कथ्यहरू कथ्दैछन्। यस्तै एक कथ्य भन्दैछन् कि “सहमतिको एक मात्र प्रति बनेको थियो, त्यो प्रति कृष्ण सिटौलाले नै साथ लिएर गए । उनका महाराजधिराजलाई कपि गरी दिन्छु भनेर पनि दिएनन्। तेस सहमतिमा संबैधानिक राजतन्त्र नै मान्ने सात दल र राजाका बीच सहमति थियो। कमल थापा, दीपक ज्ञवाली तथा रविन्द्र मिश्रहरूले यस्तै बोल्दैछन्। यिनको बिचारमा यिनको पुनरोथ्थानका लागि लेखिएको “म्याग्नाकार्टा” अपहरित भएको छ। यसलाई झेलमा पारिएको छ । 
अब तेस बैशाख ११ गतेको स्मृति पनि धेरैमा  कमजोर भै सकेको छ । स्वयं नेपाली काँग्रेस भित्र, एमाले भित्र पनि कतिपय यस्ता मानिसहरू हिडडुल गरिरहेका छन् जो यस्तै बोली बोल्दैछन् । यद्यपि यिनीहरू अबोध भने होईनन्। बगेर गएको समयलाई घिसारेर आफ्नो पनि केही हित भै हाल्छ कि भनेर लागेका देखिन्छन् ।
मैले त तेस बैशाख एघारलाई अर्कै तथ्यको आलोकमा बुझेको छु। लाखौं आन्दोलनकारीबाट दरबार घेरिएको अवस्थामा र शाही सेनाले राजाको रक्षाका लागि व्यापक जनहत्या गर्न नसक्ने भनेपछि ज्ञानेन्द्र शाहले “सदाको लागि सत्ता त्यागेको” जानकारी गिरिजा प्र. कोईरालालाई गराएको सत्य हो । सेना, भारत र राजाका तत्कालिन प्रमुख सचिव तेसका साक्षी हुन् ।
बदलिएको परिस्थितिमा माधव कु. नेपाल, अलिक पछि कृष्ण सिटौलाहरूले यस सत्यलाई कसरी भन्छन्-थाहा छैन । तत्कालिन सात दलका नेता सबैले बुझेकै हो । “जनताको नासो सदाशयताका साथ जनतालाई सुम्पिबक्सेको” भन्नु तेस बेलाका अज्ञानीहरूको अहिले भ्रमोत्पादन मात्र हो। “राजाबाट नितान्त सत्ता परित्याग थियो”-सत्य यही नै हो । 


पुनर्स्थापित संसदको पहिलो बैठकबाट भएको “राजतन्त्र अन्त्यको घोषणा” राजाबाट कठिन बाध्यात्मक परिस्थितिमा सत्ता छोडनु परेको कुराको संसदीय अनुमोदन मात्र हो । संसदका ‘प्रोटेम स्पीकर’ यस सत्य सम्पादनका कर्ता मात्र हुन्-जानकार हैन्। जानेका र गर्नुपर्ने बुझेका त गिरिजा बाबु मात्र हुन् । 
नारायणहिटीमा ज्ञानेन्द्र र कृष्ण प्र. सिटौलाका बीच कुनै सहमति गर्नु पर्ने नै थिएन । सिटौलाको “ज्ञानेन्द्र कुन दिन दरबारबाट बहिरिने” यो जनाउने र ज्ञानेन्द्रलाई नि:शर्त तिथीमिति मात्र दिने कार्यभार रहेको हो । यस सत्यबाट कोशौं दूर रहेकाहरू हाल ‘ज्ञानेन्द्रसंग कुनै सहमति भएको’ भन्छन ।
‘सत्ताबाट निकालिएका’ र तत्कालिन अवस्थामा ‘आफ्नो जीवनको लागि’ निक्लेका पूर्व राजाको भावी नियति मलाई थाहा छैन । तर, हिजो मात्र बितेको बैशाख ११ गतेको एतिहासिक सत्यलाई बुझ्ने तथ्य यही नै हो । सहमतिको त्यो कथित ‘प्रमाण’ ज्ञानेन्द्रले कहिल्यै देखाउन सक्दैन । सत्य यही हो ।

( जय प्रकाश आनन्दको फेसबुकबाट साभार )

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्