SSI SSI
SSI SSI

न्युजिल्याण्डमा नेपालीहरुको संख्या ४१ हजार ३ सय ४७ पुग्यो 

मंगलबार, वैशाख ११, २०८१


सिड्नी । संसारभर सुखी र शान्त मुलुकको रुपमा रहेको न्युजिल्याण्ड नेपालीहरुको प्रमुख गन्तब्य मुलुकको रुपमा दरिन पुगेको छ ।  संस्कृतिविद सत्यमोहन जोशीले तथ्यांक विषयमा उच्च शिक्षा हासिल गर्ने सिलशिलामा सन्  १९५३ मा न्युजिल्याण्ड पुगेका थिए । उनि नै न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली हुन् ।  उच्च शिक्षा,रोजगार तथा व्यवसायका लागि धेरै नेपालीहरुको गन्तव्य बन्न पुगेको न्युजिल्याण्डमा अहिले नेपालीको संख्या ४१ हजार ३ सय ४७ पुगेको छ । 


नेपाल न्यूजसंग कुरागर्दै एनआरएनए न्युजिल्याण्डका सस्थापक अध्यक्ष बाबुराजा महर्जनले नेपालको अस्थिर राजनीति ,भ्रस्टाचार ,बेरोजगारी र आर्थिक मन्दी जस्ता समस्याका कारण युवाहरु स्वदेशमा बस्न नचाहने र न्युजिल्याण्ड आफैमा शान्त अनि नेपालकै जस्तो भौगोलिक बनोट भएकोले पनि नेपालीहरुको गन्तब्य मुलुक बनेको बताए । उनले भने - न्युजिल्याण्डमा नेपालीहरु बिषेसगरी मेडिकल ,ईञ्जिनियरिङ्ग ,अध्यापन ,कृषि र पशुपालन जस्ता क्षेत्रमा संलग्न छन् । संयुक्त अरव ईमिरेट्समा कृषि तथा पशु पालन क्षेत्रमा कार्यरत धेरै नेपालीहरु सिधै त्यहीबाट वर्किङ्ग भिसामा  न्युजिल्याण्ड आउने गरेका छन् । 


सन् १९६८ मा एक दम्पतिले पहिलो पटक न्युजिल्याण्डको नागरिकता प्राप्त गरेका थिए भने सन् २०२३ को मार्च महिनासम्म १ हजार ५ सय २१ जना नेपालीले न्युजिल्याण्डको नागरिकता प्राप्त गरिसकेको जानकारी ३ अप्रिल २०२४ मा अपडेट भएको न्युजिल्याण्डको गृह प्रशासनको  वेभ-साईटले उल्लेख गरेकोछ ।
 सन् २०२४ को मार्च महिनासम्म नागरिकता प्राप्त गरेका र बिभिन्न भिसामा रहेका नेपालीहरुको संख्या ४१ हजार ३ सय ४७ रहेका छन् भने  आवास भिसा (रेसिडेन्सी) प्राप्त नेपालीहरुको संख्या ३३ हजार ७ सय २१ रहेको छ । 
न्युजिल्याण्ड ईमिग्रेसनवाट प्राप्त तथ्यांक अनुसार  सन २०१९-२०२० को आर्थिक वर्ष मा १हजार ८सय ०६ जना , सन्  २०२०-२०२१ मा ३ हजार ४ सय १४ , सन्  २०२१-२०२२ मा ३ हजार १ सय ६५ , सन्  २०२२-२०२३ मा १६ हजार ९सय ७१  र सन् २०२३-२०२४ मा १ हजार २ सय ४८ नेपालीले रेसिडेन्सी भिसा प्राप्त गरेका छन् ।  सन २०२२-२०२३ को आर्थिक वर्षमा मात्र १६हजार ९ सय ७१ जना नेपालीले रेसिडेन्सी प्राप्त गरेका छन्  जुन अहिलेसम्म कै सबैभन्दा धेरै संख्या हो ।


सन् २०२३ अप्रिलदेखि २०२४ मार्चसम्म मात्रै श्रम भिसामा २ हजार ७ जना, विद्यार्थी भिसामा १ हजार ३८ जना, पर्यटकीय भिसामा ४ हजार ५ सय ७८ जना र सिमित कामकाजी भिसामा ३ गरि जम्मा नेपालीहरुको संख्या ४१ हजार ३ सय ४७ रहेको तथ्य न्युजिल्याण्डको गृह-प्रशासनले प्रष्ट पारेको छ । 
यो तथ्यांकमा भुटानी नेपालीहरु र भारतको पासपोर्टमा न्युजिल्यान्ड वसोवास गर्दै आएका नेपालीहरु लाई समावेस गरिएको छैन । 

( साभार -बाबुराजा महर्जनको फेसबुकबाट  सम्पादित अंश )

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्