सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
भारतीय चुनाव प्रणालीमा क्रान्तिकारी सुधार गर्ने, १०औँ (पूर्व )प्रमुख निर्वाचनआयुक्त, सन् १९९६मा म्याग्सेसे पुरस्कारबाट पुरस्कृत टि.एन. शेषन (१९३२–२०१९) कार्यकालमा निर्वाचन सुधारमा उनको योगदान कस्तो रह्यो भने केहीले ‘भारतमा स्वतन्त्र र निष्पक्ष निर्वाचन युगको अन्त्य’ भएकोसम्म टिप्पणी गरे। उनीदेखि प्रधानमन्त्री नै डराउँथे । निर्वाचन पद्धति र प्रक्रियामा आमूल सुधार गरी, धाँधली गरेर निर्वाचित हुन पल्केका देशका भ्रष्ट नेताहरूको यिनले दोहोलो काडे । शेषनले के सिद्ध गरे भने निष्पक्ष र निडर प्रमुख आयुक्त छ भने जुनसुकै विपरीत परिस्थितिमा आफ्नो संवैधानिक दायित्व निर्वाह गरी इमानदार र प्रतिष्ठाका साथ परिणाम दिन सकिन्छ । शेषनको नेपालप्रतिको धारणा निकै सकारात्मक थियो, साथै निर्वाचन सुधारका लागि नेपाललाई हरसम्भव सहयोग गर्न तत्पर रहेका थिए ।
केरलाको पालकाडमा जन्मिएका, भौतिकशास्त्र (फिजिक्स्) का स्नातक शेषन सन् १९५५ मा भारतीय प्रशासनिक सेवामा प्रवेश गरेका र तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको क्याबिनेट सचिवको पदमा रही सेवानिवृत्त भएपछि योजना आयोगका आयुक्तमा नियुक्त भए । चन्द्रशेखरको प्रधानमन्त्री कालमा उनी प्रमुख निर्वाचन आयुक्त भए । भारतीय संविधानमा निर्वाचन आयोगमा प्रमुख आयुक्तलगायत अन्य आयुक्त रहने व्यवस्था छ । तर, शेषन प्रमुख आयुक्त रहँदासम्म अन्य आयुक्तमा एकजना मात्रै रहँदै आए । शेषनभन्दा पूर्व भारतको आमनिर्वाचन र अन्य निर्वाचनमा ठूलो संख्यामा मानवीय क्षति हुन्थ्यो । उत्तिकै सरकारको सम्पत्तिको क्षति हुन्थ्यो । निर्वाचन जसरी भए पनि जित्नुपर्छ भन्ने मानसिकताका साथ उम्मेदवार निर्वाचनमा होमिन्थे । शक्तिको भरमा मतदान केन्द्र कब्जा गर्नु सामान्य थियो । शेषनले पूर्व सक्रियता देखाएर मतदान कार्य बिथोल्ने सम्भावित शक्तिलाई नियन्त्रणमा लिन थाले । नामी गुन्डा र बदमासलाई थुनामा राख्न थाले । कुन उम्मेदवारले कति रकम खर्च गर्छ, त्यसको अनुगमनका लागि शेषनले प्रत्येक क्षेत्रमा अनुगमनकर्ता खटाउने गरेका थिए । परिणामस्वरूप मतदान केन्द्रमा गुण्डागर्दी र कब्जा निकै कम भयो । उनलाई एक पत्रकारले सोधे, “तपाईँ जतिबेला पनि ह्विपको प्रयोग किन गर्न चाहनुहुन्छ ?” जवाफमा उनले उपरोक्त भनाई व्यक्त गरेका थिए, “म त्यही गरिरहेको छु, जो कानुन मबाट गराउन चाहन्छ; त्योभन्दा न कम न बढी । यदि तपाईँलाई कानुन मन परेको छैन भने त्यसलाई बदलिदिनुहोस् । तर जबसम्म कानुन छ, तबसम्म त्यो कानुन ध्वस्त हुन म दिनेछैन ।” निर्वाचन खर्चको सीमा उल्लंघन नहोस् भन्ने अभिप्रायले उनले उम्मेदवारी दिने वेला उम्मेदवारको नारा जुलुसका तस्बिर खिच्न लगाए । यस्ता कदमबाट शेषनले आफ्नो अविस्मरणीय छाप भारतमा मात्र होइन, दक्षिण एसियामा र अन्य मुलुकमा समेत छाडे । उनले राष्ट्रपति पदमा समेत उम्मेदवारी दिए । टिभी कार्यक्रम चलाए । तर, जीवनको उत्तरार्द्धमा अध्यात्मतिर लागे । उनको इच्छाअनुसार अध्यात्मको प्रचार गर्न एउटा गुठी खडा गरिएको छ । ०७६ कार्तिकमा उनको निधन भयो ।
( टिएन शेषन : एक अद्भुत व्यक्तित्व शीर्षकमा पूर्वनिर्वाचन आयुक्त प्रा. वीरेन्द्रप्रसाद मिश्रको लेख- मूख्य स्रोत; नयाँ पत्रिका दैनिक २०७६ मङ्सिर १७ मंगलबार ) ( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )