SSI SSI
SSI SSI

सीप चलाउने पानी नचलाउने हो भने हामी आरन बन्द गर्छौँ : सर्वजीत विश्वकर्मा


 भगत सर्वजीत विश्वकर्मा (१९५०–२०१२) पुरातन जमानाका छुवाछुत तथा जातीय भेदभाव विरोधी अभियानका सशक्त अग्रणी समाज सुधारक हुनुहन्थ्यो। उहाँले दलित, छुवाछुत र जातीय असमानताका विरुद्ध जातीय मुक्तिका लागि आजीवन संघर्ष गर्नुभयो । बाग्लुङ् गल्कोटे राजाका पुरोहित पण्डित हाई गिरी हिन्दू धर्म र पुराणका कुरा त सुनाउँथे तर सर्वजीतले म पनि धर्मशास्त्र पढ्छु भन्दा ती पुरोहित उनको किशोर मनमा आजीवन विझ्ने गालीका वाण हान्नेगर्थे ।
ती पण्डितले होच्याएर हानेका बचनको ईख बोकेर सर्वजीत धर्मशास्त्र पढ्न १६ वर्षको उमेरमा वि.सं. १९६५ मा बनारस जानुभयो । त्यहाँ उहाँलाई एक योगीले आफैँसँग राखेर हिन्दू धर्मका सबैजसो ग्रन्थहरूको गहन अध्ययन गराए । २००० सालमा बाग्लुङ् गैरीगाउँको भालुमारे चौतारामा उहाँले वारीपारीका धेरै दलितहरूलाई जम्मा पारी छुवाछुत विरोधी अभियानको शंखघोष गर्नुभयो । आफ्नो छोराको न्वारान हिन्दूविधिका साथ भव्यरुपमा गर्न लाग्दा कथित उच्चजातिका मानिस भेला भएर “अर्जल जातले अनिष्ट गर्यो, हिन्दू धर्मलाई बिटुलो पार्यो...” भन्दै ठूलो सांघातिक हमला गरे । न्वारानको लागि आयोजित पूजास्थल लगायत सर्वजीतको घरै ध्वस्त बनाईदिए । तै पनि उहाँको अभियान र आन्दोलन रोकिएन ।


२००३ भदौ ५ गते सर्वजीतकै अध्यक्षतामा लक्ष्मीनारायण, मनवीर, रामशरण आदि चेतनशील विश्वकर्माहरू भेला भई नेपालको पहिलो छुवाछुत विरोधी संगठन ‘विश्व सर्वजन संघ’ गठन भयो । त्यो जमानामा यस्तो संगठनको कार्य आफैँमा असाधारण सामाजिक आन्दोलन थियो । त्यो सभामाथि पण्डितद्वय हाई गिरी, सरस्वती दत्तहरूको अगुवाईमा फेरि त्यस्तै सांघातिक हमला भयो । बाँडन तयार गरेका पम्प्लेट, पुस्तिकाहरू जफत गरियो । कथित उच्च जातमा शीप चल्ने तर पानी नचल्ने भन्दै आरन भत्काएर शीप बन्द गर्ने आन्दोलन पनि चलाउनु भयो । दलित भनेको भगवानको हेला भएको होइन, मान्छेले नै काढेर समाजमा विकृति आएको हो भन्ने चेतना फैलाउन उहाँले कुनै कसर बाँकी राख्नुभएन । उहाँको छुवाछुत विरोधी टोली गाउँगाउँमा लय मिलाएर जागरण गीत गाउँदै हिँड्थ्यो ।

उहाँलाई राणा शासनका बाग्लुङ्गे हाकिमले ‘समाज भाँडेको’ अभियोग लगाउँदा उहाँले धर्मशास्त्रका श्लोक र उद्धरणद्वारा हाकिमसँग आफ्ना कुरा राख्नुभयो । उहाँलाई तीन महिना थुनियो । रिहा भए पछि उहाँले गाउँका बाटाबाटामा तोरण टाँगेर तोरणमुनि छिरेर हिँड्दा आफ्ना माग स्वीकारेको अर्थका लागि प्रतिकात्मक आन्दोलन पनि चलाउनु भयो । यसबाट बाग्लुङ्, पर्वत, म्याग्दी लगायतका इलाकामा ठूलो सामाजिक उथलपुथल ल्यायो । यसपाली पनि कथित उच्चजातीले दलितहरूमाथि संगठित हमलालाई तीब्र बनाए । दलितहरूमा भागाभाग मच्चिएर जंगलमा गएर लुक्ने अवस्था आयो । दलित महिलाहरूले जंगलमा लुकेका दलितहरूलाई महिनौँ दिनसम्म सातु र मोही ओसारेर खुवाए ।
सर्वजीतलाई पाल्पा कारागारमा १७ महिना बन्दी बनाईयो । उहाँलाई प्रलोभन देखाएर फकाउन पाल्पाका बडाहाकिम आफैँ आए । तर सर्वजीत टसमस हुनुभएन । त्यसपछि बडाहाकिमले उहाँको मुखमा फलामका काँटी ठोकेका जुत्ता हान्दा अगाडिपट्टिका दाँत नै झरे । उहाँ केही गर्दा गल्नुभएन । जेलबाट रिहा भएपछि २००५ सालमा उहाँले हिलियापानी (बाग्लुङ्) मा विद्यालय स्थापना गर्नुभयो । २००६ सालमा बाग्लुङ्बाट हिँडेरै काठमाडौँ आई राणा प्रधानमन्त्री मोहन शम्शेरलाई भेटेर विन्तीपत्र हालेर दलितका माग राखेपछि मोहन शम्शेरले दलितले पनि जनै लगाउन पाउने लगायतका केही सहज परिस्थिति दिने हुकम गरे । तर कालान्तरमा उहाँको संगठन छिन्नभिन्न बनाउने काम भयो । संगठनलाई नयाँ तरिकाले गति दिने उपायको अध्ययन गर्न भारत गएको बेला ६३ वर्षको उमेरमा बहराईचमै उहाँको निधन भयो ।
उहाँका नाती, संस्कृतका उद्भट विद्वान् पं.पद्मसिंह विश्वकर्मा (स्व.) दलित आयोगका अध्यक्ष, नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो ।

स्रोत : ‘दलित आन्दोलनका अगुवा’ शीर्षकमा रणेन्द्र बरालीको लेखका आधारमा, कान्तिपुरको परिशिष्टाङ्क ‘अग्रणी’ पृ. १३, बुधबार ७/११/०७६
( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्