SSI SSI
SSI SSI

सज्जनहरू आफ्ना स्वभावलाई अनुकरणीय बनाउन कठोर ब्रतद्वारा अन्तःकरणलाई शुद्ध गर्दछन् : महर्षि कश्यप

 

महर्षि कश्यपले ब्रम्हाको इच्छाअनुरुप सम्पूर्ण सृष्टि–संरचनामा पुर्याएको अद्वितीय योगदानको यशोगान वेद, उपनिषद, पुराण, स्मृति–रचना तथा धेरै धार्मिक–सांस्कृतिक साहित्यमा पर्याप्त पाईन्छ । महर्षि कश्यप सप्तर्षिका सातमध्ये एक हुन् । विष्णुपुराणले सप्तऋषि यिनैलाई चिनाएको छ– वसिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज ।
(वसिष्ठः काश्यपोऽयात्रिर्जमदग्निस्सगौतमः ।
विश्वामित्रभरद्वाजौ सप्त सप्तर्षयोऽभवन।)
सारा वनस्पतिलगायत पृथ्वीका प्राणधारीहरूको सृष्टि–ब्यापकताकै लागि महर्षि कश्यपले १७ देवीहरूसँग बिहे गरे तथा प्रथम पत्नी अदितीबाट १२ आदित्यदेखि वामन अवतारसमेत जन्मिए, तिनैमध्ये एक आदित्य, सूर्य हुन्। कश्यपपत्नी अदितीबाट जन्मेका हुनाले नै सूर्यलाई आदित्य र सूर्य–दिवसको रुपमा आदित्यबार भन्ने बुझिन्छ । दुर्जय हिरण्यकश्यप, हिरण्याक्ष र भक्त प्रह्लादजस्ता कालजयी पात्र, मनुस्मृति लेख्ने मनु लगायतका आजका जति पनि सृष्टि छन्, ती सबैको कुनै न कुनै मूल कश्यपकै रचनामा पुग्छ भन्ने पौराणिक मान्यता छ ।
त्यसैले यस्ता ग्रन्थहरूमा उनलाई ‘सृष्टि का सर्जक’ तथा ‘नैतिकताका प्रतीक’ को उपाधि दिइएको छ । जाज्वल्यमान व्यक्तित्व र दैवीशक्ति भएका महर्षि कश्यपलाई झिकेर हेर्दा सारा धर्मग्रन्थहरू अपूर्ण र निरर्थक सावित हुन्छन् । उनले समाजलाई नयाँ दिशा दिनका लागि ‘कश्यप स्मृति–ग्रन्थ’, आयुर्वेदको आठ पक्षमध्ये पहिलो पक्ष अर्थात बालबालिकाको गर्भ र जन्मदेखि १६ वर्ष उमेरसम्म पालनपोषण तथा उपचारसेवाको पूर्वरुप भनिएको ‘कश्यप–संहिता’ जो सर्वप्रथम ईशापूर्व ६ सय वर्ष अघि पुस्तकाकारमा प्रकाशित भयो र मध्ययुगमा सर्वप्रथम चिनिया भाषामा अनुवाद भयो, लगायतका महान् वैज्ञानिक–ग्रन्थहरूको रचना गरेर तीनै लोकमा अमरता हासिल गरे ।
सुन्दा अविश्वसनीय र अचम्म पनि लाग्ला, कश्यप संहिताको उत्पत्तिगत प्रति खण्डित रुपमा नेपालमा पाइयो भनी विदेशी विद्वानहरूले लेखेका छन् । ‘कश्मिर’ तथा ‘कस्पियन सागर’ उनैको नामबाट नामकरण भएको भनी भारतीयहरू दावी गर्छन् ।
नरसिंह पुराणले मरीचि ऋषिलाई ब्रह्माजीका मानसपुत्र भनेको छ । यिनै मरीचि ऋषि र पत्नी सम्भूतिका पुत्र हुन् महर्षि कश्यप । सुर–असुर (दैवी तथा आसुरी दुवै पक्ष) का आदिपुरूष, मुनिराज कश्यपको आश्रम मेरू पर्वतको शिखरमा थियो भन्छन् धर्मशास्त्रहरू, जहाँ उनी ध्यानमग्न रहन्थे ।
अधर्मको विरोध, नीति पालन गर्न–गराउन अविचलित, निर्लोभी, राग–द्वेषरहित, परोपकारी, सदाचारी, प्रजापालक, धर्मोपदेश दिनेजस्ता अनेकौं नैतिक गुणहरूको अद्भुत शक्ति उनीबाट निःसृत हुनेगर्थ्यो। त्यसैले सुर–असुर सबै हस्तीहरू उनको अदबमा रहेका थिए ।

कश्यपका सृष्टि र सन्तान मानिने कश्यपगोत्रीय थरहरू नेपालमा सबभन्दा धेरै छन् : शाही, सिंह (राजपुत), शाह, अधिकारी (अलिना, भँडारे, खिलचिने र कौवाली), अमात्य, अवस्थी, ओझा, कमर, कक्षपति, कठायत, कहाली, काइकसजु, कायस्थ, कार्की (जुगाडी), कुमाल, कुम्भइराना, खड्का (छड्को), ठकुरी (खाँड, खान) खिड्कीशैनी, खिडेवाला, गर्तौला, गायन, गुप्ता (रौनीयार), गोदार–थापा, घर्ती (भुजेल), घिमिरे (बूढीपोला, चितापखाला, चितिखोले, बुढियाल, रुमाले), घोडासैनी, चटौत, छाग्ला थानी, छतकुली, जियु (ठकुरी), जोशी (श्रेष्ठ), श्रेष्ठ, झा, टमाटा, गताला, ठगुन्न (सिंह ठकुरी), ठकुरी, ठकुरानी, तण्डुकार, तिवारी, थापा (घिमिरे, गोदार), दर्जी, दुगड, देउवा, दोजुई, धामी, ध्वजु, नकर्मी, नागा, नेगी, प्रधान, पाँडे (बड्खोरा, बडाल, भूमिहार, सिमालदिया), पात्रा, बखेती कश्यपगोत्री हुन् ।
त्यसैगरी– बडाल, बतासा, बानिया, बाड्गराई, बाजुरी, बिजुक्छें, गैडा, इदवाल, तिला, बागदल, बुढाथोकी, शेर्पा, शोणारी, श्रीवास्तब, साउद, सक्सेना, सिंघल, सेन–ओली, बेलबासे, बोकटी, भट्ट (मुस्याल, कलौनी), भ्वमी, मटमरी, मडल, मन्न, मलकु, मल्ल, मल्लिक, महतारा, माकजु, माझी (राय), माथेमा, मालाकार, मिश्र, मुडभरी (डोटेली), यादव, रञ्जित, राई, राउलो (ठकुरी), राय (ठकुरी), रोक्का, रामदाम, घिमिरे, लिम्बू, कठायत, बुढाथोकी (सोडारी), सिन्धुलीय, सुवाल, सैंजु, हमाल, हुम्ली, हाइत हाइफोरी, हाडा, न्हुछेंप्रधान, आदि पनि कश्यपगोत्रमै पर्दछन् ।
माथि प्रस्तुत भनाई महर्षि कश्यपले आफ्नी पत्नी दितीलाई उनको गर्भधारण सन्दर्भमा दिएको उपदेशको रुपमा श्रीमद्भागवत महापुराणको तेस्रो स्कन्ध, १४ औं अध्यायको ४६ औं श्लोकमा रहेको छ–
योगैह्हेमेव दुर्वर्ण भावयिष्यन्ति साधवः ।
निर्वैरादिभिरात्मानं यच्छीलमनुवर्तितुम् ।।
( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्