SSI SSI
SSI SSI

एनएसडब्लुको न्यू क्यासलमा देखियो नेपाली तन र मन ( फोटो फिचर )

 

सिड्नी । अष्ट्रेलियामा नेपालीको आगमन हुन थालेको ५० बर्ष पुगे पनि यहाँ नेपाली आउने क्रम भने सन् २००५/२००६ देखि नै हो ।  बिद्यार्थीको रुपमा होस् या रोजगारीको लागि या शरणार्थीको रुपमा होस् त्यसपछिको बर्षहरुमा भने नेपालीहरु अष्ट्रेलिया आउने क्रम ह्वात्तै बढेको तथ्यांकले देखाउछ । नेपालीहरुको आगमन संगसंगै यहाँ नेपाली  सामाजिक गतिबिधिहरु पनि बढ्दै गएको यथार्थता हाम्रो सामु छार्लंग छ । जति जति नेपालीहरु यहाँ स्थापित हुदै गए त्यति त्यति नै उनीहरुले आफ्ना बा आमालाई परदेश देखाउने र घुमाउने हुटहुटि बढ्न थाल्यो ,फलस्वरूप यहाँ बस्ने नेपालीहरुले आ आफ्ना बा आमालाई भिजिटर भिसामा बोलाउने क्रम पनि बढ्दै गयो ।

 बा आमा आएर आफ्ना छोरा बुहारी अनि छोरि ज्वाई र नाति नातिनीसंग बस्ने र घुम्ने सिलसिलाको अलावा नेपाली समुदायको दुख सुखको साथि बनेको एनआरएनले अष्ट्रेलिया घुम्न आएका अभिभावकहरुलाई एकै ठाउमा भेला गराएर बनभोजको चाजोपाजो गर्ने परिपाटी सन् २०१६ को जनवरी ३० देखि प्रारम्भ भएको हो । खासगरी घुम्न आएका अभिभावकहरु बीच आपसी चिनजानका साथ साथै जीवनका दुख सुख र आ -आफ्ना दुख अनुभव र भोगाईलाई सुनाउने एक अवसरका रुपमा यो प्यारेंस पिकनिक बिस्तार हुदै गएको एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिका संयोजक बिनोद कुवर बताउछन् । नेपाल न्युजसँग कुरागर्दै उनि भन्छन - हिजो (मार्च २३ तारिख शनिवार ) न्यु क्यासलमा सम्पन्न अभिभावक पिकनिकलाई एक ऐतिहासिक र स्मरणयोग्य बनाउन ज जसले साथ र  योगदान पुर्याउनु भयो उहाहरु बास्तवमै धन्यबादका पात्र हुनुहुन्छ ।

अभिभावक पिकनिकको अवधारणा एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिका तत्कालिन संयोजक (हाल एनआरएनए ओसियाना संयोजक ) दिनेश पोखरेलले सन् २०१६ मा ल्याएका हुन् । उनको यो अबधारणालाई यहाँसम्म ल्याईपुर्याउन समाजका धेरै व्यक्तिको धेरै साथ र सहयोग रहदै आएको छ । नेपाल न्युजसँगको कुराकानीको क्रममा पोखरेल भन्छन् - आफ्नो नेपाली समुदायमा एक महत्वपुर्ण ईभेण्टको रुपमा स्तापित यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । 
हरेक २/२ बर्षमा हुदै आएको अभिभावक पिकनिक पहिलो बर्ष सन् २०१६ मा कट्टे नेशनल पार्कमा सम्पन्न भएको थियो ।  त्यसपछि क्रमसः वारागाम्बा ड्याम ,हण्टर भ्याली , साउथ आइल्याण्ड, उलंगन र यसपटक  न्यु क्यासलमा सम्पन्न भएको हो । यो कार्यक्रमबाट कमसे कम नेपालबाट आएका अभिभावकहरु एक दिन भए पनि एक आपसमा भेटघाट हुन सकेका छन् । 


यहि मार्च २३ तारिख शनिवार न्यु क्यासलमा सम्पन्न अभिभावक पिकनिकमा करिव ९ सय भन्दा धेरैको संख्यामा अभिभावकहरुको  सहभागिता रह्यो । नेपालीको बाक्लो बसोबास रहेका सिड्नीका विभिन्न सबर्बहरुबाट अभिभावकहरुलाई पिकअप गरिएको थियो ।  त्यसका लागी १७ ओटा ठुला बस र करिव ७० जना भन्दा बढी स्वयंसेवक परिचालन गरिएको थियो ।

कार्यक्रममा अभिभावकहरुको आधारभूत स्वास्थ्य परिक्षण समेत गरिएको थियो भने विभिन्न म्युजिक गीतमा नाचेर र गाएर भरपुर मनोरन्जन लिए । सो अवसरमा केक काटेर कार्यक्रमलाई थप रौनक दिईएको थियो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएनए अष्ट्रेलियाको सिग्नेचर ईभेण्टको रुपमा रहेको यो कार्यक्रमलाई जीवन्त राख्नु पर्नेमा जोड दिए । 

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्