सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काँग्रेसको दोस्रो पुस्ताका नेताहरूमा योगेन्द्रजी सबभन्दा बहुआयामिक, बहुप्रतिभासम्पन्न नेता हुनुहुन्थ्यो । दिलिपकुमार (डीके) शाहीजस्ता समकालीन नेताले उहाँलाई “पहराको चेपबाट निक्लेको हिरा” र सबैले “नेपाली राजनीतिका अजातशत्रु” भनी मानेका थिए । शीर्ष नेताहरू उहाँसँग जटिल विषयमा सरसल्लाह गर्नुहुन्थ्यो । शिक्षामा अर्थशास्त्री, योगेन्द्रमानजी पार्टीका सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो । खातापिता परिवारमा हुर्केबढे पनि मूल्य र मान्यताको राजनीतिक अडानकै कारण शीर्ष नेताहरूलाई राखिएको सुन्दरीजल आर्सनलमा आठवर्ष बन्दी बन्नुभयो । ०१७ साल पुस १ गते सञ्चो नभएकोले उहाँ थापाथलीमा तरूणदलको कार्यक्रममा जानुभएन, उहाँलाई आधारातमा घरैबाट पक्राउ गरेर सुन्दरीजलमै पुर्याइयो ।
उहाँका अन्तरंग मित्र सरदार भीमबहादुर पाँडेको प्रभाव थियो, “उनको समाजवादमा गाढा विश्वास थियो चट्टान सरह । प्राय: धेरैजसो राजनीतिज्ञहरू भित्र राता बाहिर सेता, कोही बाहिर राता भित्र सेता, कोही छिरबिरे, कोही दुईजिब्रे त कोही कर्कलाको पातजस्ता सदा टलबल हुन्छन्। तर योगेन्द्र आफ्नो सिद्धान्तमा कहिल्यै धरमराएनन् ।.....योगेन्द्रमानको जीवन कताकता चीनका प्रधानमन्त्री चाउ एन–लाईसँग मिल्दोजुल्दो देखिन्छ । ....योगेन्द्रमान पनि त्यस्तै खालका ब्यक्ति थिए ....” (राष्ट्रिय पुनर्जागरण, २०४४ चैत्र) । विज्ञान, धर्मशास्त्र, गीत, संगीत र वाद्यवादनमा पूर्ण हुनदेखि चित्रकला, साहित्यमा तथा व्यङ्ग्य मिसाएर धाराप्रवाह बोल्ने कुशल वक्ता, सङ्गठकदेखि आफैं उदाहरण बनेर प्रस्तुत हुने स्वभाव, सात्विक तथा शाकाहारी खानपान, अनुशासित जीवनशैली थियो उहाँको । अत्यन्त जिम्मेवार, शालिन, शिष्ट र सृजनशील नेता हुनुहुन्थ्यो उहाँ । योगेन्द्रमानजी बीपीको मन्त्रिमण्डल (०१६) मा पहिले ग्रामविकास उपमन्त्री र पछिल्लो हेरेफेरमा खाद्य कृषि सहायकमन्त्री हुनुभयो । ०१३ सालमा राजनीतिमा प्रवेश गर्नुभएका योगेन्द्रजी छोटो समयमै नेता, कार्यकर्ता, जनता सबैको अत्यन्त प्रिय बन्नुभयो । अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका बरिष्ठ नेता, तत्कालीन युगोस्लाभियाका राष्ट्रपति जोसेफ टिटोका मित्र तथा पूर्व परराष्ट्रमन्त्री एलेस बेब्लर नेपाल आउँदा ०२८ साल चैत्र ४ राती उहाँको सम्मानमा योगेन्दमानजीले आफ्नै निवासमा आयोजना गर्नुभएको डिनरमा काठमाडौंमा भएका काँग्रेसका सबै नेताहरु उपस्थित हुनुहुन्थ्यो । डिनरपछि बीपीपत्नी सुशीला कोईरालालाई घर पठाउन ट्याक्सी लिएर आउँदा एउटा सरकारी रसियन जीपले उहाँको घरको पर्खाल भत्काउनुका साथै उहाँलाई किच्यो । जीप, ड्राइभरले होईन, भर्खरै १६ वर्षे केटोले हाँकेको थियो । उक्त केटालाई दुई/तीन वर्षभन्दा बढी सजाय भएन । ८–९ दिनसम्म सर्जमिनसम्म भएन । परिवारजनले कराएपछिमात्र सर्जमिनको औपचारिकता गरियो ।
( २०१६ सालमा प्रधानमन्त्री बीपीको मन्त्रिपरिषद्मा उपमन्त्रीको सपथग्रहण गर्दै योगेन्द्रमान शेरचन )
उहाँका भाई कवि भुपि शेरचनले आफ्ना काईला दाजुको निधनमा एउटा कविता लेख्नुभएको थियो, ‘विश्वास गर त्यो सपना पक्कै पुरा हुनेछ’ शीर्षकमा उक्त ‘गान्धीजस्तो शान्त र आँधीजस्तो जल्दोबल्दो’ भन्दै : "अरूलाई बाटो देखाइरह्यो जीवनभरी आफ्नो बाटोको कष्ट सोचेन उसले सानैदेखि पूजापाठ गर्दथ्यो उ जब कि उसकै पूजा गर्नुपर्दथ्यो प्रगतिको शिखरमा पुग्दा उ मर्यो जब कि अगतिहरूलाई मर्नुपर्दथ्यो । एउटा सुनौला बिहानीको सपना हेरेर आठ वर्ष बन्दी गृहमा उसले बिताइदियो अहिले घाम झुल्किएला कि भन्ने बेलामा उ कहिल्यै नउठने गरी निदाईदियो ।........ (सर्वप्रथम ‘राष्ट्रपुकार’ सा.मा २०२८ चैत्र १४ सोमबार प्रकाशित)
( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )