SSI SSI
SSI SSI

महाशिवरात्रीको महिमा : रोचक प्रसङ्ग


भगवान शिवको उत्पत्ति भएको फाल्गुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्री नामले भगवान शिवको प्रमुख पर्वको रुपमा मनाईन्छ ।सृष्टिको प्रारम्भमा यस तिथिमा पर्ने मध्यरात्री कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास छ ।
पुराण तथा धर्मशास्त्र अनुसार ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिन हुनाले महाशिवरात्री पर्व, सम्पूर्ण प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको प्रिय अवसरको रुपमा पनि महिमामण्डित छ । मानिस को जीवन विसर्जन भएपछि हाम्रो शव शिवको काख (आर्यघाट आदि घाट) बाट पञ्चतत्वमा बिलिन गरिन्छ ।
शिवको अर्थ हो कल्याण । शिव सबैको कल्याण गर्ने देवता हुन् । 


सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्थात् सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेकानेक अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ । महाशिवरात्री सर्वोत्तम ब्रत–उत्सबको रुपमा हिन्दू समाजमा मनाईन्छ । महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किरातेश्वर, म्याग्दीको गलेश्वर आदि अनगिन्ती शिवालयहरूमा भक्तजनको ठूलो संख्यामा आगमन हुन्छ ।  प्रलयकालमा शिवरात्रीकै प्रदोष कालमा भगवान् शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट संहार गर्दछन् भनी पुराणवर्णित छ ।


ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ।चतुर्दशी तिथिका स्वामी शिव हुन् । फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो ।
विश्वमा शिवको सबभन्दा महत्वपूर्ण र गौरवमय मन्दिर नेपालको श्रीपशुपतिनाथ नै हो । पशुपतिनाथले हामी सबैको कल्याण गरून् । महाशिवरात्रीको महान अवसरमा समस्त भक्तजन तथा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना छ ।

( चन्द्रमणि गौतमको फेसबुक वालबाट साभार )

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्