SSI SSI
SSI SSI

मान्छेले रक्सि खान्छ वा रक्सिले मान्छे खान्छ ?

 

केहि बर्ष पहिले विराटनगरको घटना मलाई एक जना व्यक्तिले सुनाएका थिए । विवरण यस्तो छ- नेपालका एक प्रसिद्ध कवि आफ्नो रक्सी खाने बानीले गर्दा श्रोतालाई कविता सुनाउन मञ्चमा बसेका बेला निदाएका थिए । प्रसिद्ध कविको कविता सुन्न श्रोताहरू लालायित थिए । तर कवि अघिल्लो राति बेस्सरी रक्सी खाएर मातेर बान्ता गरी ढिलो सुतेका रहेछन् । बिहानपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरू कविले कविता सुनाउँदा सुनाउँदै उनी सोफामा नै लमतन्न सुतेर घुर्न थाले । उनले कसरी कविता भन्नु ? उनलाई उठाएर पुनः होटलमा नै लैजानु पर्यो । उनी सुती नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलाद्मी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँदो रहेछ ।

भारतका प्रसिद्ध सिने कलाकार गुरुदत्त पनि असाध्य रक्सी पिउँथे । वहिदा रहमानसँग उनको प्रेम प्रसंग गाँसिन नसकेपछि उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौं । सिने पत्रिकामा पढ्थ्यौं पछि उनले पनि आत्महत्या गरे । सानो हँुदा त केही लाग्दैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको शिकार थिए कि ? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि ?

फिल्मी प्रेम प्रसंगमा सफल नभएपछि रक्सी खाएको देख्दा लाग्छ मानौं रक्सी पिउनु खासै नराम्रो कुरा होइन । कतै दुःख परे पनि वा खुसी भए पनि रक्सी पिउने प्रचलन देखाउँदा यस्तो लाग्छ मानौं रक्सी नभए त जीवन नै चल्दैन ।

नेपालका पत्र-पत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ । रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने वस्तु जस्तै देखाइन्छ । यसबाट के भान पर्न जान्छ भने रक्सी खानु खासै नराम्रो होइन रहेछ ।

त्यसमाथि पनि केही चिकित्सकहरूले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यको लागि फाइदै छ भनेपछि धेरै मानिसलाई अरू के चाहियो र ? यस्ता निहुँहरू पाएपछि युवा पिंढीमा हामीले रक्सी खाएर के नै पो नराम्रो हुन्छ र भन्ने मानसिकता निर्माण हुन्छ ।

मानसिक रोग विशेषज्ञ नै रक्सीको बारेमा भन्छन् कि, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन, मात्र हानिकारक छ । कवि, कलाकार, राजनीतिज्ञलगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ ।

कतिलाई त रक्सीले यौनशक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ । रक्सीले शारीरिक र मानसिक क्रियालाई दबाउँछ । संवेदनशील मानसिक क्रिया आत्ममूल्यांकन, सक्रियता र संयम पनि दबिन्छ र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रामक स्वभाव, उत्ताउलोपन माथि आउँछन् र रक्सी खाएर लागेको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन् ।’

मानसिक रोग विशेषज्ञ भन्छन्, ‘मानिसहरू डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेलिंदै जान्छ ।’ यदि डिप्रेसन भएर मानिसहरूले त्यसरी धेरै रक्सी खाए भने त्यसको उपचार हुनुपर्छ

पुरुष वा महिला रक्सीको कुलतमा फसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने मैले धेरै देखेकी छु । रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको चाहना हुन्छ ।

रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ । त्यसैले लामो दूरीका बसमा चालकले रक्सी नखाए त जीउ दुखिहाल्छ नि चलाउनै सकिंदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौं घटना छन् ।

मधुमेहबाट पीडित एक जना सरकारी कर्मचारी धेरै रक्सी खाएर एकचोटि बेहोश नै भएछन् । अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए । अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरूले परिवारलाई सोध्दा जवाफ पाइयो- ‘उनी बाँचेर हामीलाई खासै फाइदा छैन । उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन, त्यसैले भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन ।’ भोलिपल्ट उनको मृत्यु भयो ।

रक्सी खाएर अति योग्य कलाकारहरूले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारेरोग लागेको मानिसले रक्सी खाएर बेहोश भएर जीवन नै सिध्याएका घटना गाउँघरमा प्रशस्तै पाइन्छन् । केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ ।

तै पनि मानिस रक्सी खान छोड्दैन , किन होला ?

 

 

( डा अरुणा उप्रेती को  फेसबुक वालबाट साभार )

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्