सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पशुपतिनाथको मन्दिर को उत्पत्ति सन् ४०० मा भएको मानिन्छ । लिच्छवि राजा शिवदेव (कतै सुपुष्पदेव) को पालामा यसको व्यापक निर्माण कार्य भएको र आजको मन्दिरचाहिं भुपतिन्द्र मल्लको पालामा बनेको उल्लेख छ । यो एशियाकै पुरानो शिव मन्दिर हो भनिएको छ ।
शंकराचार्यलाई भगवान शिवको दर्शन र आशिर्वाद मिलेको थियो । देवताले सामान्य मानिसलाई साक्षात् रुपमा दर्शन दिनु नहुने दैवी नियमले गर्दा शशांक ब्राम्हणको भेषमा शिवले दर्शन दिएको बताइन्छ ।
३२ वर्षको उमेरसम्म मात्र बाँचेका, आदिशंकराचार्य नेपाल आउँदा २८–३० वर्षका थिए । सन् ७०३ मा उनी नेपाल आउँदा संभवतः यहाँ लिच्छवी राजा शिवदेवको शासन थियो । यस विषयमा इतिहासकारबीच केही मतभेद पाइन्छ । शंकराचार्य नेपाल आएको समाचारले समस्त सनातन धर्मावलम्बीहरूको हृदयमा उत्साहको सञ्चार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथमा मानिसहरु ओइरिन थाले । आचार्यले आफ्ना शिष्यहरूलाई पशुपतिनाथ वरिपरि सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले, "नागेन्द्रहाराय त्रिलोचनाय, भस्माङ्गरागाय महेश्वराय। नित्याय शुद्धाय दिगम्बराय, तस्मै न काराय नमः शिवाय ॥......"
आचार्य आफैं पशुपतिनाथको प्रांगणबाट धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरूमा असाधारण प्रभाव पर्यो । यसरी नेपालमा हिन्दु धर्ममा पुनर्जागरण देखिन थाल्यो । आचार्यका शिष्यहरूले शहर घुमीघुमी धर्मोपदेश गर्न थाले । यहाँका ब्राह्मणहरुलाई उनीहरूले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पञ्च देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले ।
आचार्यको विशेष इच्छाअनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्रसम्मत पूजा अर्चनादि नियमित रूपमा गर्नका लागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरूको अध्ययनका लागि पाठशालाहरु बनाइए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरे ।
( चन्द्रमणि गौतमको फेसबुक वालबाट साभार )