SSI SSI
SSI SSI

अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट

काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । “आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनमा अझ फराकिलो र गहिरो बन्दै गएकामा खुसी लागेको छ”, उनले भने ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिएका थिए । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै उनले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली तेस्रो स्थानमा रहेकोसमेत जानकारी गराए ।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिलामन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराए । उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्