SSI SSI
SSI SSI

 मार्ने नै हौ भने मलाई गीता पाठ गर्दै मर्न देऊ : शहिद दुर्गानन्द झा

 

२०१८ साल माघ ९ गते राजा महेन्द्र झापा र मोरङ्को भ्रमण सकेर जनकपुर पुगेका बेला उनको गाडीमा बम हान्ने नेपाली काङ्ग्रेसका १८ वर्षे युवानेता, विद्यार्थी कालदेखि नै आँटिलो र क्रान्तिकारी स्वभावका नवविवाहित दुर्गानन्द झा धनुषाको नगराईन गाबिस (जटही) को गरीब ब्राम्हण परिवारमा जन्मेका, धनुषाको सीमापारी भारतको उमगाँव हाइस्कूलका विद्यार्थी थिए ।


शहिद दुर्गानन्दको शहादतलाई विषयवस्तु बनाएर कथाकार विश्वेश्वरप्रसाद कोइराला (जननायक बीपी कोइराला) ले सुन्दरीजलको बन्दी दिनमा एउटा मार्मिक मनोवैज्ञानिक कथा लेख्नुभयो, 'एक रात' । कलेजमा पढ्दैगरेको नवविवाहित 'किशोर' पात्रको रूपमा दुर्गानन्दको दृढ निश्चयी अठोट, फाँसीको फन्दा तथा सहादत दिने रातीको परिवेश, उनको अन्तिम मनोदशा, पारिवारिक पृष्ठभूमि, मृत्यदण्ड दिन खटिएका डाक्टर, कमिश्नर, सुवेदार, हवल्दार तथा उनीहरूको अन्तरहृदयमा उम्लेको व्यथा, नवविवाहित अवोध पत्नी 'राधा', ..... साहित्यकार विश्वेश्वरप्रसाद र राजनेता बीपी, एक व्यक्तिका दुई व्यक्तित्वको कहिल्यै भेट नहुने अनौठो विशेषता तोड्दै ती दुई व्यक्तित्वको अपवादस्वरुपको भेट हुन्छ, उक्त कथामा ।
काँग्रेस–नेता परशुनारायण चौधरी कलकत्ताबाट आएर राजा महेन्द्रको सवारीमा बम हान्न मानिस ठीक गर्दा स्व. अरविन्द ठाकुरले जनकपुर विमानस्थलमा र स्व. दुर्गानन्दले जानकी मन्दिर अगाडि बम हान्ने तय भयो । विमानस्थलमा मालामा लुकाएर बम राख्ने तरखर गर्दागर्दै जासुसहरूले अरविन्दजीलाई पक्राउ गरे । दुर्गानन्दले फूलसहित हानेको बम राजा सवार ल्याण्डरोभर जीपको पछाडि लाग्यो । दुर्गानन्द पक्राउ पर्नबाट उम्केर भारतको जयनगर पुगे, केही समयपछि जयनगरमै पक्राउ परे र धनुषाका बडाहाकिम तेजबहादुर प्रसाईंको निर्णय बमोजिम काठमाडौँ पठाइयो र सेण्ट्रल जेलको गोलघरमा नेल–हत्कडी र फन्दा लगाएर यातनापूर्वक राखियो । उनलाई सुवर्णजीले कलकत्तामै बसेर पढ्न बोलाउनु भयो, तर यताबाट नपठाइदिनु तत्कालीन काँग्रेस नेताहरूको ठूलो गल्ती थियो ।
सर्बोच्च अदालतले २०२० साल माघ १४ गते उनलाई मृत्युदण्ड दिने निर्णय गर्यो, प्रधानन्यायधीश थिए अनिरुद्रप्रसाद सिंह । तेजबहादुर प्रसाईँकै संस्मरणअनुसार सरोज कोइरालाको हत्या गरिएमा उनलाई माफी मात्र होइन, आकर्षक बक्सिस मिल्ने प्रलोभन दिइयो । आफूलाई बम हान्न काँग्रेसका नेताहरूले लगाएको भन्दै माफी मागे माफी दिने आश्वासन पनि आयो, तर उनले प्रलोभनमा फस्न वा माफी माग्न मानेनन् । मारिने बेलामा आफ्नो अन्तिम इच्छा बताउन लगाउँदा उनले आफ्नो स्वार्थ केही नभएको र स्वार्थपूर्तिका लागि बम हानेको नभएर देश र जनताका लागि पार्टीको आह्वानवमोजिम खुशीसाथ गरेको, अन्तिम इच्छाका रूपमा गीता पाठ गरेर मर्न पाउँ भने । मारिने बेलामा उनले पाठ गरेको गीताको पुस्तक र बोकेको गम्छा अझै पनि सुरक्षित छन् ।

२०२० साल माघ १५ गते उनकी नवविवाहिता पत्नी काशीदेवी र आमालाई हेलिकप्टरमा हाली काठमाडौँ ल्याएर दुर्गानन्दसँग भेट गराईयो । पञ्चायती शासनले उनलाई २०२० माघ २५ गते राती सेण्ट्रल जेलको पछाडी अवस्थित घरेलु उद्योगमा लगेर सेनाको घेरामा फाँसी दिइयो । सोही मुद्दामा अरविन्द ठाकुर र माघ १० गते वीरगञ्जमा त्यस्तै बम हान्ने प्रयास विफल हुँदा पक्राउ परेका दलसिंह थापा मगर र दुखा सहनीलाई दिइएको मृत्युदण्डलाई आजीवन कारावासमा परिवर्तन गरियो ।


यसबीच, पञ्चायतकालमा शहीद भएका शांकेतचन्द्र मिश्र, डा. लक्ष्मीनारायण झा, मुगालाल महतो, जानकीदेवी, कामेश्वर यादब, कुशेश्वर यादब आदि पनि श्रद्धापूर्वक सम्झिनुपर्दछ । काँग्रेसको दोस्रो गल्ती शहिद दुर्गानन्दकी सन्ततिविहिन धर्मपत्नी काशीदेवी झालाई पार्टीले उचित कदर गरेन । शहीदपत्नी झा तराई–मधेस लोकतान्त्रिक पार्टीबाट संविधानसभामा सदस्य र राज्यमन्त्रीसम्म भईन्।
( चन्द्रमणि गौतमको फेसबुक बाट साभार )

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्